तीज नाचगानको पर्व मात्रै होइन, यसका बहुआयाम छन् । यो महिलाहरुले धानेको सांस्कृतिक पर्व हो । तीज नारी चेतनाको स्वर हो । यो विद्रोहको पर्व पनि हो । यो प्रेमकाे प्रतीक पनि हो । यो अन्तर जातीय विवाहले मान्यता पाएको पर्व पनि हो । यो महिला आन्दोलन र परिर्वतनको पर्व पनि हो । यो सामाजिक मेलमिलाप, सौहार्दतायुक्त पर्व पनि हो, माइतीपक्ष र घरपक्षलाई जोड्ने अनि छोरीचेलीहरुलाई माया–ममताले जोड्ने पर्व पनि हो । तीजलाई मनसुनका समयको हरियालीको पर्व पनि भनिन्छ ।
पौराणिक मिथकमातीजको पौराणिक मिथक वा इतिहासलाई हेर्दा हजारौं वर्षअघि शिव र पार्वतीसँग यसको सन्दर्भ भेटिन्छ । पार्वतीले शिवलाई पति पाउँ भनी आराधना गरेर शिव खुशी भइ उनीहरुको जोडी बनेको धार्मिक आख्यान चर्चित छ । आर्य र किरात कूलका यी दुई जोडी विवाह बन्धनमा बाँधिएको खुशियालीको पर्व भएकोले यसलाई अन्तरजातीय विवाहले मान्यता पाएको दिवस हो । यस दिन महिलाहरुले केही नखाइ व्रत बस्ने चलन छ । यस दिनको व्रतले आफ्नो श्रीमानको आयु लम्बिन्छ र परिवार र छोराछोरीको स्वास्थ्य राम्रो हुने परिवारमा सुखशान्ति मिल्ने मान्यता रहिआएको छ । वस्तुतः अघिल्लाे दिन दरको रुपमा धेरै गरिष्ठ खाना खाएका कारणले अर्को दिन उपवास बस्ने कुरालाई धार्मिक आवरण दिइएको हुनसक्छ ।
महिला स्वतन्त्रता र विद्रोहको स्वर तीज पूजा आरधाना मात्र नभएर मनको बह पाेख्ने, दु:ख बिसाउने पर्वको रुपमा विकसित हुँदै आयो । हाम्रा आमा–हजुरआमाहरुले यस पर्वलाई मनमा गुम्सिएर रहेका उकुसमुकुसलाई बाहिर ल्याउने माध्यमको रुपमा प्रयोग गरेको पाइन्छ । घरको कामले दिक्क भएका महिलाहरु दुई दिन भए पनि माइतमा गएर खुशी हुने आफ्ना मनका दु:ख र पिरलाई पोखेर मन शान्त पार्ने पर्वको रुपमा यो दिन अगाडि बढ्यो । अरुबेला आफूले पाएका दुःख–पिरलाई समाजमा भन्न नसक्ने महिलाहरु यस दिन गीतको माध्यमबाट आफ्ना वेदना पोख्थे । माइतीमा गएर मजाले नाच्ने गाउने र मन हलुकाे बनाइ दु:ख र सुख साट्ने गरिन्थ्यो । त्यसैले मनका व्यथा अरुसामु निर्धक्कसँग भन्न सक्ने दिन तीजलाई महिला स्वतन्त्रताको सुरुवातको पर्व भन्न सकिन्छ । त्यसैले यो पर्व महिलाले आफनो निर्णय आफै गर्न सुरुवात गरेको पर्वको रुपमा पनि यसलाई लिन सकिन्छ ।
पहिले पहिले गाइने तीजको गीतका केही पंक्ति यस्ता हुन्थे–(१) हाम्रा बाबाले दिएको दाइजो थाल र कचौरा झालेमाले गाई, कैले कैले म माइत आउँदा गारो– पीरो नमाने कान्छा मेरा भाइ
(२) आँगनै मा सिमली पर्यो बरिलै कदमको छायाँले अर पनि दर पनि छाडि आयाँ घर पनि बरिलै बा–आमाको मायाँले
