प्रतिक पौडेलरूपन्देही । भैरहवाकाे भिम अस्पतालको लापरवाहीका कारण कोभिड १९ का बिरामीको मृत्यु भएको आरोप लागेको छ । जनशक्ती अभाव हुँदाहुँदै कोभिड १९ का बिरामी ल्याएर राखेपछि अस्पतालमा एक जनाको ज्यान गएको स्रोतको दाबी छ ।
गैडहवा गाउपालिका वडा नं ३ का ५० वर्षीय कल्लुनाउ मुसलमानको सोमबार राति ११ बजे अस्पतालमा मृत्यु भएको बताइएको छ । अस्पतालका कोभिड १९ स्रोत व्यक्ती डा सुमित प्रजापतीका अनुसार मुसलमानलाई भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजबाट रिफर भएर भिममा ल्याइएको थियो । प्रजापतीले मृत्यु भएका व्यक्ति घाइते अवस्थामा रहेको र उनको टाउकोमा गम्भीर चोट भएपनि उपचार नगरी मेडिकल कलेजले भिममा पठाएको दाबी गर्नुभयो ।
भिम अस्पतालमा सोमबारनै मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन गरिएको छ । तत्कालिन मेडिकल सुपरिटेन्डेन्टन डा.नविन दर्नाललाई काजमा लुम्विनी प्रादेशिक अस्पताल सरुवा गरी बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.सकुन्तला गुप्तालाई मेसु बनाइएको छ ।
गुप्ता मेसु भएर आएपछि शुरु भएको कोरोना उपचारको पहिलो दिननै अस्पतालमा लापरवाहीका कारण कोरोना संक्रमितले ज्यान गुमाउनु परेको बताइएको छ । स्रोतका अनुसार अस्पतालमा जनशक्ती अभावमै सोमबारदेखि कोरोना उपचार दोस्रो चरणमा शुरु भएको छ । पहिलो चरणमा मेडिकल सुपरिटेन्डेन्ट डा.नविन दर्नालको नेतृत्वमा सफलता पूर्वक अस्पतालले कोरोनाको उपचार गरेको छ ।
अस्पतालले पहिलो चरणमा ९८ जना कोरोना संक्रमितको सफल उपचार गरेर घर पठाएको थियो । अस्पतालमा आइसियु र भेन्टिलेटर भएपनि यसलाई चलाउनको लागि दक्ष जनशक्ती छैन । डा प्रजापतीका अनुसार एक जना एनेश्थेसिया, फिजिसियन र दक्ष नर्स नहुँदा आइसियु र भेन्टिलेटर संचालनमा छैन ।
सोमबार अस्पतामा भर्ना हुन आएका मुसलमानलाई ३ घण्टासम्म बाहिर राखिएको स्रोतले जानकारी दिएको छ । बुटवलस्थित भवन निर्माणको काम गर्ने क्रममा गम्भीर घाइते भएर भैरहवा मेडिकल कलेजमा उपचारत मुसलमानमा भदौ ५ गते कोरोना संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएको तिन दिनपछि कोभिड अस्पतालको रुपमा सरकारले तोकेको भैरहवा भिम अस्पतालमा उपचारको लागि मुसलमानलाई रिफर गरिएको थियो ।
डा प्रजापतीले कोरोना संक्रमण भएपनि टाउकोमा गम्भीर चोट लागेको बिरामीलाई भैरहवा मेडिकल कलेजले जबरजस्ती भिम ल्याउँदा घटना घटेको दाबी गर्नुभयो । प्रजातपीले राति ११ बजे छट्पट्याएको देखेपछि उपचार गर्ने सक्दो प्रयास गरेपनि आफूहरुले बचाउन नसकेको जानकारी दिनुभयो ।प्रदेश सरकारले भैरहवाको भीम अस्पतालमा पनि कोरोना संक्रमितको उपचार गर्ने बताएपनि अस्पतालमा जनशक्ती अभावकै कारण एकजनाले ज्यान गुमाउनु परेको छ । अस्पतालमा आइसियु र भेन्टिलेटर संचालनमा भएको भए मुसलमानको ज्यान बच्न सक्ने स्थानियको गुनासो छ । अस्पतालले २७ बेड कोरोना संक्रमितको उपचारका लागि व्यवस्था गरेको छ, जसमध्ये ५ बेडमा आईसीयू राख्ने गरी पुर्वाधार छ । अस्पतालमा ४ वटा भेन्टिलेटर पनि जडान छन् । तर दक्ष जनशक्ति नहुँदा आईसीयू सञ्चालनमा छैन ।
आईसीयू सञ्चालनमा आउन नसकेपछि कोरोना संक्रमितलाई भर्ना दिन छाडिए पनि सोमबारदेखि कोरोनाको उपचार अभावकै बीच शुरु भएको हो ।