काठमाडौं । विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणका कारण स्वदेशमा मात्र नभई विदेशमा समेत उद्योग धन्दा कलकारखाना एवं व्यवसाय बन्द हुँदै गएका छन् । कोरोनाले ठूलो संख्यामा युवा बेरोजगार भइ घर फर्किनेक्रम बढेसँगै रोजगारी र स्वरोजगारी उपलब्ध गराउने कार्य ठूलो चुनौती बनेको छ ।
कोरोना भाइरस संक्रमणबाट विश्वभर रोजगारी गुम्ने खतरा बढेसँगै सरकारले रोजगारी सिर्जना गर्न नयाँ विशेष कार्यक्रम ल्याउनुपर्ने देखिएको छ । महामारीमा सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने त छँदैछ अर्कातिर रोजगारी उपलब्ध गराएर अर्थतन्त्रका विभिन्न क्षेत्रलाई चलायमान गर्नु आजको चुनौती हो ।
देशबाहिर रहेका नेपालीको रोजगारी पनि ती देशको आर्थिक स्थिति खस्किनाले संकटमा परेको छ । महामारीकाबीच सरकारले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्ष नियुक्त गरेको छ । सरकारले कोषको उपाध्यक्षमा डा. देवराज रोकालाई नियुक्त गरेको हो । उद्योगधन्दा एवं सेवा क्षेत्रमा रोजगारी कटौती हुँदै गएको अहिलेको अवस्थामा युवा निराश भइरहेको समयमा नयाँ नियुक्ति भएको हो । यस्तो अवस्थामा सुरक्षित तवरले कोभिडले थपेको चुनौतीबीच सम्भावना खोजेर सरकारले आफ्ना योजना अगाडि बढाउने कोषका उपाध्यक्ष डा. रोका बताउनुहुन्छ ।
सुखी नेपाली, समृद्ध नेपाल निर्माण गर्ने राष्ट्र निर्माणको ऐतिहासिक राष्ट्रिय लक्ष्य हासिल गर्न देशमा भएका सम्पूर्ण युवा शक्ति र स्रोत साधनको परिचालन गर्ने भनेको सरकारले देशको युवा जनशक्तिलाई स्वरोजगार बनाउन पहलकदमी गर्दै आएको भनेपनि आशातित सफलता प्राप्त गर्न सकेको छैन । कोरोनाका कारण झन् यसमा प्रहार भएको छ ।
नेपालमा वर्षेनी ५ लाख भन्दा बढी श्रम गर्न सक्ने युवा श्रम बजारमा आउँछन् । सक्रिय जनशक्तिलाई देशमा नै रोजगारी सिर्जना हुन नसक्नाले वर्षेनी लाखौं संख्यामा युवा शक्ति रोजगारको लागि विदेशिने गरेको यथार्थ हामी बीच छ । अहिले कोरोनाको कारण सबैतिरको रोजगारीको समस्या बढ्दा युवाको छटपटीलाई सरकारले यथोचित सम्बोधन गर्नैपर्छ ।
कोरोनाको कारण उत्पन्न समस्याले दैनिक हजारौंको संख्यामा रोजगारीका लागि विदेश भौतारिनु पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने पाठ सिकाएको छ । यो बेला अप्ठेरोमा परेका कामदार वा श्रमिकका निम्ति तत्काल राहत उपलब्ध गराएर उनीहरुको जीवन जोगाउनु सरकारको दायित्व हो ।