भगीरथ भण्डारी इलाम । जिल्लामा १५ दिन यता ४६ जना सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएको छ । जिल्लाका विभिन्न क्वारेन्टाइन र सीमाको सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोना देखिएपछि त्रास बढेको छ ।
गएको साउन ६ गते जिल्ला समन्वय समिति इलामको क्वारेन्टाइनमा खटिएका एक जना सशस्त्रमा कोरोना देखिएको थियो भने हालसम्म जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीमा कोरोना देखिएको हो । गएको ६ गते क्वारेन्टाइनमा खटेका सशस्त्रसहित एक जनामा कोरोना देखिएकोमा त्यसको चार दिनपछि ६ जना सुरक्षाकर्मीमा कोरोना देखियो भने त्यसको पाँचौ दिनमा अन्य पाँच जनामा कोरोना पुष्टि भयो ।
सुरक्षामा खटिएका सशस्त्रमा दिनै पिच्छे कोरोना बढिरहेपछि गण नै शिल समेत गरिएको थियो । तर पनि कोरोना संक्रमण भने फैलिनै रहयो । स्वास्थ्य कार्यालयको रिर्पोट अनुसार साउन ११ गते ६ जना सुरक्षाकर्मीमध्ये पाँच जना सशस्त्रलाई कोरोना पुष्टि भएको थियो भने साउन १६ गते फेरि पाँच जना सशस्त्र प्रहरीमा कोरोना भाइरस (कोभिड –१९) पोजेटिभ देखियो । संक्रमण पुष्टि भएका सबै इलाम नगरपालिकाको सदरमुकामस्थित सशस्त्र प्रहरीको एक नम्बर गणमा कार्यरत सशस्त्र प्रहरी रहेका थिए ।यस्तै साउन १७ गते सशस्त्र प्रहरीका १७ जनामा कोरोना पुष्टि भयो । विराटनगरस्थित प्रदेश प्रयोगशालामा ४० जनाको स्वाब संकलन गरी पठाइएकामध्ये १७ जनामा रिपोर्ट पोजेटिभ आएको थियो । १७ जनासँगै इलाममा सशस्त्र प्रहरीका जवान मात्रै २७ जना पुगे । साउन २० गते पुन इलामका दुई सशस्त्रमा कोरोना पोजेटिभ देखियो । दुबै जना सुरक्षामा खटिएका थिए । एकजना सूर्योदय नगरपालिकाको क्वारेन्टाइन र एक जना नेपाल भारत सिमाना पशुपतिनगरमा खटिएका सुरक्षाकर्मी हुन् ।घरमै बसेका पनि संक्रमित गत बुधबार (साउन २१) घर बिदामा बसेका सशस्त्रमा कोरोना पुष्टि भयो । घर बिदा बसेका सशस्त्रमा पोजेटिभ देखिएपछि सूर्याेदय नगरपालिका वडा ११ स्थित आइतबारे बजार ‘सिल’ गरिएको छ । स्थानीय सशस्त्र प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएपछि नगरले अर्काे सूचना नभएसम्मका लागि बजार बन्द गरेको हो ।
आइतबारे बजार नै घर भएका सशस्त्र प्रहरीका १ जवान सदरमुकामस्थित सशस्त्र प्रहरीको हेडक्वार्टर नम्बर १ बाट गत १० गते सरुवा भइ आइतबारे बेसक्याम्प गएका थिए । उनलाई पहिला पीसीआर जाँच गरेर मात्रै क्याम्पमा सहभागी गराइने भएपछि होम क्वारेन्टिनमा बसेका थिए ।
यस्तै बिहीबार (साउन २२) इलाममा सशस्त्र प्रहरी बलको हेडक्वाटर नम्बर १ गणमा १६ जना कोरोना पोजेटिभ देखिएको छ । गणका ३७ जनाको श्वाब संकलन गरेकोमा बिहीबार १६ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै इलाममासशस्त्र प्रहरीका ४६ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।अहिले सशस्त्र प्रहरीको गणमा फैलिएको अनुपात दिनप्रति दिन बढ्दो छ । १५ दिनमा ४६ जना सशस्त्र प्रहरीमा संक्रमण फैलिएपछि अन्य सुरक्षाकर्मी समेत त्रसित बनेको छन् । यति मात्र होइन केही दिनअघिसम्म बजार क्षेत्रमै गस्तीमा रहेका सशस्त्रमा कोरोना पुष्टि भएपछि समुदायमा कोरोना आशंका गरिएको छ । तर यसरी दिनप्रति दिन कोरोना संक्रमण फैलिँदै जाँदा समेत कोरोना कहाँबाट फैलियो भन्नेचाहिँ पत्तो छैन ।
“गणमा आवतजावत गर्ने एक जना क्वारेन्टाइनको सुरक्षार्थमा खटेका थिए । उनैबाट सरेको अनुमान गरेका थियौँ । तर पछि उनको पनि रिर्पोट नेगेटिभ आयो”, गणका गणपति(प्रहरी उपरीक्षक)सुधीरजंग थापाले भन्नसभयो, “थप संक्रमण नफैलियोस् भनेर गण नै शिल त गरेका छौँ तर, रिर्पोट नेगेटिभ आएकामा समेत पछिल्लो समय पुनःपरीक्षण गर्दा पोजिटिभ आएपछि भने थप समस्या देखिएको छ ।”
केही दिनअघिको रिर्पोटमा कोरोना नदेखिएका तीन जनाको पुनःपरीक्षणमा भने रिर्पोट पोजेटिभ आएको छ । रिर्पोट नगेटिभ आएकाको पनि पुनःपरीक्षण गर्ने तयारी भइरहेको गणपति थापाले बताउनुभयो ।
सीमाको सुरक्षामा खटेकामा पनि कोरोना
दुईदिन अघि नेपाल–भारत सीमा क्षेत्र सूर्योदय नगरपालिकाको पशुपतिनगरमा सुरक्षामा खटिएका दुई जनामा कोरोना पुष्टि भएसँगै सीमामा कोरोना त्रास बढेको छ । सुरक्षामा खटिएकामध्ये एक जना क्वारेन्टाइन र एक जना सीमामा खटिएका थिए । क्वारेन्टाइन बाहिर पनि दिनै कोरोना पुष्टि हुँदा सुरक्षाकर्मीमा मात्र नभइ समुदायमा समेत त्रास बढेको छ । गणपति थापाका अनुसार पशुपतिनगर र मानेभञ्ज्याङमा रहेका ३४ जनाको स्वाव संकलन गरेर पठाइएको छ । गणपति थापाले भन्नुभयो, “सीमामा पनि अहिले गस्ती गर्न छाडेका छौँ । जोखिम बढेपछि गस्ती नगरेका हौं ।” अहिले सुरक्षाका लागि नेपाल प्रहरीसँग समन्वय काम गरिरहेको थापाले जानकारी दिन्ुभयो ।