नुवाकोट । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि नुवाकोटमा मंगलबारदेखि निषेधाज्ञाको क्षेत्र बढाइएको छ । निषेधाज्ञा कार्यान्वयन गराउन सेना समेत परिचालन गरिने भएको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको यसअघि कायम रहेको क्षेत्र भन्दा बढाएको हो । यसअघि दुप्चेश्वर गाउँपालिकामा समुदायमा कोरोना संक्रमण फैलिएको पुष्टि भएसँगै आठ दिनका लागि थप क्षेत्रमा निषेधाज्ञा लगाएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिनुभएको छ ।
प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार दुप्चेश्वर गाउँपालिकाको सबै स्थान, तादी गाउँपालिका–२, ३, ४ र ५, पञ्चकन्या गाउँपालिका–४ र ५, शिवपुरी गाउँपालिका–१, २, ३, ४ र ५ एवम् तारकेश्वर गाउँपालिका–२, ४, ५ र ६ मा ८ दिनका लागि निषेधाज्ञा लगाइएको हो ।
नुवाकोटमा दुप्चेश्वर गाउँपालिकामा सोमबार वडाध्यक्ष, बैंकका सुरक्षाकर्मीसहित ४ जनामा कोरोना रोगको संक्रमण देखिएसँगै यसअघि लगाइएको निषेधाज्ञाको क्षेत्र बढाउन जिल्ला संकट व्यवस्थापन केन्द्रले निर्णय गरेअनुसार प्रशासन कार्यालयले निषेधाज्ञा लगाइएको हो । हालसम्म नुवाकोटमा कोरोना संक्रमितको संख्या ६१ पुगेको छ । जिल्लाको विदुर नपा–८ र दुप्चेश्वर गापा–६ मा समुदायमा कोरोना संक्रमण फैलिएसँगै निषेधाज्ञा लगाउन थालिएको हो ।
नुवाकोटमा २५ गतेदेखि विदुर नगरपालिकासहित लिखु र सूर्यगढी गाउँपालिकाको सबै क्षेत्र र बेलकोटगढी नपा, ककनी, शिवपुरी र पञ्चकन्या गापाको केही वडामा १० दिनका लागि निषेधाज्ञा कायम गरिएको थियो । संकट व्यवस्थापन केन्द्रको सोमबार साँझ बसेको बैठकले निषेधाज्ञा प्रभावकारी बनाउन नेपाली सेनालाई परिचालन गर्न सिफारिस गरेअनुसार जिल्ला सुरक्षा समितिको बैठकले सेना परिचालन गर्ने निर्णय गरेको ढकालले जानकारी दिनुभयो ।