काठमाडौँ । माओवादी केन्द्रका युवा नेता हिमाल शर्माले जनयुद्धको समयमा तत्कालीन शाही नेपाली सेनाको भैरवनाथ गणमा २७ महिनासम्म नारकीय जीवन बिताए ।माओवादी नेता कार्यकर्तालाई यातना दिएर तथा बेपत्ता बनाएर ‘कुख्यात’ बनेको भैरवनाथमा बस्दा शर्माले बाँचेर फर्किन्छु भन्ने सोचेका थिएनन् ।मान्छेले प्राण धान्न जे पनि गर्छ । उनले त्यही गरे, सेनाले खाना र पानी समेत नदिइ यातना दिँदै राख्दा उनले आफ्नै दिसापिसाबले ढाडिएको गुन्द्री चपाएर पनि भोक मारे । ‘छेवैको साथीको मृत्यु भएर कुहिँदासम्म थाहा पाएनौँ’, उनले ती दिनमा फर्किँदै सुनाए । आफूले भैरवनाथबाट बाँचेर फर्किँदा ल्याहारकाल लामा जस्ता ‘बदनाम’ व्यक्तिहरुले पार्टीमा रजगज गर्लान् भन्ने कल्पना पनि गरेका थिएनन् ।भैरवनाथ दल गणमा २७ महिना यातना भोगेर बस्दा उनले लगातार २३ दिनसम्म खान पाएनन् । खान नपाएर आडमै बसेका २ जना साथीको मृत्यु भयो । ‘हामीले मुसो मरेछ गन्हायो भन्यौँ । आँखामा बाँधेको पट्टीले बाहिर के भयो थाहा हुँदैनथियो’, शर्माले सुनाए, ‘परिवर्तनका लागि लाग्दा खाना नपाउँदा साथीहरूको मृत्यु भएको थियो । हामीले आफैँले ओच्छाएको गुन्द्री दिसापिसाबले ढाढिएको थियो । गुन्द्रीसमेत च्यातेर खाएर बाँचेको मान्छे हुँ ।’तर, अहिले अवस्था फेरिएको छ, आफ्नै दिसापिसाव खाएर पुनर्जीवन पाएका उनै हिमाल शर्मालाई माओवादी केन्द्रले टिकट नदिँदा ल्यहारकाल भने समानुपातिकको शीर्ष सूचीमा अटाएका छन् ।‘परिवर्तनका लागि कोही न कोही मर्न तयार नभएको भए नलडेको भए यो परिवर्तन हुँदैन थियो’, उनले भने । हिमालको बुझाईमा माओवादी कार्यकर्ता लड्न र मर्न तयार नभएको भए प्रचण्ड यहाँसम्म आइपुग्ने थिएनन् । ‘आज यो अवस्थामा कुन जगबाट आइपुगेको हो स्मरण गर्नुपर्छ’, उनी सुनाउँछन् ।पार्टीमा देखिएका अराजकताबाट हिमाल दिक्क भइसकेका छन् । ‘मुलुकलाई नेतृत्व गर्ने पार्टीले कानुनी शासन दिन सकेन भने जनता निराश हुन्छन्’, हिमालले सुनाए, ‘अहिले ठूला पार्टीहरूकै कारण जनतामा आक्रोश बढेको छ, त्यो स्वभाविक पनि हो ।’हिमाललाई लाग्छ जुन परिवर्तनका लागि आफूहरुले त्याग गरेको हो, नेतृत्व त्यो ढंगले अगाडि बढ्नै सकेन । ‘कम्युनिस्ट पार्टीभित्र पुँजीवादी संस्कृति बाँकी नै रहेछ भन्ने देखिँदै छ’, उनी सुनाउँछन्, ‘त्यसैको परिणाम हो अहिको विकृति, विवादित र पहुँचवालाको कब्जामा पार्टी जाँदैछ ।’
‘हामीले मुसो मरेछ गन्हायो भन्यौँ । आँखामा बाँधेको पट्टीले बाहिर के भयो थाहा हुँदैनथियो’, शर्माले सुनाए, ‘परिवर्तनका लागि लाग्दा खाना नपाउँदा साथीहरूको मृत्यु भएको थियो । हामीले आफैँले ओच्छाएको गुन्द्री दिसापिसाबले ढाढिएको थियो । गुन्द्रीसमेत च्यातेर खाएर बाँचेको मान्छे हुँ’
कठिन संघर्षको मोडबाट योग्यता, क्षमता, इमानदारी, ‘कुर्बानी’, त्याग र बलिदानी गरेर यहाँसम्म आइपुगेको उनी ठान्छन् । ‘आन्दोलनका लागि त्याग्ने वा परीक्षण गर्ने कुनै कुरा बाँकी छैन’, उनी भावुक हुन्छन् ।
