भगीरथ भण्डारी इलाम । इलामका स्थानीय तहमा एकै आर्थिक वर्षमा ५३ करोड रुपैयाँ भन्दा बढी रकम बेरुजु देखिएको छ । महालेखा परीक्षकको ५७ औँ प्रतिवेदनमा इलामका दश स्थानीय तहमा ५३ करोड ९३ लाख ९३ हजार रुपैयाँ बेरुजु देखिएको छ । नौ अर्ब १४ करोड ५१ लाख ७४ हजार रुपैयाँ खर्चको लेखा परीक्षण गर्दा सो रकमको बेरुजु पाइएको हो ।
इलामको चार नगरपालिका र ६ गाउँपालिकामा आर्थिक वर्ष ०७४/७५ मा ६४ करोड ८५ लाख तीन हजार रुपैयाँ बेरुजु देखिएको थियो भने आर्थिक वर्ष ०७५/७६ मा ५३ करोड ९३ लाख ९३ हजार रुपैयाँ बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
उता माइ नगरपालिकामा आर्थिक वर्ष ०७५/०७६ मा ८९ करोड ४० लाख ३२ हजार रुपैयाँको लेखा परीक्षण गर्दा एक करोड १७ लाख ४६ हजार रुपैयाँ बेरुजु पाइएको छ । आव ०७४/७५ मा माइ नगरपालिकाको ७६ करोड ९४ लाख ७९ हजार रुपैयाँ लेखा परीक्षण गर्दा ४० करोड ५२ लाख ४३ हजार रुपैयाँ बेरुजु देखिएको थियो ।
माई नगरपालिकाले ३९ करोड ३४ लाख ९७ हजार रुपैयाँको बेरुजु फरस्योट गरेको छ । माइ नगरपालिकाले बेरुजुको ठूलो रकम फरस्योट गरेपछि इलाम जिल्लाकै बेरुजु रकम घटेको छ । तर माइ नगरपालिका बाहेक अन्य स्थानीय तहको भने बेरुजु रकम बढ्दै गएको पाइएको छ । आर्थिक वर्ष ०७५/०७६ मा इलाम नगरपालिकाको एक अर्ब ७० करोड ४६ लाख ९१ हजार रुपैयाँको लेखा परीक्षण गर्दा १३ करोड ४१ लाख ७० हजार बेरुजु देखिएको हो । आर्थिक वर्ष ०७४/७५ मा एक अर्ब ३० करोड ८२ लाख ४८ हजार रुपैयाँ लेखा परीक्षणमा दुई करोड ३४ लाख १४ हजार बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै सूर्योदय नगरपालिकामा आव ०७५/७६ मा एक अर्ब ४७ करोड १५ लाख २५ हजारको लेखा परीक्षण गर्दा ९ करोड ५५ लाख ५४ हजार बेरुजु देखिएको छ । आव ०७४/७५ मा एक अर्ब १२ करोड ६८ लाख ७४ हजार रुपैयाँ लेखा परीक्षण गर्दा ८२ लाख ९३ हजार बेरुजु देखिएको थियो ।
देउमाई नगरपालिकामा एक अर्ब ४३ करोड ५० लाख तीन हजार रुपैयाँको लेखा परीक्षण गर्दा ४२ लाख ८५ हजार रुपैयाँ बेरुजु देखिएको छ । आव २०७४/७५ मा ८ करोड २५ लाख ५० हजार रुपैयाँ खर्चको लेखा परीक्षण गर्दा २८ लाख ३६ हजार रुपैयाँ बेरुजु देखिएको थियो । गाउँपालिकामध्ये सबैभन्दा बढी माईजोगमाई गाउँपालिकाको बेरुजु देखिएको छ । माइजोगमाई गाउँपालिकाको आव २०७५/७६ मा ७२ करोड ५० लाख ७० हजार रुपैयाँको लेखा परीक्षण गर्दा ११ करोड ५१ लाख ८० हजार रुपैयाँ बेरुजु देखिएको छ । आव ०७४/७५ मा ५१ करोड ८८ लाख ३१ हजारको परीक्षण गर्दा ६५ लाख १३ हजार रुपैयाँ बेरुजु रहेको थियो ।
फाकफोकथुम गाउँपालिकाको आव २०७५/७६ मा ६७ करोड ४१ लाख ४४ हजार लेखा परीक्षणमा एक करोड ५८ लाख ५४ हजार रुपैयाँ बेरुजु देखिएको छ । आव २०७४/७५ मा ६१ करोड ५४ लाख ७९ हजार लेखा परीक्षण गर्दा १४ करोड ६५ लाख १३ हजार बेरुजु देखिएको थियो । त्यस्तै चुलाचुली गाउँपालिकामा आव ०७५/७६ मा ६७ करोड ७७ लाख ५९ हजार लेखा परीक्षण गर्दा एक करोड २३ लाख ५५ हजार बेरुजु देखिएको हो । आव ०७४/७५ मा ५१ करोड ६३ लाख ९३ हजारलेखा परीक्षण गर्दा एक करोड १५ लाख २८ हजार बेरुजु देखिएको थियो ।
चुलाचुलीको महालेखा परिक्षकको ५७ औँ प्रतिवेदनमा हालसम्म चार करोड १२ लाख १७ हजार बेरुजु मैजुदा रहेको देखिन्छ । सन्दकपुर गाउँपालिकाको आव २०७५/७६ मा ५९ करोड ३७ लाख ५४ हजार लेखा परीक्षण गर्दा चार करोड ७५ लाख दुईहजार बेरुजु देखिएको छ । अघिल्लो आर्थिक वर्ष आव २०७४/७५ मा ४६ करोड ८७ लाख २४ हजार लेखा परीक्षण गर्दा दुई करोड ११ लाख ८० हजार बेरुजु देखिएको महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख छ ।
यस्तौ रोङ गाउँपालिकाको आव २०६५/७६ मा ७१ करोड ३५ लाख ६५ हजार लेखा परिक्षणमा चार करोड ४१ लाख २८ हजार बेरुजु देखिएको छ । आव २०७४/०७५ मा ५७ करोड २३ लाख ३४ हजार रुपैयाँ लेखा परीक्षण मध्ये ४० लाख ६९ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै माङसेबुङ गाउँपालिकाको आव २०७५/७६ मा ६४ करोड ७१ लाख २९ हजार रुपैयाँ लेखा परीक्षण गर्दा पाँच करोड ८६ लाख १९ हजार रुपैयाँ बेरुजु देखिएको छ भने आव २०७४/७५ मा ४९ करोड ९४ लाख १२ हजार रुपैया लेखा परीक्षणमा एक करोड ८९ लाख १४ हजार बेरुजु देखिएको छ । यता जिल्ला समन्वय समिति इलाममा आर्थिक वर्ष २०७५/७६ मा २७ लाख एक हजार रुपैयाँ बेरुजु देखिएको छ । आव ०७४/७५ मा दश हजार रुपैयाँ बेरुजु छ ।