प्रतीक पौडेलरुपन्देही । भैरहवामा भोलिदेखि एक साताका लागि लकडाउन गरिने भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि सिद्धार्थ नगरपालिकाले साउन ३१ गते रातिदेखि भदौ ५ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
लकडाउनको समयमा स्वास्थ्य सेवा, दमकल, सरसफाइलगायत अत्यावश्यक सेवाहरु भने सञ्चालन हुने नगरप्रमुख हरिप्रसाद अधिकारीले बताउनुभयो । खाद्यान्न, तरकारी, फलफूल तथा दुग्धजन्य पदार्थहरुको बिक्रीवितरण भने आवश्यक दुरी कायम गरी बिहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गरिने नगरपालिकाले जानकारी दिएको छ ।
त्यसैगरी बैंक, सहकारीलगायत वित्तीय संस्थाहरुले थोरै कर्मचारीमार्फत विद्युतीय माध्यमबाट मात्र सेवा सञ्चालन गर्ने र काउण्टर सर्भिस बन्द गरिने नगरप्रमुख अधिकारीको भनाइ छ ।
लकडाउनको अवधिमा औद्योगिक तथा निर्माणजन्य कार्यमा संलग्न कर्मचारी तथा श्रमिकहरुको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने, सुरक्षा मापदण्ड पालना गराउने दायित्व सम्बन्धित रोजगारदाताको हुने तथा नियम पालना नभएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही अगाडि बढाइनेछ नगर प्रमुख अधिकारीले बताउनुभयो ।
सिद्धार्थ राजमार्ग हुँदै जाने सवारीसाधनहरु नगर क्षेत्रभित्र रोक्न नपाइने र खाद्यजन्य पदार्थको लोड/अनलोड गर्ने ढुवानीका साधनले सुरक्षा अपनाई सुरक्षाकर्मीको रोहवरमा बेलुकी ७ बजेदेखि ११ बजेसम्म कार्य गर्न पाइने उहाँको भनाइ छ ।
लकडाउन शुरु हुनुअघि नै सिद्धार्थनगरमा आउनु पर्नेहरु आइसक्न र बाहिर जानेले गइसक्न नगरपालिकाले आग्रह गरेको छ ।