हिमालले किन पाएनन् टिकट ?हिमाललाई पार्टी नेताले सुरुबाटै चुनावका लागि तयार हुन भनेका थिए । तर, काठमाडौँ क्षेत्र नम्बर ६ मा उनलाई हटाएर पार्टीले झक्कु सुवेदीलाई टिकट दियो ।‘मलाई सुरुदेखि नै पार्टी, पार्टीका माथिल्लो तहका नेताले निर्वाचनका लागि तयार हुुनूस् । तपाईं जत्तिको मान्छेलाई टिकट दिनुपर्छ, संसद्मा पठाउनुपर्छ भन्नुभयो’, हिमालले सुनाए ‘तलका पार्टी कमिटीले पनि तपाईंजस्तो मान्छे चाहिन्छ भनेर उत्साह देखाउनुभयो । तर, अन्तिम समयमा आएर टिकट नै पाइनँ ।’
पैसा नहुँदा पार्टीले पत्याएनहिमालले आफूसँग पर्याप्त पैसा नहुँदा पार्टीले टिकट नदिएको बुझेका छन् । ‘नेतृत्वलाई लाग्यो होला, योसँग पैसा छैन । हिमालले निर्वाचनमा पैसा खर्च गरेर लड्न सक्दैन’, उनले सुनाए, ‘अर्को कुरा आफ्ना लागि त खर्च जोहो गर्नैपर्छ ।नेताको लागि पनि खर्च जुटाइदिनुुपर्ने भएकोले नेताहरू हच्किएको हुनसक्छ । म जस्तालाई आफ्नै चुनाव खर्च जुटाउन धौधौ पर्नेले अरूको व्यवस्था गर्ने सम्भव नै थिएन’, उनले भने ।हिमालले नेताको चाकडी गर्न जानेको भए धेरै अवसर पाइसक्थे, उनलले जनयुद्धमा दिएको योगदानको नेताहरुले उच्च मूल्यांकन हुन्छ पनि भने । ‘म कुनै नेताको आफन्त वा नजिकको मान्छे होइन । नेताको चाकडी पनि गर्दिन’, हिमालले भने, ‘अहिलेको राजनीति कार्यकर्ता, मतदाता वा जनताले मन पराएर नहुने भयो । यो विकृति अहिले कम्युनिस्ट पार्टीमा ‘संस्कृति’ का रुपमा विकास भएको छ ।’
मन्त्री बन्न नेताको होडबाजीमुलुकको शासकीय स्वरूप यस्तै रहेसम्म यस्तो विकृति रहिरहने उनले बताए । नेताहरूमा पार्टीको पोलिटब्युरो सदस्य, स्थायी समिति सदस्य वा पार्टी नेता हुनुभन्दा राज्यमन्त्री वा सरकारका अन्य निकाय रोज्ने प्रवृति बढेको उनले बुझेका छन् ।पार्टीले टिकट नदिए पनि उनले हिम्मत हारेका छैनन् । ‘टिकट पाउँला सांसद, मन्त्री हुँला या आफ्ना लागि केही गरौँला भनेर त्यो कष्टपूर्ण राजनीति गरेको थिइनँ’, शर्माले, ‘हामीले गरेको संघर्षकै कारण मुलुकमा गणतन्त्र आएको छ । जनताले अधिकार पाएका छन् ।’दुईचार ठेकेदार नेताको खर्चको जिम्मा लिनेहरुका कारण राजनीतिमा विकृति आएको उनको बुझाई छ । ‘यस्तो ट्रेन्ड चकनाचुर पार्नुपर्छ’, शर्मा भन्छन्, ‘त्यसका लागि कोही न कोही तयार हुनुपर्छ ।’
गठबन्धन लहडमा भएको होइनगठबन्धन पनि निर्वाचन जित्नका लागि मात्रै नभएको हिमाल बताउँछन् । ‘हचुवाको भरमा कमजोर वा धरातलमा कुनै नेताको लहडमा गठबन्धन भएको छैन । एउटा मिसनका साथ भएको हो’, हिमालले भने, ‘यो राजानीतिक परिवर्तनका लागि आवश्यक छ । मुलुकको कमजोर राष्ट्रिय अखण्डताले पनि पार्टीहरूलाई एक ठाउँमा उभ्याएको हो । अर्को कुरा न्यूनतम चुनावी तालमेल अधिकतम पार्टी एकता हो ।’
इमानदारलाई पाखा लगाउनु गलतपरिवर्तन चाहने जुझारु कार्यकर्ता बाहिर राखेर स्वार्थी र चाकडी गर्नेलाई स्थान दिँदै जाँदा परिवर्तन नहुने उनी बताउँछन् । ‘चाकडी गरेर पद पाएका वा शक्तिमा गएकाहरू सिद्धान्तमा चल्लान् भन्न सकिँदैन’, हिमाल भन्छन्, ‘उनीहरूलाई पद र अवसरबाहेक अन्य कुराको मतलव हुँदैन । यो कुरा नेतृत्वमा बस्नेले बुझ्नुपर्छ ।’पार्टीले संघर्ष र योगदान भुले पनि हिमालले अझै हिम्मत हारेका छैनन् । ‘पार्टीभित्र लडेर विधिको शासन स्थापित गराउँछौँ’, हिमालले सुनाए, ‘पैसा र अन्य शक्तिमा आएका एक दिन अवश्य विलय हुनेछन् ।’