हरिश कल्पितऊ बिस्तारै बैठक कोठाभित्र पस्छ । उसलाई आफ्नो बुढ्यौली छाएको शरीरको भार थाम्न आफैलाई गाह्रो भएझैं अनुभव हुन्छ । चारैतिर नजर सर्सति दौडाउँछ । अनि सुस्तरी गई सोफामा थचक्क बस्छ । सुइयँ लामो सुस्केरा तान्दै सोफामा ढल्किदैँ आँखा चिम्लिन्छ ।समयको बहाबसँगै बहँदाबहँदै आज ऊ नितान्त एक्लो, निराश, उराठमय जिन्दगीको हिस्सा बनेको कस्तो विवश प्राणी रहेछ । समयको हुरीले उसलाई एक्लै बगरमा मिल्काई दियो र एक्लै बस्न विवश बनाई दियो । कोही पनि कसैसँग हुँदैन रहेछ । एक्लै आयो, एक्लै जानुपर्दोरहेछ, बेकारको मोहजाल मात्र पो रहेछ यो जिन्दगी ...।ऊ मनमनै गुन्न थाल्छ । आज उसलाई संसारै उजाडिएको जस्तो लाग्न थाल्छ । एक्लो,नितान्छ एक्लो जीवन जीउन बाध्य आफ्नो जिन्दगीदेखि आफैलाई वाक्क लाग्न थाल्छ ।ऊ आफैलाई प्रश्न गर्छ - के म काल पर्खेर बस्दैछु ? जिउनुको औचित्य नै हराई सक्यो, केका लागि के गरी बाँच्ने ? तर चाँहदैमा मर्न पनि सकिँदैन नि । नियतिको अगाडि कस्को के लाग्छ र ? सन्तान छन् तर पनि एक्लै बस्न बाध्य छु । वा...। कस्तो मोहजाल हो यो ।आँखाबाट दुईथोपा आँसु तुरुक्क गाला हुँदै बग्छ । आँखाको आँसु पुच्छ । बिस्तारै सोफाबाट उठेर झ्यालमा जान्छ । झ्यालबाट टाढाटाढा आँखा दौडाउँछ । उस्का आँखा आगाडि अतितका पानाहरु एकपछि अर्को गर्दै पल्टिदै जान्छ ।...... ......कलेजमा पहिलो भेट भएदेखि नै ऊ उष्माको मोहजालमा फसिसकेको थियो । उष्माको सौन्दर्यले उसलाई मोहित पारेको थियो । जबदेखि उष्मासँग आँखा जुध्यो तबदेखि एक एकवटा बहाना बनाई बोल्ने प्रयास गर्थ्यो । तर अपशोच मुखबाट वाक्य निस्कदैँनथ्यो ।ऊ जब उष्मा नजिक पुग्थ्यो मुटुको ढुकढुकी अनायासै बढ्थ्यो । वास्तवमा उसले उष्मालाई मनमनै मन पराइसकेको थियो । मनको कुरा व्यक्त गर्ने अवसरको प्रतीक्षामा थियो । कसरी भनुँ, के गरेर भनुँ, रिसाउँने पो हो कि ? मनमा धेरै कुराहरु खेल्थ्यो ।तर एकदिन उसले साहस गरेर बोल्ने कोशिस गरेको थियो । त्यो पनि साथीहरुको उक्साहटमा । सधैँ साथीहरुले तँ त कायर रहेछस्, तँ जस्तोले प्रेम गरेर खाँदैनस्, जाबो एउटी केटीसँग बोल्न पनि यस्तो गा¥हो, आदि इत्यादि कुराले उसको कानै टट्याइसकेको थियो । त्यसैले क्लास सकिनासाथ उष्मा नगिचै गई हड्बडाउँदै भनेको थियो, 'हलो उष्मा म इशान ...।'त्यसभन्दा बढी बोल्न सकेन, ट्वाल्ल परेर उभिरह्यो । उष्मा जिल्ल परेकी थिइन् । त्यो अप्रत्याशित चिनापर्चिमा के गर्ने के नगर्ने होसै भएन । तर पनि इशानको मायालु हेराइलाई तिरस्कार गर्न सकिनन् । मुसुक्क मुस्कुराउँदै 'हलो' भनिन र सरासर क्लासतर्फ लागिन् ।