मुस्ताङ । बाढीले जमिनको बाटो बगाएको २६ औँ दिनपछि आकाशको मार्गसमेत मौसमका कारण अवरुद्द हुँदा हिमाली जिल्ला मुस्ताङसँगको सम्पर्क विच्छेद भएको छ । ४ दिनदेखि आकाशको मार्गसमेत नखुल्दा मुस्ताङसँग अन्य जिल्लाकाे सम्पर्कविच्छेद भएकाे हाे ।
जमिन र आकाश गरी दुवै विकल्प बन्द भएपछि जिल्लावासीलाई उपचार हुन नसक्ने गरी बिरामी पर्दा के गर्ने ? भन्ने चिन्ताले पिरोल्न थालेको छ । हिउँदमा भारी हिमपातका कारण खेतीपाती र पशुचौपायाको क्षति व्यहोर्दै आएका यहाँका किसानले वर्षायाममा पनि बाढी पहिरोका कारण सडकमा क्षति हुँदा कृषिजन्य उत्पादनको बिक्री वितरणमा समस्या भोग्नुपरेको छ ।
गत असार १९ गते भीषण वर्षा हुँदा छिमेकी जिल्ला म्याग्दीसँग सडक सञ्जाल जोडिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डअन्तर्गत घोप्टेभिरमा सडक बगायो । सडक बगाएको झण्डै एक महिना बित्न लाग्दासमेत मर्मत गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गत असारको २६ गतेको बाढीले म्याग्दीको गलेश्वरमा बेलिब्रिज पनि बगाएपछि जिल्ला पुग्ने सडकमा अर्को ठूलो समस्या थपियो ।
‘हामीले घोप्टेभिरमा बगाएको बाटो बनाउँदै थियौँ, नदीको किनार छुनेगरी गहिरिएको छ’, प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले भन्नुभयो, ‘घोप्टेभिरमा बनाए सडक चल्ला भन्ने थियो, पानी थपियो, ठाउँ ठाउँमा फेरि पहिरो खस्यो ।’ जिल्ला प्रवेश गर्ने एकमात्रै नाका घाँसादेखि माथि जोमसोमसम्म कयौं ठाउँमा सडक बगाएको छ । बेनीबजारदेखि मुस्ताङ जाने सडकमा समेत कतै बेलिब्रिज कालीगण्डकीले बगाएको छ भने कतै सडकका कल्भर्ट नै छैनन् । ‘एकदुई ठाउँ बनाएर मात्रै सडक चल्ने अवस्थामा छैन्, उहाँले भन्नुभयो, ‘वर्षा रोकिँदा साथ काम त थालेका छौँ, बनाएको केहीबेरमै बगाएको छ ।’
सडक सम्पर्क टुटेको जिल्लामा लकडाउनका कारण बन्द रहेको डोमेस्टिक हवाईसेवा सञ्चालनमा ल्याउने सरकारी निर्णय भएपनि सुचारु हुन सकिरहेको छैन् । पछिल्लो केही दिनयता मौसममा खराबी आएको भन्दै चार्टर जहाजसमेत नचलेकाले मुस्ताङको बाहिरी जिल्लासँग पूर्णरुपमा सम्पर्कविच्छेद भएको छ ।
सडक र हवाईमार्ग बन्द हुँदा जोमसोम बजारमा पेट्रोलियम पदार्थको अभाव भएको छ । ‘खाद्यान्नको अभाव अहिलेलाई टारिएको छ तर अझै लामो समय बन्द रहे भन्न सकिन्न’, मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्रप्रसाद तुलाचनले भन्नुभयो, ‘तेल, ग्यास छैन ल्याउने बाटो छैन ।’ रासस