राजन पौडेलपर्वत । जिल्लामा समुदायमा गरिएको कोरोना भाइरस परीक्षण सगैँ बाहिरी जिल्लाबाट भित्रिने नाकामा कडाई गरिने भएको छ । समुदायमा कोरोना संक्रमण नेखिएपछि अन्य जिल्लाबाट पवेश गर्ने नाकामा सुरक्षापोष्ट खडा गरी चेकजाँचमा कडाई गरिने भएकोे हो ।
पर्वतमा सवारी आवतजावत हुने अन्य जिल्लाबाट प्रवेश गर्ने अत्यावश्यक बाहेक सबै सवारी साधनलाई गेटमै रोक्ने गरी चेकपोष्ट स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो । गेटमा चौबिसै घण्टा प्रहरीले सवारी साधन र आवतजावत चेक गर्नेछ । अत्यावश्यक बाहेक सबै सवारी साधन र यात्रुलाई फिर्ता पठाउने तयारी छ ।
‘जिल्लामा गरिएका सावधानी र सतर्कताका कारण अहिलेसम्मको अवस्था नियन्त्रित रहेको पाइएको छ’ प्र.जि.अ. रेग्मीले भन्नुभयो, ‘अब बढी संवेदनशील बन्नुपर्ने भएकाले कडाई गरिएको हो ।’ पर्वतमा भारत र तेस्रो मुलुकबाट आउने मात्रै होइन छिमेकी जिल्लाबाट आउने मानिसबाट पनि संक्रमण फैलिन सक्ने उच्च जोखिम छ । जिल्ला प्रशासन कार्यालयले जुनसुकै बेला कफ्र्यु लगाउनु पर्ने अवस्था पनि आउन सक्ने चेतावनी पनि दिएको छ । अनिवार्य रुपमा मास्क लगाउने, दुई मिटरको दुरी कायम राख्ने, भेला जम्मा हुने जस्ता कार्यमा स्वास्थ्य सुरक्षा मापदण्ड लागू गर्न पनि आग्रह गरेको छ ।
जिल्लामा कोरोनाको संक्रमण समुदायमा गए नगएको पत्ता लगाउन समुदायमा पुगेर फरक फरक पेसा व्यवसायमा संलग्न रहेकाहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । जलजला गाउँपालिकाबाट पठाइएका ६८ वटा नमुना, कुस्मा नगरपालिकामा लिइएका १ सय १७ र मोदी गाउँबाट पठाइएका ५८ सहित अन्य क्षेत्रबाट पठाइएको २ सय ९६ वटा स्वाब परीक्षण गरिएको थियो ।
विभिन्न कार्यक्रममा आउजाउ गर्ने जनप्रतिनिधि, कर्मचारी, भिडभाड हुने किराना पसलका सञ्चालक, ट्याक्सी चालक, बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी, वर्कसपमा कार्यरत मजदुर, होटेल सञ्चालक तथा त्यहाँ काम गर्ने कर्मचारी, पेट्रोल पम्पमा काम गर्ने कर्मचारी, क्वारेन्टाइन व्यवस्थापनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, हार्डवेयर पसलका सञ्चालक र सर्वसाधारण गरी उच्च जोखिममा रहेकाको प्राथमिकीकरण गरी स्वाब संकलन गरिएको थियो । यसरी विभिन्न पेशा व्यवसायमा संग्लन भएकाको कोरोना परीक्षण गर्दा सबैको नेगेटिभ रिपोर्ट आएको छ ।