ऊ खुशीले पागल भएको थियो । फरक्क फर्केर घमण्डले फुल्दै साथीहरुको माझमा पुग्यो । आज उसले ठूलो सफलता हासिल भएको अनुभव गर्यो। अनि साथीहरुलाई फुर्ति लगाउँदै भन्न थाल्यो देख्यौ त मेरो कमाल ? तिमीहरुले के भन्ठान्याथ्यौ मलाई ? ल हेर मैले उष्मासँग परिचय गरिन त ।यसरी दिनहूँ जसो कलेजमा ऊ कुनै न कुनै बहाना गरेर उष्मासँग भेट्न थाल्यो । उष्मा पनि उसको व्यक्तित्वदेखि प्रभावित भएकी थिइन् । लाम्चो अनुहार, अग्लो उचाई, चौडा छाती, आकर्षक व्यक्तित्वको परिपूर्ण शरीर थियो । त्यसमाथि उसको शालीन व्यवहारबाट प्रभावित भएकी थिइन् उष्मा । दुबैको प्रेम दुबोसरी मौलाएको थियो । एक अर्कामा पूर्णरुपले समर्पित थिए । कलेजमा उनीहरुकोे प्रेमको चर्चा चल्न शुरु भएको थियो । साथीहरुले नाम पनि दिए लैलामजुन भनेर ।यसरी उनीहरु बीचको प्रेम झाँगिएको थियो । एकदिन इशानले बिहेको प्रस्ताव पनि राख्यो, उष्माले सहर्ष स्वीकारिन् । दुबैको घरको मन्जुरीमा बिहे पनि भयो । उष्मा दुलही भएर भित्रिइन् उसको घरमा । परिवारमा खुशियालीको वर्षा भयो ।इशान हर्षले प्रफुल्लित भएको थियो । आफूले चाहेको श्रीमती पाउँदा । घरमा एउटी आमा र बहिनीबाहेक कोही थिएनन् । उष्माले पनि छिट्टै नै सबैलाई आफ्नो व्यवहारले मोहित पारेकी थिइन् ।इशान स्वास्नीको प्रेममा चुर्लम्म डुबेको थियो । दुबै बीचको प्रेमले घरलाई नै उज्यालो पारेको थियो । आमा दंग पर्थिन्, छोरा बुहारीबीचको मिलाप देखेर । असल बुहारी भित्राउन पाएकोमा मख्ख थिइन् ।चखेवा चखेवीको जोडीझैं जहाँपनि सँगै हुन्थे, यी जोडी । उष्मालाई एकपलको लागि पनि अलग्याउन चाहदैनथ्यो । हाँस्ने, जिस्कने, फकाउने क्रम चलिरहन्थ्यो । लाग्दथ्यो एक अर्काविना बाँच्न सक्दैनन्, होलान् यो जोडी ।केही वर्षपछि नै यिनीहरुको प्रेमको बगैचामा दुई थुंगा सुन्दर फूलहरु फुले इसा र अतुल । एक छोरा र एक छोरीको सुन्दर फूलबारी । प्रीतिको बगैँचा नै रगमगाएको थियो । इशान आफूलाई खुबै भाग्यमानी ठान्थ्यो । जिन्दगीको स्वर्णिम रंगमा रंगिएको थियो ऊ । उत्साह र उमंगले फुलेको थियो ।अतुलको जन्म हुँदा कत्ति खुशी भएको थियो । पहिलोपल्ट नै छोराको जन्म ! कस्तो खुशी भएको थियो । उसलाई आफ्नो पूनर्जन्म भएको महसुस भएको थियो । अनि नाक फुलाउँदै भनेको थियो- 'देख्यौ उष्मा ! यस्को त अनुहार काटीकुट्टी मेरै जस्तो छ । यसलाई त म डाक्टर बनाउँछु । अमेरिकामा पढाउँछु । आखिर छोरो कस्को हो ।'