(३) अर्गलीको तेर्सो बाटो हिँड्दा हिँड्दे फेरो बरिलै कैले पनि नभने है सौतै पोइलाई मेरो बरिलै
(४) थुंगेसरी फुलफुल्यो फुलि रहयो बासी बरिलै ।। छोरीको जातलाई जन्म नदेउ आमा । हुनलाई अरिकाको दासी बरिलै ।।
(५) सानो सानो काकरीको बतिलो फैलेर फलेको बोडी बरिलै । आफ्नो काम म आफै गर्नेछु मिलाइदेउ बाबाले जोडी बरिलै ।।
(६) चोली मेरो मखमली , कोखा पारी सिउनी बरीलै दुखी घर दियौ मलाई बाबा , लेखाई देउन जिउनी बरिलै ।।
(७) कति राम्रा एडिबाला जुत्ता चुइ चुइ रेलैमा चुइकाउला । तिम्रो हाम्रो माया पिरिम बसो सुइ सुइ रेलैमा सुइकौला ।।
परिर्वतनको सम्वाहक तीज पछिल्ला वर्षमा तीजलाई परिर्वतनको सम्वाहकको रुपमा प्रगतिवादी महिलाहरुले प्रयोग गरेको पाइन्छ । तीज मनका दुःख पोख्ने र परिवारको थिचो–मिचोलाई मात्र पोख्ने मात्र नभएर समाजका विकृति विसंगतिलाई पनि बाहिर ल्याउने माध्यम बन्यो । अब तीज महिला हक अनि अधिकार खोजी गर्ने दिनको रुपमा अगाडि बढेको छ । महिलाहरु दु:ख वेदनाका मात्र नभएर सुशसासन, महिला हक, सामाजिक न्याय अनि अग्रगामी विकासका गीत तीजको मौसममा महिना दिनसम्म प्रयोग हुन थाले । पञ्चायती व्यवस्था विरुद्धका आवाज पनि महिलाहरुले यसैदिन उठाउन थाले । गीतको माध्यमबाट समाजमा जागरण ल्याउन यो पर्वको आफनै विशेषता रहेको छ । केही परिर्वतनमुखी र विद्रोहका स्वर यस्ता छन् । कुनै समय हतियारलाई नै मुक्तिको माध्यम मान्दै विद्रोहको स्वर यस्तो हुन्थ्यो–
आउ रे आउ रे दिदी बैनीबन्दुक हान्न सिकौ है आजै दिनमा ।।फुटी हैन जुटेर, फुटि हैन जुटेरआफनो हक लिउ है आजै दिनमा ।।। पारिवारिक थिचोमिचोको विरुद्धमा– वर्ष दिनका तीजमा नजा भन्दै फकाउँछन् चिल्ला भाडा मझाउन र घाँस कटाउन । किन माझ्थे चिल्ला भाडा जान्छु खोली तरेर नबस है दिदी बैनी भर परेर ।
दुःख–पिरका केही उदाहरण घर त मेरो यहा होइन मालेपाटा पल्ला छेउ कसले भन्यो बाबालाई छोरी त्यहा दिउ ? रुदै रुदै गएर पिडिमा बसुला, कस्कोे मुख हेरेर भित्र पसुला ।
मन नपरेको श्रीमान र सासूबारे यस्तो गीत हुन्थ्यो–स्वामी मुख हेरौँ भने खुन खाएका बाघ झै, सासु मुख हेरौ भने पोल्ने आगा झै । बाहिर–बाहिर देख्नलाई घर त मेरो हिरा छ, भित्र–भित्र मेराे मनमा ठूलो पिर छ ।
