रुपन्देही । जिल्लामा राष्ट्रिय परिचयपत्रको लागि तथ्यांक संकलनको काम शुभारम्भ गरिएको छ । सिद्धार्थनगर नगरपालिकाका मेयर हरि प्रसाद अधिकारीले राष्ट्रिय परिचयपत्रका लागि आफ्नो व्यक्तिगत विवरण संकलन गराउँदै विहीबार कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा स्थापना गरिएको तथ्यांक संकलन केन्द्रमा आजबाट कामको आरम्भ गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिनुभयो । तथ्यांक संकलनका लागि मेयर अधिकारीको कम्प्युटरबाट फोटो खिच्ने, यस्तै थमसँगै सबै हातका औंलाको स्क्रीनिङ्ग गर्ने, डिजिटल सिग्नेचन गर्ने, आँखाको रेटिना जाँच गर्ने जस्ता प्रक्रिया पूरा गरी मेयर अधिकारीको व्यक्तिगत विवरण राष्ट्रिय तथ्यांक संकलन डाटामा समाबेस गरिएको प्रजिअ पन्थले बताउनुभयो ।
सरकारले नागरिकलाई दिने सुविधामा एकद्धार प्रणाली अपनाउन र व्यक्तिको सम्पुर्ण परिचय दिने एउटै परिचय पत्र बोकर हिँड्न समेत सहज हुने प्रजिअ पन्थको भनाइ छ । बिहीबारबाट शुरु गरिएको काम अब दैनिक रुपमा सुचारु हुनेछ । छिटो भन्दा छिटो नागरिकको तथ्यांक संकलन गरी परिचय पत्र वितरण गर्ने उद्देश्यका साथ अन्य स्थानमा समेत संकलन केन्द्र थप गरी काम गर्ने प्रजिअ पन्थले जानकारी दिनुभयो ।
व्यक्तिगत विवरण संकलन गराउन आउने नागरिकले आफ्नो नागरिकता, विवाहितको हकमा विवाहदर्ता लगायतका कागजपत्र समावेश गर्नुपर्ने छ । जनतालाई प्रदान गर्ने सेवा सुविधा एकीकृत प्रणालीमार्फत एउटै परिचयपत्रबाट प्राप्त हुने प्रावधानसहितको प्रणालीको विकास गर्ने, जैविक पहिचान सहितको बहुउपयोगी परिचयपत्र तयार गरी वितरण गर्ने र नेपालमा बस्ने सबै व्यक्तिका विवरण राष्ट्रिय तथ्यांक भण्डारणमा समाविष्ट गर्ने राष्ट्रिय परिचयपत्रको उद्देश्य रहेको प्रजिअ पन्थले बताउनुभयो ।
आर्थिक वर्ष २०७७÷७८ मा राष्ट्रिय परिचयपत्रका लागि एक करोड डाटा संकलन गर्ने सरकारको लक्ष्य रहेको बताइएको छ । राष्ट्रिय परिचय पत्रलाई नागरिकता, एटिएम,अन्य परिचयपत्र सबैलाई विस्थापन गर्ने गरी प्रयोगमा ल्याईने सरकारको योजना रहेको उहाँले जानकारी दिनुभयो । यसो गर्दा नागरिकलाई सेवा लिन सहज हुने र कुनै अपराध वा घटनामा संलग्न व्यतिmको विवरण तुरुन्त निकाल्न सकिने हुँदा अपराधमा समेत कमि आउने पन्थको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा विवरण दर्ताका लागि कम्प्युटर लगायतका आवश्यक उपकरणहरु राखिएको जिल्ला प्रशासन कार्यालय रुपन्देही नागरिकता शाखाका नायव सुब्बा यज्ञ पोखरेलले जानकारी दिनुभयो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा पाँचथर र सिंहदरबारस्थित कर्मचारीलाई परिचयपत्र वितरण गरेको थियो । ‘२०७६/०७७ को बजेट वक्तव्य मार्फत आगामी ४ वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने घोषणा गरिएको थियो ।
दोस्रो चरणमा १५ वटा जिल्ला तथा यसै आ.व.मा बाँकी सबै जिल्लामा तथ्यांक संकलनको काम शुरु गरिँदैछ । तर परिचयपत्रलाई पूर्णरुपमा प्रयोगमा ल्याउनका लागि भने पूर्वाधार निर्माणका कैयौँ कामहरु शुरु गर्न बाँकी छ।