गर्वले छाती फुलेको थियो । उष्माले हाँस्दै भनेकी थिइन् - 'किन पठाउँने अमेरिका ? हाम्रो छोराचाहिँ यही बस्छ, मेरै आँखा अगाडि नेपालमै, आफ्नै देशको सेवा गरेर ।'उष्माको कुरा बीचैमा काट्दै उसले झोक्किदै भनेको थियो, 'भयो भयो देशभक्ति नदेखाऊ । हामीले के गर्न सक्यौँ र यहाँ बसेर । जाबो एउटा घर बनाएको ऋण त तिर्न सकेको छैन अहिलेसम्म । न दाम छ, न काम छ खाली मेरो देश भनेर के गर्नु ?''भयो भयो छोरो पाउनु कहिले कहिल्यै कोक्रो बुन्नु अहिले भन्या जस्तो । भर्खर त छोरो जन्मियो, अहिलेदेखि सपना देख्न थाल्नुभो ', उष्माले हाँस्दै भनेकी थिइन् ।बुबा हजूर चिया ल्याऊँ रामेको आवाजले उसको अतितको पाना च्यारर... च्यातिन्छ । रामेतिर हेर्दै भन्छ- 'खै.. । बन्जे आएको छैन ?''अहँ... छैन हजूर ।'रामे मुन्टो हल्लताउँदै जवाफ दिन्छ ।'अझसम्म किन नआएको होला ? ९ बजिसक्यो', भन्दै जुरुक्क उठ्दै झ्यालतिर जान्छ र झ्याल खोल्दै भन्छ-' जा न लेरा एक कप चिया ।''हस हजूर' भन्दै रामे लुसुक्क जान्छ ।ऊ खल्तिमा हात घुसार्छ र चुरोटको बट्टा निकाल्छ, गहिरिएर हेर्छ । एक्लोपनको साथी भएको छ चुरोट । फिसिक्क रुन्चे हाँसो हाँस्छ । अनि बट्टाबाट एउटा चुरोट निकाल्दै सल्काउन थाल्छ । चुरोटको लामो सर्को तान्छ, अनि बिस्तारै धुवाँ फाल्छ ।उसलाई लाग्छ पिर व्यथाहरु धुवाँसँगै बाहिर उडाउँदैछु, अनि धुवाँ हेर्दै मनमनै गुन्न थाल्छ :'कति पाएँ, कति गुमाएँ खुशीका लहरहरुमा पौडिएँ, दुःखको सागरबाट उत्रिएँ । के रहेछ र जिन्दगीभरि साथ दिन्छु भन्नेले पनि एकदिन छोडेर जाँदो रहेछ । एक्लै, एक्लै हिँडनु पर्ने बाटो रहेछ जिन्दगी । साथ दिने त दुई दिन मात्र पो रहेछ ।' फिसिक्क हाँस्छ ।झ्यालबाट बाहिर टाढाटाढा क्षितिजतिर नजर दौडाउँछ । आजको दिन उसलाई साह्रै नरमाइलो लाग्छ । आजको दिनमा नै उसको खुशीमा तुषारापात भएको थियो । जिन्दगीको लक्ष्य के हो भन्ने कुरा । एक्लै भक्कानो छोडेर रोऊँ रोऊँ लाग्छ तर आफूलाई सान्त्वना दिने कोही पनि त छैनन् । नितान्त एक्लो महसुस गर्छ आफूलाई ।आमाबाबुको माया छोराछोरीमाथि छोराछोरीको माया ढुुंगामुढााथि भनेको साँच्चै रहेछ । उसले छोराछोरीप्रतिको दायित्व राम्रैसँगसँग पूरा गर्दै आएको थियो ।छोराले एसएलसीमा फस्ट डिभिजन ल्यायो भन्ने खबरले उसको जिन्दगीमा उमंगको लहरहरु ल्याइदिएको थियो । भविष्यको रंगिन सपनाहरु सजाई दिएको थियो । हर्षले प्रफुल्ल भई छोरालाई अँगाल्दै गर्वले उष्मातिर हेर्दै भनेको थियो - 'देख्यौ त मेरो छोरो फस्ट भयो, अब डाक्टर पढाउनुपर्छ ।'