आशिषबहादुर सिंह बझाङ । जयपृथ्वी नगरपालिका-२ बस्ने वर्ष ४५ का गणेश खड्काले तरकारी खेतीबाट नै मासिक ९० हजार आम्दानी गर्ने गरेका छन् । गाउँमै बसेर तरकारी खेतीबाट मनग्गे आम्दानी गरी बेरोजगारले झेल्नु पर्ने समस्याबाट खड्का मुक्त छन् ।
खड्काले सानाेतिनो व्यवसाय र अन्य आम्दानीबाट कमाई गरेर जिल्लाको सदरमुकाम चैनपुरमा दुई तले पक्की घर पनि निर्माण गरिसकेका छन् । पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने युवाका लागि गतिलाे उदाहरण हुने गरी खड्काले तरकारी खेती स्थानीय बताउँछन् ।
'सानैदेखि केही गर्छु भन्ने साेच थियाे, लामाे समय चैनपुरमा घडी र रेडियाेकाे पसल सञ्चालन गरेकाे थिएँ, खड्काले भन्नुभयाे, 'अरूका लागि उदाहरणसमेत हुने गरी गरेकाे तरकारी खेतीका लागि कहीँ कतैबाट अनुदान नपाएकाेमा दुःख लाग्छ ।' सही काममा मूल्यांकन नहुने र सहयाेग नपाउने समस्या सबैकाे रहेकाे अर्का कृषाक करण सिंह बताउनुहुन्छ ।
कागजी प्रक्रिया पुरा गरेर अनुदान खानेहरू धेरै रहेकाे तर उनीहरूले कुनै खेती गरेका हुँदैनन् । खड्का भन्नुहुन्छ, 'अनुदान रकम लिनेहरू तरकारी किनेर खाने गर्छन्, उनीहरूकाे कृषि व्यवसाय नै हुँदैन ।' आफ्नाे व्यवसायमा कसैले साथ नदिएकाे बरू राति तरकारी नष्ट गर्ने, टनेलभित्रकाे तरकारीका बेर्ना चाेर्ने लगायतका दुःख दिने गरेकाेमा दिक्क लाग्ने गरेकाे खड्का बताउनुहुन्छ ।
अनुदान दिँदा अनुहार हेरेर नभइ खेती गरेकाे खेतबारी हेरे दिनुपर्ने उहाँकाे माग छ । स्थानीय तहबाट नै जनप्रतिनिधिले टाेलमा भएका कृषि व्यवसायलाई अनुदान दिन सके मात्रै वास्तविक किसानलाई राहत पुग्ने उहाँकाे भनाइ छ ।