विष्णु थापासिन्धुली । कतिपय व्यक्तिको पहिचान उनीहरुको शोख र पेशाबाट नै हुने गरेको छ । जीविकोपार्जनका लागि मात्र नभइ शोखले गरिने कतिपय कलाले मानिसलाई राष्ट्रिय स्तरमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित बनाइदिन्छ । यस्तै मध्येको एक हुनुहुन्छ सिन्धुलीका विश्वम्भर लामिछाने ।
कला र साहित्यको सर्जक हुनु सहज छैन । कला, साहित्यको सृजना गर्नलाई उपयुक्त वातावरण हुनु आवश्यक पर्छ । कतिपय नसोचेका विषयलाई पनि कलामा परिणत गर्न सकिने विषय बेलाबखत बाहिरिरहेका छन् । यस्तै आफ्नै शोख र छुट्टै पेशामा लाग्नुभयो सिन्धुलीका विश्वम्भर लामिछाने ।
लामिछानेले यत्तिकै खेर गइरहेका बोट विरुवाका जारामा नयाँ रुप र आकार देखेपछि छुट्टै शौख पलायो । लामिछानेले २०४८ सालमा एउटा रुखको जरामा जरायोको सिङ, टाउको र घाँटीसम्मको आकारजस्तो भेट्टाएपछि उहाँमा नौलो कलाको विकास भयो, त्यो हो जरबुट्टा कला । आफ्नै शोखबाट जरा संकलन शुरु गर्नुभएका उहाँ त्यसलाई सजाउनमै व्यस्त देखिनुहुन्छ । परिवारका सबैले उहाँको रुचि एवं कलामा साथ दिँदा लामिछाने राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा जरबुट्टा कलाको संकलन गर्ने व्यक्तिकोरुपमा परिचित बन्नुभएको छ ।
बोटविरुवाका जरा संकलन गरिरहँदा आफ्नो कलाको चर्चा होला भन्ने उहाँले सोच्नुभएकै थिएन । तर बोटविरुवाका जराहरु संकलन गरी त्यसलाई सफा पारेर टेवुलमा सजाएसँगै त्यसलाई हेर्ने सकारात्मक सोच र बुझाउने क्षमता बढाउँदै गएपछि उहाँको चर्चा बढेको हो । बोटविरुवाका जरालाई सजावटयुक्त बनाउँदैमा त्यसले नयाँ रुप लिने उहाँ बताउनुहुन्छ ।
लामिछानेका अनुसार प्राकृतिकरुपमा निर्मित ती जराहरु एक अर्कासँग कहिल्यै मिल्दैनन्, संधै अनौठो नै देखिन्छ । यी कला देशका सम्पति हुन् भन्नुहुने लामिछानेले आफ्ना कलालाई कहिल्यै बिक्री नगर्ने अठोट लिनुभएको छ । अहिले उहाँले तीन सय भन्दा बढी जरबुट्टा कलाहरु संकलन गरिसक्नुभएको छ । ती कलाको बारेमा बुझाउने लिखित दस्तावेजसहितको कला राख्न ठाउँ अपुग पर्दै गएको भन्दै उहाँले कला संरक्षणको लागि स्थानीय सरकारले सहयोग गरिदेओस् भन्ने अपेक्षा राख्नुभएको छ ।
https://www.youtube.com/watch?v=TIIWc8DntZ4