काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा आफ्नो सम्बन्ध नभएको प्रष्ट्याउनु भएको छ ।
सरकारले केही दिनअघि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको हो । केही संचार माध्यमले भट्ट उपाध्यक्ष गौतमको जोडमा नियुक्त भएको समाचार प्रकाशित गरेका थिए । उपाध्यक्ष गौतमले त्यसप्रति आपत्ति जनाउनु भएको हाे ।
‘लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका सुशील भट्टलाई उक्त जिम्मेवारीका निम्ति मैले प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको र मेरै जोडमा उनी नियुक्त भएका हुन् भन्ने कपोलकल्पित तथा भ्रामक खबर सवत्र व्याप्त पारिएको छ’ उहाँले प्रष्ट्याउनु भएको छ, ‘तर, सुशील भट्ट वा कुनै पनि व्यक्तिको नियुक्तिका निम्ति मैले प्रधानमन्त्री वा कोही व्यक्तिसँग पनि केही भनेको छैन । यो मेरो सरोकार भन्दा बाहिरको विषय हो ।’
उपाध्यक्ष गौतमले पार्टीमा पछिल्लो समय गुटबन्दी भइरहेको तर आफू अलग रहेको समेत उल्लेख गर्नुभएको छ । ‘अहिले हाम्रो पार्टीभित्र देखापरेका अन्तरविरोध हल हुन नसक्दा तीन विचार समूह बनेका छन्’ यी समूहसँग केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल जोडिनु भएको छ। म समूहगत रुपमा यी कसैसँग जोडिएको छैन र जोडिन पनि चाहन्न। तर ओली र प्रचण्डले भेट्न बोलाउँदा म जाने गरेको छु। सल्लाह सुझाव र राय पनि दिने गरेको छु। मैले आफूलाई स्वतन्त्र राख्ने कोशिस पनि गरेको छु पछिल्लो पटक मैले पार्टीमा राखेको ६ बुँदे प्रस्ताव त्यसकै एउटा उदाहरण हो।’
उपाध्यक्ष गौतमले पार्टीमा अध्यक्षले गरेको निर्णय सबैले स्वीकार्नुपर्ने समेत उल्लेख गर्नुभएको छ । ‘पार्टी अध्यक्ष भनेको केवल व्यक्तिमात्र हुँदैन, त्यो पार्टीभित्रको सर्वस्वीकार्य संस्था हो’ उहाँले भन्नुभएको छ, ‘ त्यसै कारण पार्टी अध्यक्षहरु दुबै वा एक्लै उहाँहरुले बाेलाउँदा मैले भेट्ने गरेको छु। मैले समय–समयमा भेट गरेको बेला ओलीकै अगाडि उहाँलाई गम्भीर आलोचना गर्ने गरेको छु। प्रचण्डलाई पनि उहाँकै अगाडि उहाँको आलोचना गर्ने गरेको छु।
उपाध्यक्ष गौतमले आफूले कुनै गुट नमान्ने दृढता व्यक्त गर्नुभएको छ ‘पार्टी अध्यक्ष दुबै वा एक्लै बोलाएको बैठक वा भेलालाई मैले गुट मान्दिन’ त्यसो भएर मलाई यो वा त्यो गुटसँग सम्बन्धित गराएर उल्लेख नगरिदिन अनुरोध गर्छु।’