काठमाडौं । नियात्राशिल्पी सरस्वती अर्यालको नियात्रा संग्रह ‘हिमाल हेर्ने पाइलाहरु’ शनिबार लोकार्पण गरिएको छ । नियात्रा समाजले आयोजना गरेको एक विशेष समारोहमा अर्यालको पहिलो नियात्रा कृतिको विमोचन गरिएको हो ।
हिमाली तथा पर्यटकीय जिल्ला मनाङ, रसुवाको लाङटाङ र मुस्ताङका विभिन्न स्थानमा यात्राका क्रममा जाँदाका अनूभुतिलाई समेटेर तयार पारिएको नियात्रा संग्रहको विमोचन साहित्यकारहरु प्रमोद प्रधान, महेश पौड्याल, प्रतीक ढकाल, प्रभा बराल र भवानी खतिवडा तथा नियात्रा समाजकी कोषाध्यक्ष गीता रेग्मीले संयुक्त रुपमा गर्नुभएको हो ।
पुस्तक लोकार्पण समारोहमा साहित्यकार प्रमोद प्रधानले महिलाले हिमाली क्षेत्रको यात्रा गर्नु आफैमा साहसिक कार्य रहेको बताउनु भयो । प्रधानले यात्रालाई पुस्तकको आकारमा ल्याउनु यात्राभन्दा ठूलो र महत्वपूर्ण सफलता भएको उल्लेख गर्नुभयो । हिमाली क्षेत्रका विभिन्न स्थानमा गरिएको भ्रमणलाई पुस्तकमा उतार्नुजस्तो चुनौतीपूर्ण कार्य पूरा गरेर नियात्राकार अर्यालले पदयात्रामा रुचि राख्नेहरुलाई नयाँ बाटो देखाउने काम गरेको पनि प्रधानले बताउनु भयो ।
पुस्तक विमोचन समारोहमा लेखक अर्यालले आफ्नो यात्रा अनुभवलाई कृतिमार्फत पाठकमाझ ल्याउन पाउँदा गौरवान्तित महशुस भएको बताउनुभयो । कार्यक्रममा वरिष्ठ साहित्यकार महेश पौड्याल, प्रतीक ढकाल, प्रभा बराल र कवि भवानी खतिवडाले महिलालाई यात्रामा निस्कन अनेक समस्या भए पनि पुस्तक तयार गरेर आम पाठकमाझ ल्याउनु प्रशंसनीय भएको राय राख्नुभयाे । त्यस्तै, नियात्रा समाजकी कोषाध्यक्ष गीता रेग्मीले अर्यालको नियात्रा संग्रहसँगै नेपालको नियात्रा क्षेत्रमा नयाँ इँटा थपिएको उल्लेख गर्नुभयो ।
मकालु प्रकाशनले बजारमा ल्याएको पुस्तकको लोकार्पण बबरमहलस्थित कार्की पार्टी प्यालेसमा आयोजित कार्यक्रममा भएको हाे । लोकार्पण कार्यक्रमको अध्यक्षता गीता रेग्मीले गर्नु भएको थियो भने कृतिमाथि चर्चा गर्दै अतिथि वक्ताहरूले नियात्राकारले प्राञ्जल लेखनमार्फत अत्यन्त सुन्दर नियात्रा पस्किन सफल भएको भन्दै खुशी व्यक्त गरेका थिए । नियात्रा प्रकाशनसँगै कृतिकार अर्याल हिमाली नियात्रामा प्रथम महिला नियात्राकारको रूपमा कीर्तिमान रच्नसमेत सफल हुनुभएको छ ।