बागलुङ । बढ्दो प्रविधिको विकाससँगै बागलुङका ११ विद्यालयमा एकै साथ कम्प्युटर शिक्षा प्रदान गरिने भएको छ । नेपाल दूरसञ्चार संस्थानले यहाँका ती विद्यालयमा एकै साथ कम्प्युटर शिक्षा अध्यापनका लागि ठूलो मात्रमा प्राविधक सहयोग गरेको छ ।
संस्थानले प्रत्येक विद्यालयमा विद्यार्थी सङ्ख्या र आवश्यकताको आधारमा प्रविधिबाटै अध्ययन अध्यापन गराउनका लागि कम्प्युटर, प्रोजेक्टर, साउण्ड सिस्टम तथा इन्टरनेट लगायतका आवश्यक उपकरण प्रदान गरेको छ ।
ती विद्यालयमा विद्यार्थी सङ्ख्याका आधारमा १० देखि ३० थान कम्प्युटर तथा अन्य प्रविधिमैत्री सामग्री प्रदान गरेको संस्थानले जनाएको छ । बागलुङ नगरपालिकास्थित रुद्रेपिपल मावि र पृथ्वी हिरण्य मावि अमलाचौर, काठेखोला गाउँपालिकाको जनकल्याण मावि भीमापोखरा र भिमसेन मावि बिहुँ, ताराखोला गाउँपालिकाको नेपाल मावि तारा र गलकोटको रत्नराज्य लक्ष्मी मावि रिघामा कम्प्युटरसहित अन्य प्राविधिक सामाग्री जडान गरिएको छ ।
बडिगाड गाउँपालिकाको त्रिभुवन मावि खरबाङ, ढोरपाटन नगरपालिकाको उत्तरगंगा मावि बुर्तिबाङ र ज्ञानोदय मावि, तमानखोला गाउँपालिकाको सरस्वती आधारभूत विद्यालय र निसीखोला गाउँपालिकाको ज्ञानेन्द्र माविलाई प्रविधिमैत्री विद्यालय छनोट गरी पूर्ण प्रविधिमैत्री शिक्षाका लागि कम्प्युटर प्रयोगशाला जडान गरिएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाइ सिकाइलाई प्रभावकारी बनाउन संस्थानले भिमसेन माविसहित जिल्लाका १० माध्यामिक र एक आधारभूत विद्यालयमा कम्प्युटर प्रयोगशाला स्थापना गर्नका लागि कम्प्युटर, साउण्ड, प्रोजेक्टर सहितका प्राविधिक सामग्री सहयोग गरेको भिमसेन माविका शिक्षक तथा प्रविधिमैत्री शिक्षक समाजका अध्यक्ष डिल्लीराज उपाध्यायले जानकारी दिनुभयो ।
प्रयोगशाला स्थापना भएपछि विद्यार्थीलाई अध्यापन गराउन सहज हुने रुद्रेपिपल माविका प्रधानाध्यापक राजेश श्रेष्ठले जानकारी दिनुभयो । संस्थानले आर्थिक वर्ष २०७६/०७७ मा विनियोजन गरेको वजेट कोरोनाका कारण २०७७ साउनमा मात्रै कार्यान्वयनमा ल्याइएको संस्थानका अच्युतानन्द मिश्रले जानकारी दिनुभयो । देशैभरबाट छनौट गरिएका विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्नका लागि ओबिसिआई/म्याक्स/नेपा जेभीले टेण्डर मार्फत् विद्यालयमा कम्प्युटर लगायतका उपकरण जडान गरेको कम्पनीका प्रतिनिधि वतेश न्यौपानेले जानकारी दिनुभयो ।