हरिशरण न्यौपानेकाठमाडौं । नेपाल राष्ट्र बैंकको कोरोना भाइरसका जोखिम नियन्त्रणका लागि गरेको लकडाउनपछि ६१ प्रतिशत उद्योग, व्यवसाय पूर्णरुपमा बन्द भएको निष्कर्ष निकालेको छ । लकडाउनका कारण २२ दशमलव ५ प्रतिशत कर्मचारी एवं कामदार कटौती भएका छन् ।
नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै बन्दाबन्दी अवधिमा ६१ प्रतिशत उद्योग, व्यवसायहरु पूर्णरुपमा बन्द भएको जनाएको छ । ४ प्रतिशत पूर्ण रुपमा सञ्चालनमा रहेको, ३५ प्रतिशत उद्योग, व्यवसाय आंशिक रुपमा सञ्चालनमा रहेको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार शिक्षा, होटल तथा रेष्टुरेन्ट, रियल स्टेट, भाडा तथा व्यावसायिक क्रियाकलाप र यातायात तथा भण्डारण क्षेत्रमा अधिक असर परेको देखिएको छ ।
राष्ट्र बैंकका अनुसार बन्दाबन्दी अवधिमा ठूला र मझौैला उद्योग, व्यवसायको तुलनामा घरेलु उद्योग, लघु उद्यम, साना खुद्रा व्यापार र उद्योग, व्यवसायहरु बढी प्रभावित भएका छन् । लकडाउनका कारण उद्योग, व्यवसायमा देखिएको असरसम्बन्धी सर्वेक्षण प्रतिवेदनले लकडाउनमा २२ दशमलव ५ प्रतिशत कामदार÷कर्मचारीको रोजगारी गुमेको देखाएको छ । कटौती भएका मध्ये अस्थायी र करारका कामदार दुई तिहाइभन्दा धेरै रहेका छन् ।
होटल तथा रेष्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै कर्मचारी एवं कामदार कटौती गरेको देखिएको छ । यस्तै उद्योग, व्यवसायले औषतमा १८ दशमलव २ प्रतिशत तलब कटौती गरेका छन् । तलब कटौती गर्नेमा होटल तथा रेस्टुरेन्ट, यातायात, शिक्षा क्षेत्र अगाडि छन् । बन्दाबन्दीे अवधिमा सर्वेक्षणमा सहभागी उद्योग÷व्यवसायहरुमध्ये ९६.७ प्रतिशतले सामान्य अवस्थाको तुलनामा औसतमा ७३.८ प्रतिशत उत्पादन घटेको जनाएका छन् ।
सर्वेक्षणअनुसार अर्थतन्त्र सामान्य अवस्थामा फर्कन कम्तीमा ९ महिना लाग्ने देखिएको छ । सर्वेक्षणमा सहभागी उद्योगी, व्यवसायीले ब्याजदरमा सहुलियत, लचिलो किस्ता अर्थात् ब्याज र साँवा भुक्तानी सुविधा, आयकरमा सहुलियत, चालु पूँजीका निम्ति थप ऋण सुविधा र ऋणको भाका सार्ने सुविधा माग गरेका छन् ।