दशदेखि पाँचसम्म जागिर, त्यसपछिको समय ओभरटायम गरेर जसोतसो जिन्दगीको गाडी चलाउँदै थियो । एकजनाको कमाई तर पनि उसले खुबै मेहनत गरेको थियो । छोराछारी हुर्काउनलाई । उष्मा पनि लोग्नेको काँधमा काँध मिलाई हरतरहले ऊप्रति समर्पित थिइन् । महंगीले चेपिएको काठमाडौं, यहाँ त पानी पनि महंगो छ । किनेर खानुपर्ने बाध्यता छ । तर पनि उसले कहिल्यै आफ्नो जोश, जाँगरलाई कम हुन दिएन । त्यसपछि उष्मा झन् उसको हर कार्यमा उत्साहका साथै जोश जाँगर भरिदिन्थिन् । कहित्यै ऊप्रति कुनैपनि गुनासो गरिनन् । सँधै लोग्नेको सुखदुःखमा हर तरहले साथ दिन्थिन् । लोग्नेलाई साह्रै माया गर्थिन् । लोग्नेको खुशीका लागि आफ्नो हर इच्छा आकांक्षाको वलि चढाउन सँधै तम्तयार रहन्थिन् । यस्तो स्वास्नी पाएकोमा ऊ मख्ख थियो ।छोराछोरीको भविष्य राम्रो भएमा बुढेसकालमा साहरा हुन्छ भन्ने आशा राखेको थियो उसले । ऋण गरेर भए पनि छोरालाई अमेरिका पढ्न पठायो । छोरीलाई पनि आईए पास गरेपछि, अमेरिकामै बस्ने इन्जिनियर केटासँग बिहे गरिदियो । यसरी उसले आफ्नो कर्तव्य राम्रैसँग पूरा गर्दै आएको थियो । घरमा दुई बुढाबुढी बाहेक कोही रहेनन् । समयको हुरिले सबैलाई उडाइ कताकता पु¥यायो । केही समय अगाडि त्यही घरमा चहलपहल रौनक थियो तर अब शून्यताले बास बस्न थालेको थियो ।अब उसलाई प्रतीक्षा थियो छोराको आगमनको । एकदिन जिस्कदै स्वास्नीसँग भनेको थियो उसले-'हेर बुढी अब त छोराले पनि डाक्टर पास गरिहाल्यो । अब आएपछि बिहे गरिदिनुपर्छ । त्यसपछि त मेरो जिम्मेवारी पनि सकिन्छ । अनि त आनन्दसँग बस्न सक्छु । यिनीहरुकै लागि न हो मैले दुःख गर्नु परेको । अब बुढेसकालमा हनिमुन मनाउँदै बस्नुपर्छ ।'लोग्नेको कुरा सुनी उष्मा मज्जासँग हाँस्दै भनेकी थिइन् - 'के भएको हो तपाईलाई बुढेसकालमा पनि ? म हनिमुन मनाउँनु । अब त नातिनातिना खेलाएर बस्ने नि । खै त्यो अतुल कहिले आउने हो । अब त यहीँ आएर काम गरेपनि हुन्थ्यो नि हैन र भन्या ?'लोग्नेको आँखामा उत्तर खोज्न पुगिन् । ऊ निरुत्तर हुन्थ्यो, तर पनि स्वास्नीलाई ढाडस दिँदै भन्थ्यो- 'आइहाल्छ नि ।'उष्मालाई छोराको मायाले साह्रै सताउँथ्यो । आफ्नो एकमात्र छोरो त्यो पनि विदेशमा ऊसँग गुनासो पोख्थिन् । छोरी पनि श्रीमानसँगै अमेरिका लागिन् । त्यसैले पनि छोरो फर्कोस् भन्न चाहन्थिन् । कहिलेकहीँ एक्लोपनदेखि न्यास्रो मान्थिन् । छोराको सम्झनामा आँसु बहाउँथिन् । ऊ स्वास्नीलाई सम्झाउँदै भन्ने गथ्र्यो - 'किन पिर गरेकी तिमी, हाम्रो छोरो डाक्टर भईसक्यो । अब चाढै नै यहाँ फर्किहाल्छ । त्यसपछि त्यसको बिहे गरिदिनुपर्छ बुझ्यौ ? अनि नातिनातिना खेलाउँदै हाम्रो दिन त त्यसै बितिहाल्छ नि ।'