चितवन । लगातारको वर्षाले जिल्लाका कृषि बालीमा ठूलो क्षति भएको छ । बाढीसँगै खेतबारीमा आवश्यकताभन्दा बढी पानी जम्दा कृषि बालीमा क्षति पुगेको हो । कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालले जिल्लाका अधिकांश क्षेत्रमा वर्षाले क्षति गरेको बताउनुभयो । उहाँका अनुसार पहाडी क्षेत्रमा पहिरोले क्षति पुर्याएको छ भने नदी तथा खोला किनारका बालीमा बाढी पसेर क्षति पुगेको छ । कतिपय बालीमा आवश्यकताभन्दा बढी पानी जम्न गई बालीलाई क्षति पुगेको ढकालले बताउनुभयो ।
डुवानका कारण भरतपुर महानगरपालिकाको चार हजार हेक्टर क्षेत्रफलमा लगाइएको धान, केरा र तरकारी बालीमा क्षति पुगेको छ । महानगरअन्तरगत नारायणी नदी तटीय क्षेत्रमा रहेका वडाका कृषि बालिमा बढी क्षति भएको ढकालले जानकारी दिनुभयो । महानगरका–२६, २७, २८ १६, १८ र १९ मा बढी मात्रामा क्षति पुगेको छ । भर्खर लगाइएको धान बालीमा बाढी पस्दा धानको रोपो नै बगाएको छ भने कतिपय ठाउँमा लामो समय रोपो पानीले पुरिँदा मर्ने र पहेँलो हुने समस्या देखिएको छ ।
यस्तै जिल्लाका कालिका नगरपालिकामा मुख्यरुपमा धान, मकै र केरा खेतीमा वर्षाले क्षति पु¥याएको छ । कालिकाको पदमपुर क्षेत्र केरा खेतीका लागि प्रख्यात छ । केरा खेतीमा पानी जमेका कारण विरुवा मर्ने, ढल्ने समस्या देखिएको ढकालले बताउनुभयो । जिल्लाको पहाडी इच्छाकामना गाउँपालिकामा कतिपय स्थानमा सानातिना पहिरोले पनि कृषि बालीमा क्षति पुगेको ढकालले बताउनुभयो । विशेष गरी मकै बालीमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।
ढकालले क्षतिको विवरण जिल्ला विपत् व्यवस्थापन समितिलाई बुझाएर राहतका लागि पहल गरिने बताउनुभयो । क्षति भएका ठाउँमा प्राविधिको सिफारिसमा वैकल्पिक खेतीका लागि कृषकलाई आग्रह गरिएको बताउनुभयो । ‘बाली क्षति भएका र बढी पानी जमेका ठाउँमा कुन बाली उपयुक्त हुन्छ, त्यही अनुसारको नयाँ बाली लगाउन कृषकलाई सुझाव दिइरहेका छौँ’ उहाँले भन्नुभयो ।
भरतपुर महानगरपालिका–२८ का वडा अध्यक्ष आशबहादुर कुमालले आफ्नो वडाको ७० विघा हाराहारी जमिनमा लगाइएको बाली एक सातादेखि डुवानमा परेको बताउनुभयो । ‘वर्षा शुरुभएदेखि डुवेको बाली अझै देखिएको छैन । पानीले डुबाएर राखेको छ’ उहाँले भन्नुभयो । भण्डारण गरेको धान र मकैमा पानीले क्षति पु¥याएको कुमालले बताउनुभयो ।
भरतपुर २७ का किसान दीपक तामाङले बाढीले आफ्नो सबै धानखेत डुबाएको बताउनुभयो । ‘भर्खर रोपेको धान त डुबायो डुबायो, तयारी गरेर राखेको मकै र तोरी पनि नोक्सान भयो” उहाँले भन्नुभयो । चितवनमा २७ हजार ४ सय ४५ हेक्टर क्षेत्रफलमा धान खेती र७ हजार १ सय हेक्टरमा तरकारी खेती हुने गरेको छ ।
तरकारीको मूल्य बढ्योजिल्लाका समथर भू–भागमा अहिले तरकारी खेती कम हुने गर्दछ भने पहाडी क्षेत्रमा केही मात्रामा तरकारी खेती हुने गरेको छ । बाढीपहिरोले बाटो बन्द हुँदा तरकारीको मूल्य बढेको छ । महानगर फलफूल तथा तरकारी बजारका प्रवन्ध निर्देशक थीरप्रसाद धितालले पहाडमा पहिरो र तराईमा डुबान हुँदा तरकारी आपूर्तिमा समस्या भएको बताउनुभयो । ‘धादिङ, मकवानपुर, भक्तपुरलगायत उपत्यका आशपासका पहाडी जिल्लाबाट आउने तरकारी समयमा आउन सकेको छैन’ उहाँले भन्नुभयो, ‘ढुवानी शुल्क बढ्न जाँदा तरकारीको मूल्य बढेको छ ।’
त्यस्तै तरकारी व्यवसायी रामराज पाण्डेले लकडाउन र बाढीपहिरोले चितवनमा खोजेको तरकारी पनि पाउन नसकेको बताउनुभयो । उहाँले तरकारी माग बमोजिम उपलब्ध नहुँदा मूल्य स्वभाविकरुपमा बढेको बताउनुभयो । ‘बाढी पहिरोको अवस्था रहिरहे तरकारीको मूल्यले आकाश छुन्छ’ उहाँले भन्नुभयो । उहाँका अनुसार लकडाउनमा चितवनको तरकारी नष्ट गरेको घटना र डुबानले गर्दा पनि किसानले तरकारीबारी मासेर धानखेती गर्न थालका छन् ।
उहाँले १० क्वीन्टल आवश्यक पर्ने तरकारी ५ किलो पनि पाउन नसकेको बताउनुभयो । चितवनमा बाढी पहिरो जानुअघि क्रेटको ६ सय रुपैयाँ पर्ने टमाटर अहिले ८ सय ५० रुपैयाँसम्म पुगेको चितवनका व्यवसायी बताउँछन् । बन्दा बिक्ने समयमा नै नभए पनि बोराको ९ सय रुपैयाँ सम्ममा बिक्री भइरहेको छ । निर्देशक धितालले बाढी र डुबानका कारणले सबै तरकारीमा प्रतिकिmो ५ रुपैयाँ सम्म बढेको जानकारी दिनुभयो । यो अवस्था रहिरहे मूल्य अझै बढ्न सक्ने उहाँले बताउनुभयो ।