सुखिलाल चौधरीउदयपुर । मालपोत कार्यालय उदयपुरका ६ जना कर्मचारीसहित १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्रियुगा नगरपालिकाका ८ जना र बेलका नगरपालिकाका ७ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभएको छ ।
संक्रमित हुने मालपोत कार्यालयका कर्मचारीहरुमा २६, ३२, ३८, ४२ र ४४ वर्षीय पुरुष र ३२ वर्षीया महिला रहेका छन् । मालपोत कार्यालयका कर्मचारी कै परिवारका ३० र ६२ वर्षीया महिला पनि संक्रमित भएका छन् । यसअघि नै मालपोतका एक ३४ वर्षीय कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको थियो । त्यसकै कन्ट्राक्ट टे«सिङको आधारमा मालपोतका कर्मचारी र संक्रमित परिवारको स्वाब परीक्षण गरिएको थियो ।
यस्तै बेलका नगरपालिका ९ का ७ जना संक्रमित भएका छन् । तीन पुरुष र चार महिला रहेका छन् । संक्रमित हुनेमा १८, ३१ र ६८ वर्षीय पुरुष रहेका छन भने १७, २०, २० र ६० वर्षीया महिला रहेका छन् । बेलका नगरपालिकामा देखिएका संक्रमित सबै समुदायस्तरकै हुन् ।
उदयपुरमा कोरोना संक्रमितको संख्या २८ महिलासहित १०४ पुगेको छ । हालसम्म बेलका नगरपालिकामा ३१ जना, त्रियुगा नगरपालिकामा ५९ जना, कटारी नगरपालिकामा ७ जना, चौदण्डीगढी नगरपालिकामा २ जना, उदयपुरगढी गाउँपालिकामा २ जना र ताप्ली गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।