काठमाडौं । राजनीतिक शक्ति र पहुँचको भरमा ठेक्का हातपार्ने तर काम नगर्ने मध्येका एक ठेकेदार हुन् शारदाप्रसाद अधिकारी । राजनीतिक संरक्षणकै आधारमा काम नगरे पनि छुट पाउने ठेकेदार हुन् अधिकारी । अधिकारीलाई न ऐन–निमयबारे ख्याल हुन्छ, न त नियमनकारी निकायले कारबाही गर्न सक्छ । शैलुङ कन्स्ट्रक्सनका प्रमुख अधिकारीले धेरै ठेक्का लिएर काम अलपत्र पारेका छन् । जसमध्ये एक हो, सूर्यविनायक–नगरकोट सडक खण्ड । त्यो सडकको लम्बाई जम्मा १५ दशमलव ६ किलोमिटर मात्रै छ ।
पर्यटकीय क्षेत्रनगरकोट जाने सडकको स्तरोन्नति गर्न २०७१ असार २ गते शैलुङ कन्स्ट्रक्सनले जिम्मा लियो । शैलुङले भारतीय निर्माण कम्पनी एआइपिएलसँगको ज्वाइन्ट भेन्चरमा ३१ करोड ५२ लाख ९२ हजार २ सय २० रुपैयाँमा ठेक्कालिएको थियो । सम्झौता अनुसार ठेकेदार कम्पनीले २०७३ असार ४ गते सडक निर्माण गरेर हस्तान्तरण गर्नुपर्ने थियो । समयमा काम नसकिएपछि २०७४ कात्तिक ४ गतेसम्मको लागि समय थपियो तर काम सम्पन्न भएन । फेरि २०७५ जेठ ३० सम्मको लागि समय थपियो । यस अवधिसम्म निर्माण कम्पनीले १४ करोड भुक्तानी पाइसकेको छ। निर्माण कम्पनीले २०७६ चैत १७ गतेसम्मको म्याद थप्न माग गरे पनि आयोजनाले यथोचित कारण नभएको भन्दै प्रक्रिया अगाडि बढाएको छैन । हालसम्म ६५ प्रतिशत मात्रै काम भएको आयोजनाले जनाएको छ । ७ वर्षको अवधिमा शैलुङले काम अलपत्र पारेपछि ठेकेदारविरुद्ध स्थानीय आन्दोलित भएका थिए । उनीहरुले ठेकेदार अधिकारीलाई लज्जित बनाउने खाले पोस्टर सार्वजानिक गरेका छन् । त्यसपछि केही हच्किएर काम शुरु गरेको निर्माण कम्पनीले फेरि कामै गर्न सकेन । जसले यो दृश्य पनि पुष्टि गर्छ ।
यता लामो समयसम्मसडक निर्माण नभएपछि स्थानीयले सास्ती व्यहोर्नु परेको छ । ठेकेदार अधिकारीले नै बुढानिलकण्ठ नगरपालिकामा मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र ओभरहेड ट्याङ्की निर्माण कार्य पुरा गर्न सकेका छनैन् । निर्माणको ठेक्का पाएको १ सय ५० किलोमिटर पाइपलाइन मध्ये शैलुङले जम्मा साढे चार किलोमिटर मात्र पूरा गरेको छ । ओभरहेड ट्याङ्कीको त जग खन्ने कामै शुरु भएको छैन । शैलुङले भारतीय कम्पनी सिआइपिइएलसँग मिलेर १ अर्ब ४१ करोड ६९ लाख २२ हजार रुपैयाँमा काम शुरु गरेको थियो ।
जगडोल राष्ट्रिय शहीदपार्क सडक निर्माण सुधार आयोजनाको सुन्दरबस्ती–आदर्शनगर चुनिखेल–टुसाल सडक पनि शैलुङले अलपत्र पारेको छ । ३ करोड ९६ लाख ४१ हजारको त्यो आयोजना २०७२ अनुसार ३ गते सम्झौता भई २०७५ असोज १९ मा सक्ने लक्ष्य थियो । आयोजनाको अनुसार काम ६० प्रतिशत मात्रै काम सकिएको छ ।
पाण्डेश्वर मन्दिर सडक अन्तर्गतको सिद्धार्थमार्ग–बुद्धनगर– रत्नराज्य स्कुल सडक पनि शैलुङ कन्स्ट्रक्सनले नै जिम्मा लिएको हो । ३ करोड ४७ लाख ९१ हजारको त्यो आयोजना २०७२ असार३ गते सम्झौता भई २०७४ साउन २० गते सक्ने लक्ष्य थियो तर काम २७ प्रतिशत मात्रै सम्पन्न भएको छ। यता साततले –आकाशेधारा वालुवाखानी सडकको कपन सडकको हालत पनि उस्तै छ । दिवा निर्माण कम्पनीसँग मिलेर शैलुङले उक्त सडकलाई अलपत्र पारेको हो । २० करोड ३३ लाख ८८ हजारको योजना २०७५ जेठ महिना भित्रसम्पन्न गर्नु पर्ने थियो। तर ४० प्रतिशत मात्रै सम्पन्न गरेको देखिन्छ। आकाशेधारा राममन्दिर कृष्ण मन्दिर सडक निर्माण पनि २०७३ असारभित्र सक्नु पर्ने जम्माजम्मी ३० प्रतिशत मात्रै काम सकिएको छ।
बोहराटार हुँदै वनस्थली स्कुल रिङरोड जाने सडकमा पनि सम्झौता अनुसार काम हुन सकेको छैन । कलंकी–त्रिपुरेश्वर सडकको दोस्रो प्याकेज सोही सडकको तेस्रो र चौथो प्याकेजको काम पनि पूरा हुन सकेको छैन। यता इमाडोल–सिद्धिपुर–गोदावरीखोला–लुभु सडकको पहिलो प्याकेज पनि अलपत्र छ। दिवा–शैलुङ जेभीले ३२ सय मिटर लामो सडक बनाउनै सकेनन । यसरी शैलुङले राजधानी भित्रैका विभिन्न स्थानका ९ सडकको प्रगति सन्तोष जनक छैन ।
बालाजुबाट रानीपौवा हुँदै त्रिशुलीको पिपलटार पुग्ने सडकको अवस्था पनि उस्तै छ । करिब ५६ किमीको यो सडकलाई दुई खण्ड बनाएर ठेक्का लगाइएको छ। २०७०–७१ सालमा ठेक्का लागेको यी दुई खण्डको कामको प्रगति पनि सन्तोषजनक छैन । दुई वर्षमा सक्ने भन्दै ठेक्का लगाएको भए पनि आधा पनि काम हुन सकेको छैन् । यसरी एकै व्यक्तिलाई ठेक्का दिने अनि काम नगर्ने प्रवृतिले आर्थिक, राजनीतिक सामाजिक गतिलाई नै दूषित पारिरहेको छ ।
समयसीमा पनि गुजारे पेश्की रकम तान्ने, सम्झौता रद्ध गर्ने, बैंकबाट पैसा फिर्ता लिने र कालोसूचीमा राख्ने नियम छ । शैलुङले सार्वजानिक खरिद ऐनको धज्जी उडाएको छ । सम्झौता अनुसार काम नगरेको कारण ‘क’ वर्गको पप्पु कन्स्ट्रक्सन कालो ससूचीमा समेटिदा त्यही शैलीकै शैलुङ कन्स्ट्रक्सनलाई भने कारबाही गरिएको छैन ।https://youtu.be/Pgldd_S2Erg