काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले स्टक डिलर कार्य सञ्चालन कार्यविधि स्वीकृत गरेको छ । नेप्सेले कार्यविधि भदौ १ गतेदेखि कार्यान्वयन गर्ने भएको छ । स्टक डिलरको कार्य सञ्चालनलाई सहज बनाउन ल्याइएको कार्यविधि भदौ १ गतेदेखि लागू हुने नेप्से सञ्चालक समितिले जनाएको छ ।
कार्यविधि अनुसार कारोबार योग्य कम्पनीको छनोट गर्दा ३ वर्षदेखि नाफामा रहेको, लगानीकर्ताको संख्या कम्तीमा दश हजार रहेको, चुक्ता पूँजी २० करोड रुपैयाँभन्दा बढी भएको र विगत एकवर्षको कारोबार दिनमध्ये कम्तीमा ८० प्रतिशत दिनमा कारोबार भएको हुनुपर्ने उल्लेख छ ।
नेप्सेले प्रत्येक वर्ष कारोबार योग्य कम्पनीको सूचि अध्याबधिक गर्ने जनाएको छ । नेप्सेले धितोपत्र व्यापारीबाट आएको कम्पनीको सूची आवश्यक देखेमा हेरफेर गरी कारोबार गर्ने अनुमति प्रदान गर्ने कार्यबिधिमा उल्लेख छ । कारोबार प्रणलीअन्तर्गत कारोबार सदस्यले धितोपत्रको खरिद वा बिक्री कारोबार संचालनका लागि नेप्सेले दिएको स्वचालित विद्युतीय कारोबार प्रणालीको प्रयोग गरी कारोबार संचालन गर्नु पर्नेछ । धितोपत्र व्यापारीले आदेश व्यवस्थापन र जोखिम व्यवस्थापनका लागि नेप्सेले दिएको वा निर्धारण गरेको मापदण्ड अनुसार कारोबार सदस्य आफैंले विकास गरेको वा तेस्रो पक्षबाट खरिद गरेको स्वचालित विद्युतीय कारोबार प्रणाली प्रयोग गर्न सक्नेछन् ।
धितोपत्र व्यापारीले दैनिक रूपमा आफ्नो नेटवर्थको अधिकतम ६० प्रतिशत रकम सीमासम्म सेयर किनबेच गर्न सक्नेछन् । स्टक डिलरले एक पटकमा ८ अर्ब रुपैयाँ वा सोभन्दा बढी चुक्ता पुँजी भएका कम्पनीहरूको ५० हजार कित्तासम्म सेयर खरिद बिक्री गर्न सक्नेछन् । यस्तै ५ अर्बदेखि ८ अर्ब रुपैयाँभन्दा कम चुक्ता पुँजी भएको कम्पनीको ४० हजार कित्ता, २ अर्ब रुपैयाँभन्दा बढी र ५ अर्बसम्म चुक्ता पूँजी भएको कम्पनीको ३० हजार कित्ता, १ अर्ब रुपैयाँदेखि २ अर्ब रुपैयाँसम्म चुक्ता पुँजी भएको कम्पनीको २५ हजार कित्ता, ५० करोडदेखि एक अर्ब रुपैयाँसम्म चुक्ता पुँजी भएका कम्पनीको २० हजार कित्ता, २० करोड रुपैयाँभन्दा बढी र ५० करोडभन्दा कम चुक्ता पुँजी भएको कम्पनीको १० हजार कित्तासम्म मात्र सेयर खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।
स्टक डिलरले २० करोड रुपैयाँभन्दा कम चुक्ता पुँजी भएको कम्पनीलाई नियमित कारोबारमा संलग्न गर्न नपाउने व्यवस्था गरेको छ । उक्त कार्य विधिले सूचीकृत कम्पनीहरुको शिलबन्दी र खामबन्दी वा अक्सनबाट सेयर बिक्री गर्दा धितोपत्र व्यापारीले सहभागिता जनाई सेयर पाएमा सोको कारोबार नेप्से प्रणालीमार्फत गराउँदा मूल्य परिर्वतन सीमा लागू नहुने भएको छ । स्टक डिलर कम्पनीको कारोबार माथि शंका लागि छानबिन गर्न आवश्यक देखिएमा नेप्सेले कारोबार स्थगन गर्न सक्ने कार्यबिधिमा उल्लेख छ ।