हरिशरण न्यौपानेकाठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेर तोलाको १ लाख ५० हजार रुपैयाँ पुग्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजार र मुलुकको अर्थतन्त्रका कारण सुनको मूल्य अझै बढ्ने आंकलन गरिएको हो ।
नेपाली बजारमा लगातार बढेर तोलाको १ लाख हाराहारीमा पुगेको सुनको मूल्य अझै बढेर १ लाख ५० हजार रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ । सन् २०२१ अर्थात् अबको ५÷६ महिनामा अन्तर्राष्ट्रिय बजारमा हाल प्रतिऔंस १९ सय ७५ डलर हाराहारीमा कारोबार भइरहेको सुनको मूल्य ३ हजार डलरसम्म पुग्ने अनुमानकाबीच नेपालमा पनि सुनको मूल्य डेढ लाखको उचाईमा पुग्ने अनुमान भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य सुनको मूल्य बढ्नुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धेरै कारण रहेको बताउनुहुन्छ । राष्ट्रियरुपमा चालु आर्थिक वर्षको बजेट वक्तव्यमा सुनको भन्सारदर प्रति दश ग्राम दुई हजार रुपैंया बढी बढाइएका कारण सुनको मूल्य बढेको हो । यता अन्तर्राष्ट्रिय बजारमा अमेरिकाको फेडरल रिजर्भ बैंकले ब्याजदर घटाउँदा सुनमा लगानी बढ्नु, अन्तर्राष्ट्रिय बजारमा सन् २०२२ बाट बेसल निर्देशिका–३ लागू गर्नुपर्ने जसले नोट निष्काशन गर्दा धितो राख्दै आइएको डलर र बोण्डको सट्टा सुन राख्नुपर्ने प्रावधानका कारण सबै देशका केन्द्रीय बैंकले सुनको मौज्दात बढाउँदै लगेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा कोरोना महामारीले आर्थिक मन्दी छाउँदा उद्योग धन्दा लगायत शेयर मूल्यमा गिरावट आएपछि सुरक्षित लगानीको साधन सुनतर्फ लगानीकर्ता आकर्षित बनेका छन् । यसैगरी अन्तर्राष्ट्रिय चलनचल्तीको मुद्रा डलरको विकल्पको रुपमा यूरो, चिनियाँ मुद्रालाई राख्न खोज्दा रुस, चीन, जर्मनी, स्ट्जिरल्याण्ड लगायत मुलुकले सुनको मौज्दात बढाउँदा अन्तर्राष्ट्रिय बजारमा मूल्यमा चाप परेको हो । कोरोनाका कारण कामदारको अभावमा खानीबाट सुनको उत्खनन न्यून बन्दा आपूर्ति घटेर सुनको मूल्य बढेको हो ।
कोरोना महामारीसँगै नेपालमा लकडाउन शुरु भएपछि नेपालको सुन बजारमा न्यून कारोबार मात्र भइरहेको छ । सिजनका बेला दैनिक रुपमा ४० किलोसम्म खपत गर्ने नेपाली बजार अहिले ४ देखि ५ किलो मात्रै खपत गर्ने अवस्थामा झरेको छ । बजारमा सुन बिक्री गर्नेको संख्या बढेको छ भने २३ हजारको हाराहारीमा कारोबार गर्ने देशभरको बजारमा १ सय भन्दा बढी पसल बन्द भइसकेका छन् ।
https://youtu.be/8jeT1Lsg1jY