काठमाडौं । आइसीसी एकदिवसीय क्रिकेट बिश्वकप छनौटमा नेपालले आइतबार आयोजक जिम्बाबेको सामना गर्दैछ । डिभिजन टु को उपबिजेता बन्दै छनोटमा स्थान बनाएको नेपालले ९ पटक बिश्वकप क्रिकेट खेलीसकेको आयोजक जिम्बाबेबिरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।
जिम्बावे र नेपालबीचको खेल नेपाली समय आइतबार दिउसो सवा एब बजे जिम्बावे स्थित क्वीन्स स्पोर्ट्स क्लब बुलावायोमा सुरु हुनेछ । डिभिजन टु खेलेर स्वदेश फर्किएको एकसातापछि जिम्बाबे पुगेको नेपाली टोलीले यसअघि जिम्बावेमा युएइसंग अभ्यास खेल खेलेको थियो ।
युएईसँगको खेल नेपालले ५ विकेटले जितेको थियो । युएईसँगको जीतका क्रममा केहि सुधारिएको ब्याटिङ प्रदर्शन गरेको नेपाल आयोजकबिरुद्ध जित निकाल्ने रणनितीमा छ । जिम्बेसँग जीत निकाल्न सके नेपालकालागि सिनियर लेभल क्रिकेटमा सबै भन्दा ठुलो जीत हुनेछ ।
१० टोलीको सहभागिता रहेको छनौटमा नेपाल र जिम्बाबेसँगै अफगानिस्तान, स्कटल्याण्ड र हङकङ समूह बी मा रहेछन् । नेपालले टेष्ट मान्यता प्राप्त राष्ट्रसँग एकदिबसीय खेल खेल्न लागेको यो पहिलो पटक हो ।
सन् १९८३ दखि निरन्तर एकदिबसीय बिश्वकप खेल्दै आएको जिम्बावेले यसअघि ३ पटक बिश्वकप छनोटको उपाधि जितिसकेको छ । नेपाल र जिम्बावेको सिनियर टोली पहिलो पटक भिड्न लागेपनि यू–१९ बिश्वकपमा भने जिम्बावेलाई हराइसकेको छ ।
सन् २००८ मा भएको यू–१९ वर्ल्ड कपमा अहिलेका राष्ट्रिय टोलीका कप्तान पारस खड्काकै कप्तानीमा रहेको नेपालले जिम्बावेलाई २ विकेटले पराजित गरेको थियो । फागुन २४ गते स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने नेपालले २६ गते अफगानिस्तान र समूह चरणको अन्तिम खेलमा हङकङसँग खेल्नेछ ।
समूह बी मा परेको नेपालले समूह चरणको शीर्ष तीनभित्र रहन सके सुपर सिक्स चरणमा प्रवेश पाउनेछ । सुपर सिक्समा प्रवेश गरे नेपालले एक दिवसिय अन्तर्राष्ट्रिय मान्यता पाउने छ । लिग चरणमा पुछारको दुर्ई स्थानमा पर्ने टोलीहरु डिभिजन टुमा घटुवा हुनेछन् ।