बागलुङ । मानिसको सोच, इच्छा पनि अनेक हुन्छ । र इच्छाशक्ति दृढ भए जर्बजस्त पनि पूरा गर्ने चाहना हुन्छ । त्यही हुटहुटीमा थिए निसीखोला गाउँपालिका–३ धाराखर्कका तीन किशोरी र एक किशोर ।
हरितालिका तिजको दिन घर छोडेका उनीहरु हराएको खबर सर्वत्र छाएकाे छ । निसीखोलाको वडा नम्बर–७ स्थित पर्यटकीय स्थल नर्सिङकोट घुम्न निस्केका ८ मध्ये ४ जना साँझ घरमा फर्के । तर १७ वर्षीया अस्मिता सुनार, १५ वर्षीय रामप्रसाद सुनार, १६ वर्षीय श्यामु शिर्पाली र १५ वर्षीया सम्झना सिर्पाली भने सम्पर्कविहिन भए । परिवारले खोजी गर्न झिवाखोला प्रहरीमा निवेदनसमेत दियो । हराएको ५ दिनपछि बागलुङ बजारमा किशोर किशोरी फेला परे ।
यद्यपि उनीहरु हराएको नभइ विश्वकै लामो दाबी गरिएको बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल हेर्न गएकाे खुलेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र रेग्मीका अनुसार नर्सिङकोट घुम्न गएका ८ मध्ये ४ जना बागलुङका लागि निसीखोलाबाट हिँडेर बुर्तिवाङ आएका थिए ।
बुर्तिवाङको सून पसलमा त्यही दिन ३ मध्ये दुई किशोरीले आफूले लगाएको चाँदीको सिक्री बेचेर ट्याक्सी चढेर बागलुङ आएको रेग्मीको भनाइ छ । ‘घाटीमा लगाएको दुइ वटा सिक्री बेचेर ट्याक्सी चढेर बागलुङ आएको पाइयो’ , रेग्मीले भन्नुभयो ‘बागलुङ बजारको चिप्लेटी बसपार्कमा बास बसेका उनीहरुले लामो पुल अवलोकनसमेत गरेका रहेछन् ।’ कालिका मन्दिरसमेत घुम्न गएका उनीहरुलाई प्रहरीले फर्काएको थियो । पैसा र बासको अभावमा घर फर्कन नसकेका उनीहरुलाई प्रहरीले भदौ १० गते बागलुङ बजारमा फेला पारेको थियो ।
बागलुङ बजारमा निषेधाज्ञा भएका कारण घर फर्कन समस्या भएपछि परिवारको सम्पर्कमा नआएको हुन सक्ने परिवारका सदस्य बताउँछन् । घरबाट घुम्न भनेर निस्केका चारै जना सम्पर्कविहीन भएपछि चिन्तामा रहेको र घुम्ने क्रममै भेटिएको खबरले खुसी दिलाएको श्यामु सिर्पालीका बुबा कोकबहादुर बिकले बताउनुभयो । ‘हामी त तनावमा थियौं, कसैले अपहरण, केही गर्यो कि भनेर डराएका पनि थियौं,’ विकले भन्नुभयो, ‘रामप्रसाद सुनार, अस्मिता सुनारले घरबाट एक हजार र श्यामु सिर्पालीले ६०० लगेर निस्केका रहेछन् ।’ सिर्पालीका बुबाका अनुसार बागलुङ बजारमा प्रहरीले फेला पारेर बुर्तिवाङ लगेर परिवारको जिम्मामा लगाइदिएको छ ।
उनीहरुले दुई वटा चाँदीको सिक्री बुर्तिवाङ बजारमा तीन हजारमा बिक्री गरी ट्याक्सी चढेर पुल हेर्न बागलुङ बजार १० किमी पैदल र ९० किलोमिटर सवारी यात्रा गरी आएका हुन् । सामाजिक सञ्जालमा निकै चर्चा कमाएको रामरेखा अदुवाबारी पुलका विषयमा उनीहरुले जानकारी पाएपछि परिवारलाई खबर नगरी बागलुङ बजारमा आएका थिए ।