तस्बिर : आफ्नो गुमेको जमिन देखाउँदै इन्द्रबहादुर ढकाल
भगीरथ भण्डारी इलाम । पञ्चायत कालमा जालसाझी गरेर गुमेको जग्गा फिर्ता आउने आशमा इन्द्र प्रसाद ढकालको चालीस वर्ष अदालतको ढोका कुरेरै बितिसक्यो । जग्गा फिर्ता हुने आशमा उनका आँखा सरकार र सत्ता तिर फर्कीरहेका छन् । यतिका समयसम्म अदालतबाट न्याय नपाएका ढकाल अहिले तीन तिहाइको नयाँ सरकारले काम गर्देलाकी भन्ने आशमा दिन काटिरहेका छन् ।सुर्योदय नगरपालिका–११ का इन्द्र प्रसादको परिवारको चार दशकअघि पञ्चायत कालमा ३५ फिट जग्गा दान गर्दा जालसाझी भएर ३५ रोपनि जग्गा पास भयो । ३५ रोपनि जग्गाका धनी खडानन्द ढकालले आफूलाई झुक्याइएको पत्तो पाएनन् । खडानन्दको मृत्यू भइसक्यो । उनका परिवारले ३५ फिट जग्गा दान गर्दा ३५ रोपनि पास भएको भन्ने २०३९ मा मात्र थाहा पाए । स्थानीय वुद्धिजीवी दिपक अधिकारी भन्नुहुन्छ, ‘ढकाल परिवारको जमिन १९९० सालमै सरकारी अभिलेखमा कायम भएको छ । अदालतमा मिलापत्र हँुदा विवादीत ३ रोपनि भित्रको ३५ फुट जमिन पञ्चकन्या मन्दिरलाई दान दिने सहमती भयो । तर लिखतमा ३५ रोपनी जमिन नै मन्दिरलाई दिएको लेखियो र सहिछाप गराइएछ । सोझा खडानन्दले सहिछाप गरिदिए । उनलाई आफूलाई पञ्चायत प्रशासनले झुक्याएको थाहै पाएनन् ।’
उहाँका अनुसार खडानन्दको मृत्युपछि आमाको नाममा आउँदा पनि ढकाल परिवारले थाहा पाएनन् । थाहा पाएपछि २०३९ सालदेखि उनीहरु आफूलाई परेको अन्यायको विरुद्धमा अदालतमा पुगे । स्थानीय सरकार आएपछि आशा बोकेका ढकालको यो पिडाको न्याय दिलाउन सहयोग गरेर लागिपरिरहनुभएका उहाँ भन्नुहुन्छ, ‘नगरपालिकाबाट त काम भएको छ, संघिय सरकारबाट के हुन्छ थाहा छैन ।’यस विषयमा स्थानीय सरकारले निर्णय लेखेपनि संघिय सरकारसम्म पठाएको छैन । कहिले लकडाउन त कहिले के भनेर करिब ६ महिना अघि गरिएको निर्णय कार्यान्वयन नभएको नगरपालिकाले बताएको छ । न्याय दिलाउन लागेको भनेको सूर्योदय नगरपालिकाले नगर सभाबाटै उनको विषय पारित गरेर संघिय सरकारमा पठाउने निर्णय गरेको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘नगरसभाले व्यक्तिको जग्गा सार्वजनीक भएको सम्बन्धमा गठित छानविन समितिका संयोजक प्रेम बहादुर तामाङले पेश गरेको प्रतिवेदन छलफल गरी सो विषयमा संघिय सरकार र मतहतका मन्त्रालयमा पत्रचार गर्ने निर्णय नगरपालिकाले गरेको छ ।’ छानविन समितिले ढकाल परिवारको गुमेको ३५ रोपनीमध्ये ३० रोपनी व्यक्तिलाई फिर्ता गर्न सिफारीस गरेको छ । चालिस वर्षसम्म आफ्नो जग्गा फिर्ता आउने आशले मुद्धा गर्दा ढकाल परिवार थाप्लोमा ऋण बोकेर सुकुम्बासी जिवन बिताइरहेको छ । जग्गा फिर्ता आउने आशमा अदालतको ढोका करिरहेका ढकाल परिवार पछिल्लो पटक अदालतले मुद्धा खारेज गरिदिएपछि स्थानीय सरकारको शरणमा पुगेका हुन् ।
