काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राजनीतिसँगै कुशल गीतकार हुनुहुन्छ, साथै माेडल पनि । उहाँको शब्द रहेको नयाँ गीत ‘यो मुक्तभूमि हो, बुद्धभूमि’ सार्वजनिक भएको छ ।
कोरोना भाइरस संक्रमण (कोभिड– १९) का कारण यो ‘बुद्धभूमि’ नामक गीत शुक्रबार भर्चुअलरुपमा सार्वजनिक गरिएको हो । गौतमको गीतमा शम्भुजीत बाँस्कोटाको सङ्गीत र रोशनराज गुरुङ, माण्डवी त्रिपाठी, अञ्जना गुरुङ लगायतको स्वर छ । गीतका प्रस्तुतकर्ता हरिशदेव गौतम रहनुभएको छ ।
गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दूत गौतम बुद्ध र नेपाली कलासंस्कृतिका बारेमा वर्णन गरिएको छ । नेपालीलाई गीतले एकतामा रहन र देशप्रति माया गर्न प्रेरणा मिल्ने विश्वास नेता गौतमको छ ।
उपाध्यक्ष गौतमका अहिलेसम्म ४ दर्जन बढी गीत रेकर्ड भएर सार्वजनिक भैसकेका छन् । उहाँले एकल गीतिसङ्ग्रह ‘मेरो गीतियात्रा’ समेत प्रकाशनमा ल्याउनुभएको छ । उहाँका प्रायः गीत राष्ट्रियभावले भरिएका छन् । त्यसलगायत कला, सांस्कृतिक, सामाजिक र आर्थिक उन्नतिका लागि पनि उहाँका गीतले सन्देश दिएका छन् ।
जनआन्दोलन २०६२–२०६३ पछि राजतन्त्रको अन्त्यसँगै उदय भएको गणतन्त्रको शुरुआतमा पुरानो राष्ट्रिय गीतलाई फालेर नयाँ राष्ट्रिय गीतको विकल्प खोज्ने क्रममा गीतको छनोट गर्ने जिम्मा लिएको समितिलाई गौतमद्वारा रचित ‘प्राण प्यारो देश नेपाल’ पठाइएको थियो ।
' राष्ट्रिय गानमा छनौटमा परिनँ '
गीतकार गौतमले नयाँ राष्ट्रिय गान चयनका निम्ति गरिएको खुला प्रतिष्पर्धामा आफूले पनि गीत पठाएको खुलासा गर्नुभएको छ ।
“जनआन्दोलनपछि परिवर्तित सन्दर्भमा राष्ट्रिय गीतको विकल्प खोजियो । नयाँ राष्ट्रिय गान चयनका निम्ति खुला प्रतिष्पर्धाका लागि आह्वान भयो”, उहाँले भन्नुभयो, “मैले पनि आफूले रचना गरेको गीत पठाएँ तर उक्त गीत उत्कृष्ट सातभित्र पनि परेन । त्यही गीत मेरो गीतियात्राको प्रारम्भ बन्न पुग्यो ।”
त्यसो त उहाँ आफूमा जीवनको प्रारम्भकालदेखि नै छन्द कविता र गीति लेखनमा रुचि रहेको बताउनुहुन्छ । विद्यालयस्तरदेखि नै गीतसङ्गीत र कवितामा रुचि राखेको बताउने गौतमले जीवनको उत्तरार्धमा आफ्नो चाहना पूरा भएको जानकारी दिनुभएको छ ।
https://www.youtube.com/watch?v=xrsG7OgPM-U&feature=youtu.be&fbclid=IwAR3wu6nVFIMzMWMoi97NtxP926_RO0FB-_sOuisoAHDi69DowVLkxyso8rU