काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाउनुभएको छ । प्रधामनमन्त्रीले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गर्नुभएको हो ।
‘त्यहाँ के कस्ता संरचना छन्, केके बनाउनुभएको छ ?’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै वडाध्यक्ष सुवेदीले भन्नुभयो, ‘भारतमा भएको अयोध्याका विषयमा त्यहाँका जनतासमेत विश्वस्त नरहेको पाइएकाले हाम्रो अयोध्याका विषयमा थप अध्ययन र संरक्षणमा जुट्नुपर्छ । तपाईहरु के के गर्दै हुनुहुन्छ, तुरुन्तै काम अघि बढाउनुप¥यो ।’
प्रधानमन्त्रीले आफूले अयोध्याका बारेमा अध्ययन गर्दा प्रमाण बलियो भेटिएको तथा सोमेश्वर गढी, वाल्मिकी आश्रमलगायत स्थानसमेत बलियो आधार भएको बताउनुभएको सुवेदीले जानकारी दिनुभएको छ । ‘प्रधानमन्त्री अयोध्याका विषयमा माडीको टोलीसँग छलफलका लागि आतुर हुनुहुन्छ’ सुवेदीले भन्नुभयो ।
वडाध्यक्ष सुवेदीका अनुसार हाल माडीमा रहेका धार्मिक सम्पदा र पुरातात्विक सामग्रीको संरक्षण गर्न अनुरोध गर्दै प्रधानमन्त्रीले आउँदो रामनवमी पर्वमा ठूलो पूजा गरी काम शुरु गरिने बताउनुभएको छ । ‘पुरातत्विक विभागसँग समन्वय गरेर अध्ययन र संरक्षणमा जुट्न प्रधानमन्त्रीको निर्देशन छ, उहाँले भन्नुभयो । हालको वडा नम्बर ९ यसअघिको अयोध्यापुरी गाउँ विकास समितिमा पथ्र्यो ।
त्यसको लागि प्रधानमन्त्रीले माडीका नगर प्रमुखसहितका प्रतिनिधिलाई भेट्न शनिबार बोलाउनुभएको छ । माडी नगरपालिका प्रमुख ठाकुर ढकालले प्रधानमन्त्री ओलीले भेटघाटका लागि बोलाउनुभएको जानकारी दिनुभयो । ढकालका अनुसार वडाध्यक्ष सुवेदी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का माडी अध्यक्ष प्रभु महतो, सचिव नारदमणि पौडेलसहितको टोली प्रधानमन्त्रीलाई भेट्न काठमाडौँ जाँदै छ । ढकालले भन्नुभयो, ‘आज दिउँसो प्रधानमन्त्रीज्यूलाई भेट्ने कार्यक्रम छ ।’
प्रधानमन्त्रीले गएको असार २९ गते भानुजयन्तीका दिन राम नेपालकै ठोरी क्षेत्रमा जन्मेको हुन सक्ने अभिव्यक्ति दिनुभएको थियो । माडीको अयोध्यापुरी, वाल्मिकी आश्रम, गोद्धकलगायत क्षेत्रमा पुरानो मुद्रा, इँटा, पुराना भवनका अवशेषजस्ता पुरातात्विक वस्तु भेटिँदै आएको छ ।