काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस जोखिमयुक्त ठाउँलाई निस्संक्रमण गर्ने कार्यलाई तीब्रता दिएको छ । महानगरले कोरोना नियन्त्रण र रोकथामका लागि निस्संक्रमण (डीस–इन्फेक्टेन्ट) कार्यलाई निरन्तरता दिएको हो ।कोरोना फैलिन नदिन संक्रमण देखिएका र जोखिमयुक्त क्षेत्रसँगै सार्वजनिक स्थानमा निसंक्रमण कार्यलाई निरन्तरता दिएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले कोरोना महामारीसँगै टेकु, वीर अस्पताल, कालीमाटी फलफूल बजार लगायतका स्थानमा शुरुदेखि नै ‘डीस–इन्फेक्टेन्ट’लाई निरन्तरता दिदैँ आएको थियो । संक्रमण देखिएका ठाउँ, अस्पताल क्षेत्र र सार्वजनिक क्षेत्रमा निसंक्रमण गर्ने कार्यलाई अहिले पनि निरन्तरता दिएको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ । यसका लागि दैनिक १० वटासम्म सवारी र उपकरण परिचालन गर्ने गरिएको नगर प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभएको छ ।
‘कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा डिस–इन्फेक्टेन्ट गर्ने र दैनिक ५ वटा टोलीले त्यस सम्बन्धी चनचेतनामुलक सन्देश सम्प्रेषणका लागि माइकिङ गर्ने कार्य गर्दै आएको छ,’ उहाँले भन्नुभयो, ‘प्रत्येक वडासँग समन्वय गर्न ५ वटा अनुगमन टोली समेत परिचालन गरेका छौँ ।’ गर्मी मौसममा डेंगुलगायतको प्रकोप पनि बढ्ने भएकाले त्यसको नियन्त्रणका लागि समेत प्रभावकारी हुने हुँदा डीस–इन्फेक्टेन्ट गर्ने कार्यलाई निरन्तरता दिएको नगर प्रमुख शाक्यको भनाई छ ।
नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाले पनि संक्रमण देखिएका ठाउँ, अस्पताल क्षेत्र र सार्वजनिक ठाउँलाई निसंक्रमण गर्ने कार्यलाई अहिले पनि निरन्तरता दिदैँ आएको बताउनु भयो । ‘मुख्य गरेर कालीमाटी, बल्खु लगायतका बढी भिडभाड हुने तरकारी बजार, महानगरीय ट्राफिक प्रहरी महाशाखा, अस्पताल क्षेत्र र कोरोना संक्रमित भेटिएका ठाउँलाई प्राथमिकतामा राखेर निसंक्रमण गर्ने कार्यलाई निरन्तरता दिएका छौँ,’ उहाँले भन्नुभयो, ‘एकसरो काठमाडौँ महानगरका ३२ वटै वडामा पुगिसकेका छौं । वडाबाट माग भएका ठाउँमा पठाउने गरेका छौं ।’
निसंक्रमण गर्ने प्रचलित मापदण्ड बमोजिमको रसायन प्रयोग गरेर काम गरिरहेको उहाँले जानकारी दिनुभयो । ‘जनस्वास्थ्य सुरक्षाका लागि यो जरुरी छ । यसलाई हामी भाइरसको संक्रमण निस्तेज नहुञ्जेल जारी राख्छौं,’ उहाँले भन्नुभयो ।