राजन पौडेलपर्वत । नेपालमा माध्यमिक तहको शिक्षा हासिल गरेपछि उच्च शिक्षाका लागि विदेशिने होड चलिरहेको छ । बढ्दो बेरोजगारी समस्याका कारण पनि खाडी मुलुक जानेको ताँती नै लाग्ने गरेको देखिन्छ । यसका बाबजुद पनि देशमै रहेर कृषि क्षेत्रमा क्रान्ति गरिरहेका पर्वत कुश्मा नगरपालिका–९ कटुवा चौपारीका बिदुर लामिछाने गाउँमा उदाहरण बनेका छन् ।
उनी साहस, मेहनत र जाँगर भए देशकै माटोमा सुन फलाउन सकिन्छ भन्ने मान्यताले काम गरिरहेका छन् । लामिछाने स्नातकोत्तरको प्रमाणपत्र दराजमा थन्क्याएर कृषिमा रमाइरहेका छन् । उनी भन्छन्, ‘ बाबाआमा कृषक भएको र हाम्रो देश पनि कृषिप्रधान भएको हुँदा मैले विदेशी मोह त्यागेर आफ्नै देशमा आफ्नो भविष्य कृषि पेशामा खोजेको हु ।’ पढाई पूरा गरेर साथिहरु विदेश, जागिर भन्दै दौडिदै गर्दा लामिछानेले भने आफ्नो बाबुले गरेको फर्निचर व्यवसायमा सघाउन र सफल व्यवसायीको रुपमा स्थापित हुनका लागि गाउँमा नै फर्किए ।
२०६५/०६६ सालमा शुरु गरेको फर्निचर व्यवसाय सगैँ पशुपालनतर्फ पनि आकर्षित भए । उनको फार्ममा प्रस्थान गरेपछि हत्तपत्त कसैलाई निस्किन मन लाग्दैन । कुखुराको चिरबिर, नजिकै माछा पोखरी सगैँका हाइटेक टनेलको लस्करमा देखिने हिमाली दृश्य साच्चिकै मनमोहक देखिन्छ लामिछानेको कृषि फम ।
बुबाले गरेको व्यवसायमा पनि लामिछानेले सघाँउदै एकपछि अर्को माछा, पशुपालन, पोल्ट्री फम सँगै टमाटर र मौसमी तथा बेमौसमी तरकारी उत्पादनको लागि १३ रोपनि जग्गामा व्यवसाय गरेका छन् । ‘मैले शिक्षामा स्नातकोत्तर गरे पनि कुनै पनि काम गर्न सरम नमान्ने भएको हुँदा र अरुको काम गरेर दास बन्नु भन्दा आँफै मालिक बन्नु पर्छ भन्ने विचारले मैले यो पेशा अंगालेको हु ।’ लामिछाने भन्छन्, ‘नेपाली दाजुभाई दिदीबहिनी अर्काकोमा जागिर गर्दा ठूलो हुने र आँफै केही न केही गर्न हिच्कीचाउने स्वाभावको हुनुहुन्छ, त्यसैले जस्तो सुकै भएपनि आँफै उद्यमी आँफै मालिक हुने सोच राखेर अघि बढ्न आग्रह गर्छु ।’
गर्न सके नेपालमा नै जापान, कोरीया, अमेरिकामा कमाउने जति आय आर्जन गर्न सकिने उनको भनाइ छ । उनी बिहान सबेरै देखि आफ्नो फममा नै व्यस्त हुन्छन् । उनले ४ जनालाई रोजगारी समेत दिएका छन् । टनेल, पोल्ट्री फम, माछा पालन र यातायातको साधन खरिदमा एक करोड ५० लाख भन्दाबढी लगानी गरेको लामिछानेको भनाइ छ ।
उनले सम्पूर्ण खर्च कटाएर वार्षीक ८ लाख वचत गर्न सकेको बताए । उनले देशमै केही गर्न चाहनेका लागि दिगो सोचका साथ व्यवसाय गर्न सुझाव दिएका छन् । कृषि कर्ममा दुख नदेखि अरुको सफलता मात्र देखेर हाम फाल्नेहरु छोटो समयमा नै पलायन हुने गरेको सुनाउँदै आफूले गर्न चाहेको क्षेत्रका बारेमा राम्रोसँग बुझेर मात्र हात हाल्न सुझाव दिन्छन् । मेरो स्तरले यो काम गर्न सुहाउँदैन भन्ने सोचलाई पूर्ण रुपमा त्यागेर सानो व्यवसायको सुरुवात गर्दै शुरुमै ठूलो सपना नदेखी अगाडी बढ्न उनी सबैलाई सुझाव दिन्छन् ।
लामिछानेले व्यवसाय शुरु गरेदेखि अहिलेसम्म कुनै पनि खालको सरकारले प्रदान गर्ने अनु्दान नपाएको बताउँछन् । अनुदान पाउनकै लागि व्यवसाय गर्नेहरु र पहुँचको भरमा त्यस्ता खालका कार्यक्रम पारेर अनुदान पाएपछि व्यवसाय छोड्नेहरु भएकाले वास्तविक किसानहरु मर्कामा परेको उनले बताए । ‘काम गर्ने कालु र मकै खाने भालु’ जस्तै हुदाँसरकारले अनुगमनलाई कापिमा मात्र सिमित गर्दा दुख लागेको दुखेसो गरेका छन् ।