उता छोरो भने एकएकवटा बहाना बनाई फर्कन चाहँदैनथ्यो । आफ्नो बाध्यता बाबुआमाको अगाडि तेस्र्याउँथ्यो र फर्कने असमर्थता जनाउँथ्यो । एकदिन उताबाट खबर आयो छोराले त्यहीकै अमेरिकन केटीसँग बिहे गरेको । पहिले त उसले खबरलाई विश्वासै गर्न सकेन । पछि छोराले नै स्वीकार गर्यो कि सँगै पढेकी अमेरिकन केटीसँग बिहे गरेको हो भन्ने कुरा । उसले केही भन्न सकेन । सुस्तरी फोनबाट नै आर्शिवाद दियो । अब उसलाई लाग्यो छोरो फर्कने सपना सपनै हुने भयो । अमेरिकाको आकर्षणले छोरालाई चुम्मकझैँ टाँसिरह्यो ।यसरी दिनहरु बित्दै गए, समयको बहाबसँगसँगै ऊ पनि बहँदै गयो । उष्मा जहिले पनि छोराको फोटो हेरी आँसु बहाई रहन्थिन् । छोरोको प्रतीक्षामा दिनहरु गन्दै बस्थिन् । उसलाई असह्य हुन्थ्यो, कति सम्झाउने, स्वास्नीलाई कति चोटी फोन गरेर पनि छोरालाई बोलायो तर पनि उताबाट काममा अतिनै बिजी छु भन्ने खबर आउँथ्योे । जहिले पनि छोराको एउटै जवाफ हुन्थ्यो - 'बुबा म हस्पिटलमा साह्रै बिजी छु । बिदा नै पाएको छैन के गर्ने ?' आफ्नो असमर्थता देखाउँथ्यो ।छोराले किन बिर्स्यो बाबुआमाको त्याग ? के साँच्चै फर्कन नसकेको हो, या आउन नचाएको हो ? अथवा भौतिक सुखसुविधाको जालोमा अल्झिएको हो ? ऊ मनमनै उत्तर खोज्थ्यो ।उसले त आफ्नो आमाबुबाप्रतिको कर्तब्य राम्रैसँग निर्वाह गरेको थियो । सानैमा बाबुको मृत्युु भएपनि आमाले जेनतेन गरेर आफ्नो छोराछोरी हुर्काएका थिए । उसले आमाको चित्त कहिल्यै दुखाएन र छोराको कर्तव्य कहित्यै भुलेन । आमाको आँखाको नानी थियो । आमा सँधै उसलाई भन्ने गर्नुहुन्थ्यो -' बाबु राम्रोसँग काम गरे, राम्रै फल पाउँछ । दुष्कर्मको फल कहिल्यै राम्रो हुँदैन ।' आमाको वचनको सधैँ पालना गर्दै आएको थियो उसले ।समयको भुमरीमा आमाले पनि भारी बिसाउँनु भयो बाबुले जस्तै । त्यस समयमा ऊ विचलित भएको थियो । आमाको देहावसानले उसलाई ठूलो चोट पुर्याएको थियो । उसको चोटमा उष्माले सान्त्वनारुपी मल्हम लगाएकी थिइन् । बिस्तारै बिस्तारै अतितको घाउमा खाटा बस्दै गयो ।आमा सँधै भन्ने गर्नुहुन्थ्यो आफ्ना नातेदारहरुलाई- ' मेरो छोरो त लाखौमा एक छ । 'तर आज आफ्नो छोरोको आनिबानीदेखि साह्रै दुःख लाग्थ्यो उसलाई । तापनि स्वास्नीको मन राख्न नै भए पनि बेलाबेलामा भन्ने गर्थ्यो - 'किन पीर गरेको उष्मा ? हाम्रो छोरो त अमेरिकाको ठूलो हस्पिटलमा काम गर्छ रे । त्यसैले फुर्सद हुँदैन । एकदिन त फर्किहाल्छ नि । यहाँ नआए कहाँ जान्छ । आफ्नो देश आमबुबा कहाँ नआउने कुरै छैन कसो ।'