काठमाडौं । कोरोना महामारीका कारण मुलुकको अर्थतन्त्र गम्भीर संकटमा पर्दै गएको अनुमान गरिएपनि राष्ट्रिय अर्थतन्त्र मजबुत नै देखिएको छ । कोरोनाका कारण आयात घट्दा विदेशी मुद्रा सञ्चिती बढेको छ । शोधानान्तर स्थिति बचतमा रहेको छ भने व्यापार घाटा घटेको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरणअनुसार अघिल्लो वर्ष शोधनान्तर स्थिति ६७ अर्ब ४० करोडले घाटामा रहेकामा गत वर्ष अर्थात् आर्थिक वर्ष २ खर्ब ८२ अर्ब ४१ करोडले बचतमा रहेको छ । देशबाट बाहिरिने पैसाको तुलनामा भित्रिने पैसा बढी भएमा शोधनान्तर बचत हुन्छ, कम भए घाटा हुन्छ ।
राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिती ११ अर्ब ६५ करोड अमेरिकी डलर रहेको छ ।सञ्चितीको आधारमा मुलुकले १ वर्ष ७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्छ भन्ने देखाउँछ । केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वार्षिक औसत मुद्रास्फीति ६ दशमलव एक पाँच प्रतिशत रहेको छ ।
अघिल्लो वर्ष मुद्रास्फीति अर्थात् मूल्यवृद्धि दर ४.६४ प्रतिशत थियो । गत आर्थिक वर्षमा वस्तु व्यापार घाटा १६.८ प्रतिशत बिन्दुले कमी आएको छ । विश्वभर फैलिएको कोरोना भाइरस महामारीका कारण आयातमा कमी आउँदा व्यापार घाटा संकुचन भइ १० खर्ब ९९ अर्ब ९ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो घाटा १३.५ प्रतिशतले वृद्धि भएको थियो । गत आर्थिक वर्षमा कुल वस्तु आयात १५.६ प्रतिशतले घटेर ११ खर्ब ९६ अर्ब ८० करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यस्तो आयात १३.९ प्रतिशतले बढेको थियो । निर्यात शून्य दशमलव ६ प्रतिशतले बढेर ९७ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष निर्यात १९ दशमलव ४ प्रतिशतले बढेको थियो । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा शून्य दशमलव ५ प्रतिशत र अमेरिकी डलरमा ३ दशमलव ३ प्रतिशतले घटेको छ । विस्तृत मुद्राप्रदाय १८ दशमलव १ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १८ दशमलव ७ प्रतिशतले र निजी क्षेत्रमाथिको दाबी १२ दशमलव ६ प्रतिशतले बढेको छ । २०७७ असार मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप ३८ खर्ब ४० अर्ब र निजी क्षेत्र माथिको दाबी ३२ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । सेवा आयमा सुधार देखिएको छ ।
अघिल्लो वर्ष १५ अर्ब २३ करोडले घाटामा रहेको खुद सेवा आय यसपाली १ अर्ब २२ करोडले बचतमा रहेको छ । केन्द्रीय बैंकले गत आर्थिक वर्षको आर्थिक वृद्धिदर खुम्चिएर २.२८ प्रतिशत रहेको अनुमान गरेको छ । राष्ट्र बैंकले केन्द्रीय तथ्याङ्क विभागका आधारमा यस्तो बताएको हो ।
गत आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धि २.५९ प्रतिशत, उद्योग क्षेत्रको ३.२३ प्रतिशत तथा सेवा क्षेत्रको वृद्धि १.९९ प्रतिशत रहेकोे अनुमान गरेको छ । गत आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २७.६५ प्रतिशत, १४.२७ प्रतिशत र ५८.०८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।