काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको काम नदेख्ने नेपालीलाई मोतिविन्दु लागेको टिप्पणी गर्नुभएको छ ।
सोमबार वीर अस्पतालको १ सय ३१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको काम विदेशीले देखेको तर नेपालीले नदेख्नुमा नेपाली संस्कारमा मोतिविन्दु लागेको हुनसक्ने बताउनुभयो । उहाँले शक्ति सम्पन्न राष्ट्रले भन्दा नेपाल सरकारले प्रभावकारी काम गर्न सकेको तर नेपालीले नै नदेखेको बताउनुभएको हो ।
मन्त्री ढकालले विदेशमा बस्ने नेपाली र स्वदेशमा बस्ने नेपाली सबैले सरकारको काम नदेख्नुले नेपाली संस्कारमा मोतिविन्दु लागेको हुनसक्ने अनुभूति भएको बताउनुभएको हो । ‘शक्ति सम्पन्न राष्ट्रमा स्वास्थ्य नीतिप्रति जनता जवाफदेही हुन्छ’ उहाँले भन्नुभयो, ‘सिमित साधन स्रोतबाट हाम्रो जस्तो मुलुकमा हामीले निर्वाह गरेको यो भूमिका विदेशमा बस्ने नेपालीले र स्वदेशमा बसेका नेपालीहरुले यसलाई देख्न सक्दैनन् । मलाई लाग्छ यो सकारात्मक पक्ष नदेख्नुमा हाम्रो संस्कारमा कतै मोतियाविन्दु लागेको छ की जस्तो अनुभूति मैले गर्ने गरेको छु ।’
कोरोनाबाट विश्वभर मृत्यु हुनेको दर बढी रहेको तर नेपालले शून्य दशमलव २ प्रतिशत भन्दा कममा रोक्न सक्नु सबैभन्दा सकारात्मक पक्ष भएको बताउनु भयो । नेपाल कोरोना रोकथाम तथा नियन्त्रणका लागि दक्षिण एशिया मै राम्रो रहेको मन्त्री ढकालको भनाई छ । उहाँले भारतमा भन्दा नेपालमा पहिला कोरोना संक्रमणको केस देखिएको तर अहिले भारतमा उच्च गतिमा वृद्धि भइरहदा नेपालमा नियन्त्रण भित्रै रहेको स्मरण गराउनु भयो ।
सरकारको स्वास्थ्य नीति कस्तो छ र सरकारबाट कस्तो स्वास्थ्य सुविधा पाउन सकिन्छ भन्ने थाहा पाउन एकपटक वीर अस्पतालमा आउनै पर्ने समेत मन्त्री ढकालले बताउनुभयो । स्वास्थ्यमन्त्रीले वीर अस्पताललाई त्यहाँ आउने ‘राज्यको मुटु अस्पतालमा आएको छु’ भन्ने अनुभूति गर्न सक्नेगरी सेवालाई प्रभावकारी बनाउन उहाँले निर्देशन समेत दिनु भएको छ । राज्यको तर्फबाट कमी कमाजोरी भई प्रभावकारी सेवा दिन नसके कसरी सेवा प्रभावकारी बनाउने भन्ने सम्बन्धमा प्रस्ताव ल्याउन समेत वीर अस्पताललाई आग्रह गर्नुभयो ।
अस्पतालभित्र बेथिति भए सुधार गर्न तयार रहन आग्रह आग्रह गर्दै राज्यबाट बेथिति भएको भए सरकार सुध्रिन तयार रहेको समेत मन्त्री ढकालले बताउनुभयो । जनताले सरकारलाई हेर्ने ऐनाको रुपमा वीर अस्पताल रहेकाले अस्पतालका सेवालाई प्रभावकारी बनाउँदै जानुपर्नेमा उहाँले जोड दिनुभयो ।