काठमाडौं । कतार विश्वकप छनोट र एसियन कप छनोटका लागि प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका ११ खेलाडीको कोरोना परीक्षण गरिएको छ । लगनखेलस्थित पाटन अस्पतालमा पहिलो दिन सोमबार ११ खेलाडीको कोरोना परीक्षण गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
एन्फाले ११ खेलाडीसहित १ फिजियो, १ प्रशिक्षक र एन्फा होस्टलका १२ स्टाफ गरी २५ जनाको कोरोना परीक्षण गरेको हो ।विशाल राई, रंजित धिमाल, मिक्चेन तामाङ, रवी पासवान, दर्शन गुरुङ, विमल राना, दीप कार्की, दिलेन लोक्तान, छिरिंग गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटीको परीक्षण गरिएको छ ।
यस्तै फिजियो आविष्कार पुडासैनी र प्रशिक्षक किरण श्रेष्ठको परीक्षण गरिएको छ । बाँकी खेलाडी र अफिसियलको कोरोना परीक्षण भोलि गरिने जनाएको छ । विश्वकप छनोटका लागि एन्फाले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ १ गतेबाट सुरु गर्ने तयारी गरेको छ । फिफा विश्वकप २०२२ छनोट अन्तर्गत आगामी दिनमा नेपालले तीन होम खेल खेल्दैछ ।
दशरथ रंगशालामा हुने तीन खेल असोज र कार्तिकमा आयोजना हुनेछ । नेपालले असोज २२ गते चीन ताईपेसँग खेल्दैछ भने त्यसको ५ दिनपछिनै एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ । यस्तै समूह चरणको अन्तिम खेलमा नेपालले कात्र्तिक २७ गते जोर्डनको आतिथ्यता प्रदान गर्नेछ । समूह बी मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ । चीन ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।