तर उष्मा आँखैभरि आँसु राखिरहेकी हुन्थिन्, उत्तर दिँदैन थिइन् । तिनलाई यो लोग्नेको झुठो आश्वासन हो भन्ने कुरा थाहा थियो । दिनरात छोराको फोटो हेर्दै दिन बिताउँथिन् ।एकदिन ऐना हेर्दाहेर्दै बडबडाएको थियो -' ल अब त म बुढो भएछु । कपाल पनि सेतै भएछ । हेर्दा हेर्दै दिन बितेको त थाहै पाइएन । समयले त निकै कोल्टो फेरिसकेछ हगि उष्मा ?' आफ्नो अनुहारमा परेका चाउरीपनलाई नियाल्दै भनेको थियो ।'तर उष्मा तिमीजस्तो जीवनसाथी पाएँ म त साह्रै भाग्यमानी रहेछु । स्वास्नी राम्रो पाउँनु पनि पूर्वजन्मकै फल रहेछ । तर तिमीले चाहिँ मलाई एक्लो नपार्नु नि छोरा छोरीले जस्तो । 'उष्माले हाँस्दै भनेकी थिइन् -'अनि के त अझसम्म आफूलाई जवान नै छु भन्ठान्नु हुन्छ । दुईदुई जना नातिनातिना भैसके ।'एकछिन् रोकिइ पुनः उसको आँखामा हेर्दै भनकी थिइन् -'के भन्नु भएको त्यस्तो ? मैले तपाईलाई कहाँ छोडेर जान्छु त, एक्लै नपार भन्नुहुन्छ । के गर्नु छोराले बिर्सिहाल्यो । खुबै विदेशमा पढाउने भन्नुहुन्थ्यो नि, देख्नु भो त । खै...। त्यसलाई हाम्रो माया रहेनछ ।' बोल्दा बोल्दै आँखा आँसुले टम्म भरिएको थियो ।स्वास्नीको आँखामा आँसुदेखि उसले आवेशमा आएर भनेको थियो -'भो बा पीर नगर । त्यो हाम्रा छोरै हैन रहेछ । सम्झ हामीले छोरै पाएका छैनौं । सिर्फ एउटी छोरी मात्र । बरु त्यसले हामीलाई माया त गर्छे । बेलाबेलामा हाम्रो हाल खबर सोध्छे । विचरी जान मन नलगाई नलगाई गइन् । जाने बेलामा कस्तरी आँखैभरि आँसु पारेर भनेकी थिइन् -'मम्मी म हजुरहरुबाट टाढा जाने मन छैन । यहाँ हजूरहरुको हेरविचार गर्ने कोही पनि त छैनन् । अतुल दा, पनि के भएको होला त्यस्तो ।''भयो छोडिदेऊ त्यसको कुरै नगर । बिर्सिदेऊ त्यसलाई ।''म कसरी बिर्सु, म त त्यसकी आमा हुँ ...। 'योभन्दा अगाडि बोल्न सकिनन् । सुँक्कसुँक्क गर्दै रुन थालिन् । यसरी नै दिनहरु बितिरहेको थियो । समयको हुरीले मानिसलाई कहाँबाट कहाँ पुर्याइदिन्छ । सोच्दै नसोचेको कुराहरु हुन जान्छ । मान्छे वास्तवमा परिस्थितिको दास नै हो । जुनसुकै कुरा पनि परिआएको खण्डमा सहन सक्नुपर्ने बाध्यता मानिसमा पर्छ ।एकदिन अचानक उष्मालाई हर्ट एट्याक भयो । ऊ निकै हड्बडायो, हत्तपत्त वीर हस्पिटल पुर्यायो । तर नियतीको अगाडि कस्को के लाग्छ ? उसको जिन्दगीमा ठूलो बज्रपात भयो । । पहिलो एट्याकमा नै उष्माले जिन्दगीसँग हार मानिन् ।