काठमाडौं । अछामको रामारोशन गाउँपालिकामा कैलाश खोलामा भदौ २ गते राति आएको बाढीमा परी १७ जनाको मृत्यु भयो । ६ जनाको शव फेला पर्यो तर, ११ जना अझै बेपत्ता छन् ।
अप्रत्यासित रुपमा राति आएको बाढीले ठूलो धनजनको क्षति भएको छ । कैलाश खोलाकै किनारमा रहेको मुजाबगर, पुलबजार, खालबजार, सैनीबजारलगायतका बस्ती एकै रातमा बगरमा परिणत भए । स्थानीयले लगाएका बाली र खेत बगर भएका छन् । स्थानीय सर्वसाधारणमा त्राहीमाम सिर्जना भयो । अहिलेसम्म पनि त्यहाँका नागरिकको मानस्पटलमा त्यो बाढीको गहिरो चोटले डेरा जमाएर बसेको छ ।
बाढीले प्रलय गरिसकेपछि केन्द्र, प्रदेश र स्थानीय सरकारले समवेदना व्यक्त गरे । राहत र उद्दारको कार्यका लागि संघ सरकारले नेपाली सेनाको टोली परिचालन ग¥यो । स्थानीय, प्रहरी र जनप्रतिनिधि पनि उद्दारको कार्यमा जुटे । संघ सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा टोली परिचालन गरियो । काठमाडौंबाट गृहमन्त्रीको टोली जहाजमार्फत् सुर्खेतका लागि उड्यो । सुर्खेतबाट हेलिकप्टरमा सवार भएर रामारोशनका लागि टोली हानियो । टोलीमा गृहमन्त्री थापा, उद्योग मन्त्री लेखराज भट्ट, पूर्व उपप्रधानमन्त्री भीम रावल पनि सहभागी हुनुहुन्थ्यो । हेलिकप्टर रामारोशनमा अवतरण भयो । बाढी गएको स्थानसम्म गृहमन्त्री थापाको टोली पुग्यो । बाढी प्रभावित क्षेत्रमा खेतैको आलीमा कार्यक्रमस्थल तयार गरिएको थियो । मन्त्रीहरुको टोलीले पीडितका समस्या समाधान गर्ने प्रतिवद्धता जाहेर गरे । केही राहत र नगद समेत प्रदान गरियो ।
बाढी प्रभावित क्षेत्र अछामको रामारोशन गाउँपालिकामा राहत वितरण र क्षतिको अवस्थाबारे बुझ्न सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा पनि सडकमार्ग हुँदै धनगढीदेखि अछाम पुग्नुभयो । प्रभावित क्षेत्र मुजाबगर, पुलबजार, खालबजार, सैनीबजार लगायतका स्थानको दयनीय अवस्था देखेपछि मन्त्री बोहराले मन थाम्न सक्नुभएन । आफूले पीडित क्षेत्रका लागि छुट्टयाएको समय भन्दा बढी समय दिनैपर्ने भयो । अहिले मन्त्री बोहरा प्रत्येक नागरिकको घरआगनमा पुगेर त्यहाँको समस्याबारे बुझिरहनुभएको छ । बाढीले क्षति गरेका पूर्वाधारहरुको निरीक्षणपछि पुनर्जिवित पार्नका लागि मन्त्री बोहराले योजना बनाइरहेको जनता समाचार डटकमलाई जानकारी दिनुभएको छ ।
अछामका जनताले मन्त्री नै आगनमा आएर जनताका पीडा सुनेपछि सिंहदरबारको अधिकार घर–घरमा आएको प्रत्याभूति भएको बताएका छन् । मन्त्री बोहराको साहसिक यात्राले अछामको बाढी प्रभावित क्षेत्रले पुनर्जिवन पाउने त्यहाँका नागरिकको विश्वास छ । लामो समय जनतालाई खर्चेर प्रदेश सदरमुकाम कैलाली पुगेपछि योजनाबद्ध तवरले पीडितहरुको पुनस्र्थापना गरिने मन्त्री बोहराले बताउनुभयो । मन्त्री बोहराका अनुसार बाढी, पहिरोका कारण वर्षेनी सास्ती भोगिरहेका जनतालाई दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्ने देखिन्छ । अछाममा मात्रै होइन देशका विभिन्न भूभागमा गएको बाढी, पहिरोका कारण यसवर्ष ठूलो धनजनको क्षति भएको छ ।