मनसुनको पर्वःतीज पर्वलाई मनसुनको पर्व पनि भनिन्छ । नेपाल कृषिप्रधान देश भएकोले कति पर्व कृषिसँग सम्बन्धित छन् । जस्तै उधौली, उभौली, खेती लगाउने र बाली स्याहार्ने पर्व । त्यस्तै तीजलाई पनि कृषिको पर्व भन्न सकिन्छ । नेपालीहरुको मुख्य बाली धान, मकै, कोदो हुन् । मनसुनी समयमा रोपाइ सकेर खेतबारीमा हरियालीले छाएको, खेतबारी र पाटामा तरकारी र फलफूल लटरम्म भएको, बारीमा मकै पाकेको, गोठमा गाईभैंसी दुहना भएको रसिलो समय हो । नेपालीको घरमा दूध फलफूल तरकारी र अन्न्पात भित्रिएको यो सुनौलो मनसुनी समयलाई नेपाली महिलाले नाचगान गरेर स्वागत गर्ने परम्पराको थालनी भएकोले यो पर्वलाई मनसुनी पर्व पनि भनिन्छ ।
गैरी खेतका घुमाउरा आली छेक्दै–टेक्दै रोपाैँ बरिलै । हामी पनि के कुरामा कमी छौ हाम्ले नी चन्द्रमा टेकौं बरिलै
तीज एक पृथक काव्य–साहित्यजसरी साहित्यले समाजका विविध पक्षलाई उजागर गरेको हुन्छ, साहित्य पढेर मानिसले कुनै पनि समाजको यथार्थ तत्व थाहा पाउछ, त्यसै गरी यो तीजका गीतबाट समाजको यथार्थलाई बाहिर ल्याउन मद्धत पुगेको छ । महिलाहरुले आफ्ना विविध अनुभव र भोगाइ, समाजका विकृति –विसंगतिलाई गीतको माध्यमबाट बाहिर ल्याइरहेका छन । कुन बेला कस्ता गीत रचिए ? कुन समाजमा कस्तो रीतिरिवाज थियो ? कस्तो रहनसहन र व्यवहार थियो भन्ने कुरा तीज गीतले नै बाहिर ल्याउने हुँदा यसलाई साहित्यको एउटा पाटोको रुपमा अध्ययन गरिनुपर्छ । महिला मात्रले धानेको यो पर्वको साहित्यिक महिमालाई अझै उचो बनाउन जरुरी छ ।
चार्डपर्व, रीति–रिवाज, रहनसहन, भेष –भूषा र भाषा सबै नेपाल र नेपालीका साँस्कृतिक गौरव अनि पहिचान हुन् । यिनैले हाम्रो राष्ट्रलाई विश्वमा चिनाएका छन् । चार्डपर्व मनाउने कुराको गहिरो इतिहास यसैसँग जोडिएको छ कि चाडपर्व मनाउनु भनेको नयाँ पुस्तामा यसको महत्वलाई हस्तान्तरण गर्दै जानु पनि हो । यदि नयाँ पुस्तामा संस्कृतिका राम्रा पक्ष हस्तान्तरण गर्न छाडियो भने ती एक दिन हराएर जानेछन् र राष्ट्रको पहिचान गुम्ने छ । संस्कृति हराए राष्ट्र हराउाछ भन्ने कुरा सबैले जान्न जरुरी छ । तर चाडपर्वका नाममा आफ्नो औकातलाई भुलेर तडक–भडक भने गर्नु हुँदैन । आफूसँग जे छ त्यही खाएर–लाएर मनाउादा नै हाम्रो गौरव बढ्ने छ । यही कुरालाई सबैले मनन गरौ । महिनौदेखि नाच गानमा रमाउने दिदी–बैनीहरु यो वर्ष कोरोनाको कहरले आ–आफ्नो घरमा थन्किनु परेको दुःखद यथार्थ छँदैछ । हामी बाच्यौँ भने अर्र्कौ साल तिज मनाउँला । यो वर्ष आ–आफ्नै घरमा बसौ, घरमै मनाउँ । सिर्जनशील दिदी–बैनीहरुलाई यो कोरोना कहर, यसले पार्ने असर र यसबाट बच्ने उपायका बारेमा गीत लेखेर चेतना फैलाउन अनुरोध गर्न चाहन्छु । सबै आमा, दिदी–बैनी, दाजु–भाइहरुमा तीजको हार्दिक शुभकामना ।