सुखिलाल चौधरीउदयपुर । धान बालीमा हाल्न युरिया मलको जोहो गर्न उदयपुरका किसानलाई निकै कष्ट परिरहेको छ । कृषि सामग्री कम्पनी लिमिटेड गाईघाटलगायत एग्रोभेटहरुमा मलको अभाव भएपछि उदयपुरका किसान युरिया मल किन्न एक सय ३४ किलोमिटर साइकलको यात्रा तय गर्न बाध्य छन् ।
त्रियुगा नगरपालिका–३ का किसान रामकुमार चौधरीले गाईघाटदेखि लहान ३२ किलोमिटर र लहानदेखि भारतको सिमान लौकहा ठाडी ३५ किलो मिटर पार गरेर मल ल्याएका छन् । उनलाई ४५ किलो मल लिन जान मात्रै ६७ किलोमिटर लाग्यो भने आउन त्यतिनै दुरी पार गर्नु परेको छ । त्यसमाथि भारतबाट नेपाल प्रवेशमा पैसा नदिई जान आउन पाउँदैनन् । ठाउँ ठाउँमा प्रहरीको झमेला सहेर ल्याउनु परेको उनको गुनासो छ ।
सरकारले किसानलाई बेवास्ता गरेका कारण यस्तो अवस्था आएको उनको भनाइ छ । उनले भने, ‘मल नहाले धान फल्दैनन । धान नफले के खाने के गर्ने हो । मल लिन गएर आयो ठाउँ ठाउँमा झन्झट छ ।’
तीन महिनादेखि मलको पर्खाइमा बसे पनि पर्याप्त मल नआउँदा धान बालीमा मल हाल्न ढिला भएको भन्दै कृषक जोखिम मोलेर भएपनि भारतको लौकहा ठाडीबाट ल्याउनु परेको बाध्यता रहेको अर्का त्रियुगा नगरपालिका ६ का कृषक शिवकुमार चौधरी बताउँछन् । उनले भने, ‘सरकारले किसनाको समस्यालाई कहिल्यै बुझ्दैन । हरेक वर्ष मलको यस्तै अभाव हुन्छ । यो वर्ष त झन् यस्तो कोरोनाको त्रासबीचमा अभाव भएपछि बाध्य भएर महंगोमा मल किन्नु परिरहेको छ ।’
धान बालीमा हाल्नको लागि चाहिने युरिया मलको अभाव हुँदा उदयपुरका किसानले भारतीय युरिया मल महंगोमा किन्न बाध्य हुनु परेको हो । युरिया मलको अभावमा तस्करी गरी ल्याइएको भारतीय युरिया मल अहिले उदयपुरको सदरमुकाम गाईघाटका एग्रोभेटमा किसानले महंगोमा खरिद गर्दै आएका पनि छन् । कोरोना संक्रमणका कारण नेपाल भारत नाका पूर्णरुपले बन्द रहेको भए पनि भारतबाट लुकिछिपी तस्करहरुले लिएर आएको भारतीय मल १५ सयदेखि २ हजारमा किसानहरुलाई बेच्ने गरेका छन् ।
कृषि सामग्रीमा मल सकिएपछि स्थानीय बजारमा मूल्य भन्दा तेब्बर गुणामा मल किन्नु पर्ने परेको उदयपुर कटारी नगरपालिका–२ का किसान पन्नालाल अधिकारीले गुनासो गरे । प्रहरीकै मिलोमतोे अबैध मल भित्रिने गरेको स्थानियको आरोप छ । कटारी बजारमा रासायनिक मलको अभाव भएसँगै अहिले कालोबजारी गर्ने गिरोह भारतदेखि आउने अबैध मल बजारमा खुलेआम तेब्बर मूल्यमा बिक्री भइरहेको छ । कटारी बजारमा खुलेआम तेब्बर मूल्यमा बिक्री हुँदा समेत प्रशासन मौन बस्नु शंकास्पद रहेको उदयपुर जिल्ला कृषक महासंघ अध्यक्ष कुशल राउतले बताउनुभयो ।
नेपालमा सात सय ३८ रुपैयाँमा पाइने युरिया मलको अभाव भएकाले तेब्बर मूल्य तिरेर भएपनि भारतीय युरिया खरिद गर्नुको विकल्प नरहेको कृषकको भनाइ छ । यहाँका किसानले किन्ने गरेको तस्करमार्फत आएको भारतीय मल भारतीय बजारमा सात सय रुपैयाँमा पाइन्छ । तर तस्करले नेपालमा मल अभावको फाइदा उठाउँदै सात सय पर्ने भारतीय मल १५ सयदेखि २ हजारसम्ममा लुकिछिपी किसानलाई बिक्री गर्ने गरेका छन् ।
सिरहा र सप्तरीसँग सिमाना जोडिएका विभिन्न नाकाबाट लुकिछिपी तस्करले भारतीय मल साईकलमा लोड गरी ल्याउने गरेका छन् । धान बालीमा अहिले नै युरिया मल नहाले उत्पादनमा कमि आउने भएको तथा कतै पनि युरिया मल नपाएकाले २ हजारमा ४५ किलोको भारतीय मल किनेर बालीमा हालेको त्रियुगा नगरपालिका २ का किसान अमित चौधरीले बताए । जिल्लामा १४ हजार ७ सय ५० हेक्टर जमिनमा धान खेती गरिएको कृषि ज्ञान केन्द्र उदयपुरले जानकारी दिएको छ ।