काठमाडौं । कोरोनाका कारण हालसम्म विदेशमा १ सय ९१ जना नेपालीको निधन भएको छ । ५८ देशका ४६ हजार ३ सय १२ जनाको उद्धार गरिएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण विदेशमा १ सय ९१ जना नेपालीको निधन भएको छ ।
गैरआवासीय नेपाली संघ एनआरएनएका अनुसार भारतमा यो साता थप २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डाक्टर संजीव सापकोटाका अनुसार यो साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेवियामा रहेका नेपालीहरुमा थप नयाँ संक्रमण देखिएको छ । संघका अनुसार गत हप्ताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरब लगायतका देशमा कोरोना संक्रमणको दरमा कमी आएको छ । यो साता अष्ट्रेलिया रहेका १ सय ४६ जना नेपालीमा नयाँ संक्रमण थपिएको समितिले जनाएको छ ।
समितिका अनुसार गत साता लग्जेम्वर्गमा रहेका नेपालीहरुमा सामूहिकरुपमा देखिएको कोरोना संक्रमितहरु संक्रमणमुक्त हुँदै गएका छन् । संघका अनुसार लग्जेम्वर्गमा करिब दुई दर्जन नेपालीमा कोरोना संक्रमण रहेको र बाँकी आइसोलेसनमा रहेका छन् । लग्जेम्वर्गमा थप संक्रमण देखिएको छैन । विश्वमा ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको संघले जनाएको छ । ती मध्ये १६ देशमा रहेका नेपालीको कोरोनाका कारणले निधन भएको छ । कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, भारत, नेपाल, साउथअफ्रीका लगायतका देशमा रहेका नेपालीहरुको ज्यान गएको थियो । हाल सम्म नेपाल सहित ५५ हजार ९ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ४७ हजार ४ सय ३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
यसैबीच कोरोना भाइरसका कारण जारी लकडाउनका कारण विदेशमा अलपत्र नेपालीको एनआरनए, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा ५८ देशबाट हालसम्म ४६ हजार ३ सय १२ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट १२ हजार ५ सय १ जना रहेका छन् । साउदी अरेबियाबाट ६ हजार ९ सय ९७, मलेसियाबाट ६ हजार ७ सय ९४, कुवेतबाट ६ हजार ३ सय २९ र कतारबाट ५ हजार २ सय ५१ जनाको उद्धार भएको छ । अफगानिस्तानबाट ३३, ओमानबाट ६ सय ३६, म्यानमारबाट २६, थाइल्याण्डबाट ३ सय २६, दक्षिण कोरियाबाट ७ सय २०, बंगलादेशबाट ८ सय ४१, माल्दिभ्सबाट ७ सय ९, सिंगापुरबाट २ सय ९७, हंङकंङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ९ सय ८०, अमेरिकाबाट ४ सय २३, बेलायतबाट २ सय २९, इजरायलबाट १ सय २७, चीनबाट २ सय आठ, टर्कीबाट १ सय १० जना स्वदेश फर्किएका छन् ।
फिलिपिन्सबाट २ सय १ जना, स्वीट्जरल्याण्डबाट १० जना, इराकबाट ३९ जना, दक्षिण सुडानबाट २ सय ५० जना, सेन्ट्रल अफ्रिकन रिपब्लिकबाट ६८ जना, श्रीलंकाबाट ५ जना जापानबाट १ हजार २३ जना स्वदेश फर्किएका छन् । भारतबाट हवाई उडान मार्फत ८५ जना स्वदेश फर्किएका छन् । तर स्थलमार्ग हुँदै भारतबाट आएकाहरूको तथ्यांक छैन । यसैगरी विदेशमा विविध कारण मृत्यु भएका २ सय ४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको एनआरएनए कोभिड १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।