भगीरथ भण्डारी इलाम । लकडाउन सँगै भारतबाट आलु आयात नभएपछि ग्रामीण भेगका किसानले उत्पादन गरेको आलुले मूल्य पाएको छ । नेपालमा ठूलो परिमाणमा भारतबाट आलु जिल्ला भित्रिने गरेपनि यस पटक कोरोना संक्रमणले लकडाउन भएसँगै भारतबाट नआएपछि स्थानीय किसानको उत्पादनले बजार पाएको छ ।
भारतबाट आलु नआएपछि इलामका व्यवसायीले जिल्लाकै ग्रामीण भेगको आलु खरिद गरेपछि किसानले उत्पादन गरेको आलुले मूल्यपाएको हो । गएका वर्षमा यसै समयमा प्रतिमन हजारदेखि बाह्र सय (एक मनमा ४० किलो) मा किनबेच हुने गरेको आलु यसवर्ष प्रतिमन दुई हजार रुपैयाँ सम्ममा बिक्रि भएपछि किसान आलु खेतिबाट निरास बन्नु परेको छैन ।
सन्दकपुर गाउँपालिका माइमझुवाका किसान गङ्गा गुरुङले गएका वर्षहरूमा प्रतिकिलो ३०/४० रुपैयाँले बिक्ने आलु यस पटक भने प्रतिकिलो ५० रुपैयाँले घरबाट बेच्न पाउँदा खुसि भएको बताउनुभएको छ । “गएका वर्षहरूको तुलनामा यस पटक राम्रै गरी आलु फलेको छ ।” गुरुङले भन्नुभयो, “२० मन जति बेचँे होला, राम्रौ आम्दानी भएको छ ।” गुरुङले यस वर्ष आलुबाट नसोचेको आम्दानी लिएको बताउनुभयो । आलु बेच्नका लागि बजार ल्याउनु पर्दैन, व्यापारी नै आलु किन्न किसानको घर पुग्ने गरेका छन् । भारतबाट नआएपछि बजारमा आलु अभाव भएसँगै किसानकै भाउमा व्यापारी पनि आलु किन्न बाध्य छन् ।
यता व्यवसायीले भने ग्रामीण भेगबाट आलु ल्याउन समस्या भएको बताउँछन । सडक भत्किएका र पहिरो झरेकाले बजारसम्म आलु नै ल्याउन नसकिएपछि बजारमा आलु महङ्गो भएको व्यवसायीको भनाइ छ । बजारमा आलुको ‘चरम अभाव’ भएकाले महंगोमा किनेर बेच्न बाध्य भएको इलाम बजारका तरकारी व्यवसायी सन्तोष परियार बताउनुहुन्छ । “अरू बेला बजारमै आलु आउँथ्यो । अहिले त किसानकै बारीमा गएर किनेर ल्याउनु पर्छ’ परियारले भन्नुभयो,“अहिले त प्रतिकिलो नै ६० रुपैयाँ पर्छ ।” तरकारीमा पनि आलुको खपत अन्य तरकारिको तुलनामा बढी नै पर्ने भएकाले आलुको खपत बढि हुने गर्छ । गएका वर्षमा भारतबाट भित्रिने आलु यस पटक नभित्रिँदा झापाका व्यवसायी पनि इलाममा नै आलु किन्नको लागि आउने गरेको कारण आलु महंगिएको परियार बताउनुहुन्छ ।
“अरू बेला भारतबाट आलु आउँथ्यो । यो पटक त झापाकै व्यापारी पनि सूर्योदय नगरपालिकाको पैरे भञ्ज्याङसम्म पुग्ने गर्छन । जिल्ला बाहिरका व्यापारीले पनि यहाँबाट खरिद गरेको हुँदा इलाममा आलुको अभाव भएको छ ।” व्यवसायी लक्ष्मी घिमिरे भन्नुहुन्छ,“गएका वर्षमा ५० रुपैयाँ भाँडामा बजार ल्याउन सकिन्थ्यो तर यस पटक भने ३ सय तिर्नुपर्छ ।” घिमिरेले आलु मात्र नभइ सबै प्रकारका तरकारीको मूल्य आकाशिएको बताउनुहुन्छ ।
गत वर्ष यही समयमा प्रतिकिलो ४० रुपैयाँमा किनबेच भइरहेको आलुको मूल्य यसवर्ष प्रतिकिलो ७० रुपैयाँमा किनबेच भइरहेको छ भने ६० रुपैयाँमा कोरोबार हुने टमाटर ८० रुपैयाँ पुगेको छ । व्यवसायीका अनुसार करेला दुई सय रुपैयाँ किलो छ ।