काठमाडौं । बाढीपहिरोको कारण मुलुकको २९ ठाउँमा सडक अझै अवरुद्ध छन् । केही सातादेखिको अविरल वर्षाको कारण बाढीपहिराले मुलुकको विभिन्न ठाउँमा ६४ ठाउँमा सडक अवरुद्ध भएको थियो । अवरुद्ध भएका मध्ये ३५ ठाउँमाएकतर्फी रुपमा सवारीसाधन सञ्चालन भइसकेको सडक विभागले जनाएको छ ।
विभागले वर्षाको कारण केही ठाउँमा पहिरो गएर, कही भासिएर,कतै नदीले कटान गर्दा सडक अवरुद्ध भएका हुन्अरनिको राजमार्ग अन्तर्गत पर्ने जम्बु झ्याले–डाकलांग–शिरीसे सडक लामो समयदेखि अवरुद्ध छ । अवरुद्ध सडक खुलाउन अझै केही दिन लाग्ने विभागले जनाएको छ । साँफेबगर–मार्तडी सडक पनि वर्षाको कारण लामो समयदेखि अवरुद्ध छ । बूढीगंगा नदीले कटान गरेपछि सडक अवरुद्ध विभागले जनाएको छ ।
पहिरोका कारण असार २६ गतेदेखि अवरुद्ध भएको बेनी–जोमसोम–कोरोला सडक अझै सञ्चालनमा आउन सकेको छैन । म्याग्दीको दाना र गलेश्वरमा पहिरो खस्दा र बेलिब्रिज बगाउँदा सडक अवरुद्ध भएको हो । यस्तै पहिरोका कारण अवरुद्ध कान्ति लोकपथ पनि अझै सञ्चालनमा आएको छैन ।
हिमाल पारिको जिल्ला मनाङ जाने सडक पनि एक सातादेखि अवरुद्ध छ । घोप्टेखोला–रामबजार–च्याम्चेमा पहिरो बेशीशहर–चामे सडक पनि बन्द नै छ । घोप्टेखोला–रामबजार–च्याम्चेमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडक लामो समयदेखि अवरुद्ध हुँदा पर्यटकीय जिल्ला मनाङको जनजीवन प्रभावित भएको छ ।
त्यस्तै पृथ्वी राजमार्गबाट ऐतिहासिह पर्यटकीय गाउँ बन्दीपुर जाने सडक समेत अवरुद्ध छ । डुम्रे–बन्दीपुर सडक अवरुद्ध हुँदा त्यस ठाउँको जनजीवनमा असर परेको छ । महाकाली राजमार्ग अन्तर्गत पर्ने सतबाँझ दार्चुला सडक पनि अवरुद्ध भएको छ । केही दिन अघि अवरुद्ध भएर सञ्चालनमा आएको यो सडकखण्डको ठाउँठाउँमा पहिरो गएकाले पुनः अवरुद्ध भएको सडक विभागले जनाएको छ ।
रसुवागढी नाका जोड्ने सडक ५ दिनदेखि ठप्प छ । बिहीबारदेखि अवरुद्ध भएको स्याफ्रु–रसुवागढी सडकको पहिरो हटाउन नसक्दा सडक सञ्चालनमा आउन नसकेको हो ।