अछाम । रामारोशन गाउँपालिकामा कैलाश खोलाले बगाएका १७ मध्ये ६ जनाको शव भेटिएको छ । खोलाले बगाएकाहरु ११ जना अझै बेपत्ता छन् । बेपत्ता रहेका ११ जनाको खोजी भइरहेको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिनुभएको छ ।
बाढीले चन्द्रबहादुर साउद, बसुन्धरा साउद, नन्द सिंह साउद, गंगा साउद, रुपेश साउद, जोगा साउद, नवीन साउद, कविता बुढा साउद, अमर बहादुर शाह, पवित्रा शाह, समिर शाह, लालसरा शाही, बसन्त शाही, गौरी शाह, सम्झना शाह, प्राप्ति साउद, बिमा साउदलाई बगाएको हो ।
४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको छ । २ जनाको शव मंगलसेन नगरपालिका वडा नम्बर ३ मा पर्ने लमतणा र सेरीमा भेटिएको स्थानीय प्रकाश कुँवरले जानकारी दिनुभएको छ । मंगलबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीका कारण रामारोशन गाउँपालिका सैनीबजार र छेउछाउका बस्ती बगाएको हो ।
बाढीले सैनीबजार र छेउछाउका करिब २५ घर बगाएकोे प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभएको छ । बेपत्ताको खोजी कार्यमा सेना, नेपाल प्रहरी र बासिन्दा जुटेका छन् ।