ढकाल भन्छन्, ‘सम्पतीका नाममा अब नेपालको नागरिकता मात्र बाँकी छ, स्थानीय सरकारको पहलले शझैपनि आशा मरेको छैन ।’ चार दशकमा न्यायका लागि दुई करोडको हाराहारी गुमाएको परिवारलाई पछिल्लो पटक सर्वोच्च अदालतले हराएपछि ढकाल परिवार गत वर्षदेखि स्थानीय सरकार र मन्त्री परिषदले केही गरिदेलाकी भन्ने आशमापुगेको हो ।
२०३९ पुस १० गते जिल्ला अदालतमा मुद्धा दायर गरेपछि उनीहरु निरन्तर जग्गा प्राप्तिको लागी न्यायलय धाइरहेका छन् । पञ्चायतकालमा ३५ रोपनि भन्दा बढि जमीनका मालीक इन्द्र प्रसाद ढकालले मन्दिर निर्मायाका लागी ३५ फिट जग्गा दिने हुँदा जालझेल गरेर ३५ रोपनि पास गरिदिएपछि अहिले मेची राजमार्गको करफोकमा एउटा छाप्रोमा चटपटे बेचेर जिविको चलाइरहेका थिए । कोभिढ १९ को कारण चटपटे बेच्न समेत बन्द भएपछि उनी झन् समस्यामा परेका छन् । उनी भन्छन, ‘साहुको ऋण बुझाउन नसक्दा घरको न घाटको अवस्था भएको छ । मुद्धाको फायल प्रधानमन्त्री ओलीको हातमा पुग्दा पनि काम भएको छैन ।’गत बर्ष ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुद्धाको फायल नै बुझाएर न्यायको माग गरेका थिए । प्रधानमन्त्री ओलीले म हेर्छु भन्दै फायल जिम्मा लिएको उनी बताउँछन । पहिले बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पनि भेट्न प्रयास गरेका थिए । बाबुराम भट्टराईलाई भेट्न दुई पटक काठमाडौं पुगे तर उनको छेउमा पर्नै पाएनन् ।
बाबुरामपछि केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारका समयमा ओलीलाई भेटेर कुरा बुझाएपनि फाइल क्याविनेट नपुग्दै सरकार ढलेपछि उनको आशा फेरी मर्यो । ओलीपछि उनले शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमापनि काठमाडौं पुगे । काम शुरु हुनै लागेको थियो निर्वाचनको समय थियो, आचारसंहिता लाग्यो भनेर उनलाई घर फर्काइयो । घर फर्केका ढकाल पछिल्लो पटक प्रधानमन्त्री जिल्लामै आएको बेला देस्रो पटक प्रधानमन्त्री ओलीलाई फाइल थमाएका थिए ।
लगानी सम्मेलनमा प्रधानमन्त्री इलाम आएको बेला दोस्रो पटक फाएल थमाएका हुन् । करिब दुई करोडको ३५ रोपनि जमिन देखाउँदै उनी भन्छन्, ‘मुद्धा लडेर यस्तो दुईवटा जमिन सकियो ।’ ६२ वर्षीय ढकाल मुद्धा लडेर इलामको सुर्योदय ११ मा रहेको ३५ रोपनी र झापाको वुद्धशान्ति गाउँपालिकाको शान्ति नगरमा रहेको २ विगाहा जमिन अदालत धाउँदा र कानुन व्यवसायीको शुल्क तिर्दैमा सकिएको बताउँछन् । ढकालकी श्रीमती तिलरुपा ढकाल भन्छिन्, ‘स्थानीय सरकारले व्यवस्थापन गर्ने आश्वासन दिएको छ ।’
सूर्योदय नगरपालिकाले छानविन समितिले सुर्योदय नगरपालिका–५ का मन बहादुर क्षेत्रीको १० आना जग्गा तत्कालीन जिल्ला विकास समितिलाई गेष्टहाउस निर्माणका लागि पास गर्ने क्रममा १० रोपनि पास भएको भन्दै गेष्ठ हाउसलाई चाहिने ३ रोपनी जग्गा बाहेक ७ रोनी जग्गा फिर्ता गर्न सिफारीस गरेको छ ।