कविता खड्काभोजपुर । । जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण शुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षको स्थापना गरी वितरण थालेको हो ।
जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्काको आवश्यक विवरण कम्युटरबाट प्रमाणिकरण गरी राष्ट्रिय परिचय पत्र दर्ताको शुभरम्भ गरिएको छ । कोराना भाइरस (कोभिड –१९) का कारण सदरमुकामबाटै परिचयपत्र वितरण गरिने प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताउनुभएको छ ।
सरकारले पहिलो चरणमा पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु गरेको थियो भने दोस्रो चरणमा झापा, संखुवासभा, सप्तरीलगायत १५ जिल्लामा शुरु भइसकेको छ । तेस्रो चरणमा आगामी दुई वर्षभित्र सबै नागरिकलाई परिचयपत्र वितरण गर्ने लक्ष्य अनुसार बाँकी ६१ जिल्लामा पनि परिचय पत्र शुरु भएको प्रजिअ पुरीले जानकारी दिनुभयो ।
हस्त लिखित हस्ताक्षर, १० औँलाको औँठा छाप, आँखाको रेटिनालगायत व्यक्तिको वैयक्तिक र जैविक सूचनालाई आधिकारीक रुपमा संकलन गरी प्रत्येक नागरिकलाई एक अर्कासँग मेल नखाने गरी परिचयको नम्बर प्रदान गरिने प्रजिअ पुरीले जानकारी दिनुभयो ।
परिचयपत्र प्राप्त गर्न नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, नागरिकताको प्रमाण पत्रमा जन्म मिति नखुलेको हकमा सो खुल्ने प्रमाण वा स्थानीय तहको सिफारिस, नागरिकता प्रमाणपत्रमा उल्लेख भएको ठेगाना भन्दा फरक ठेगाना भएमा बसाईसराइको प्रमाणपत्र चाहिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
त्यस्तै नागरिकता प्रमाणपत्रमा पति–पत्नीको नाम नखुलेमा विवाह दर्ता प्रमाणपत्र, नागरिकतामा अंग्रेजीमा नाम नखुलेको भए अंग्रेजीमा नाम खुल्ने प्रमाणपत्र पेश गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर बस्नतेले बताउनुभएको छ ।