आफ्नो जीवन संगिनी गुमाउनु पर्दा उसको ह्रदयमा ठूलो घाउ लाग्यो । उसलाई संसारै शुन्य लाग्यो । आँखा अगाडि अन्धकार छायो । आफ्नो छायाले साथ छोडेझैं जिन्दगी नै उजाडियो । छोराको अनुहार हेर्ने आशैआशामा स्वास्नीको मृत्युले उसलाई ठूलो चोट पुर्यायो । छोराप्रति मनमा घृणा उत्पन्न भयो । त्यसैले खबर पनि गरेन । तर छोरीको माध्यमबाट थाहा पाएर आमा मरेको चार दिनमा छोराको आगमन भयो । ऊ छोराको आगमनमा न हर्षित नै भयो न त दुखी नै । चुपचाप, अचल, स्थिर आँखाहरु शुन्यतामा टोलाइरहन्थ्यो ।जीवन साथीको विछोडले मानवसागरको बीचमा आफूलाई नितान्त एक्लो महसुस गर्यो । तेह्र दिनपछि नै छोरो धेरै काम छ भन्दै पुनः यतै फर्कियो । उसले न छोरोसँग गुनासो नै गर्यो, न त छोरोलाई जानबाट रोक्न नै खोज्यो । अब त उसलाई एक्लै बस्ने बानी लागिसक्यो । जिन्दगीको सार अब पो बुझ्दैछ उसले । सँधै एक्लै त रहेछ नि जिन्दगी, क्षणिक साथ त दिने हो सबैले बेकारको मोहजालमा फसेर किन दुखी बन्नु । एक्लै हाँस्नु पर्ने, एक्लै रुनु पर्ने, एक्लै बाँच्नु पर्ने, एक्लै मर्नु पर्ने, सँधै एक्लै एक्लै हिँड्नु पर्ने बाटो पो रहेछ यो जिन्दगी ।.......................'बुबा हजुर यी चिया लिनुस् 'रामेको यो आवाजले ऊ पुनः वर्तमानमा आउँछ । रामेसँग चियाको कप लिदैँ ऊ फेरी झ्यालबाट बाहिर नजर दौडाउँछ ।एकाएक एउटा ट्याक्सी घ्याच्च ... गरेर उसको घरको गेट अगाडि रोकिन्छ । ऊ त्यसलाई हेरिरहन्छ । ट्याक्सीबाट एकजना व्यक्ति ओर्लन्छ । उसलाई त्यस व्यक्ति परिचित झैं लाग्छ । कहाँ कहाँ देख्या जस्तो तर बुढ्यौलीको कारणले उसको कमजोर आँखाले ठम्याउँन सक्दैन । कालो सुट लगाएको त्यस व्यक्तिले ड्राइभरलाई पैसा दिँदै पछाडिको डिकीबाट सुटकेशहरु निकाल्न थाल्छ ।ऊ रामेतिर मुखामुख भई हडबडाउँदै भन्छ- 'ए रामे ! खै खै मेरो चस्मा ले त । तल को आएको रहेछ ? मैले ठम्याँउन सकिन । चिनेँचिनेँ जस्तो त लाग्छ ।'रामे हत्तपत्त टेबुलमा राखिएको चस्मा ऊतिर तेर्स्याउँदै कप झ्यालमा राखेर, चस्मा लिई कमिजको फेरले पुछ्दै लगाउन खोज्छ । रामे उत्तेजित भै हर्षमिश्रित भावले ऊतिर मुखरित हुँदै भन्छ -' हजूरले कस्तो नचिन्नुभएको ! अतुलबाबु आउनुभाको रहेछ ।'उसलाई अचम्म लाग्छ । बाह्र वर्षपछि खोलो फर्क्यो ? विश्वासै मान्दैन । गहिरिएर त्यस आगन्तुकलाई हेर्न थाल्छ । ट्याक्सीबाट सुटकेश निकाली उक्त व्यक्ति बच्चालाई डोर्याउदै गेटबाट भित्र पस्छ ।उसले बल्ल ठम्याउँछ, अतुल नै रहेछ । उसको एकमात्र छोरो । हेर कस्तरी दुब्लाएछ मनमनै सोच्छ ।छोराको आगमनले उसको दुखित् मनमा अलिकति भएपनि शितलता छाउँछ । आज कस्तो दिनमा आएछ, मनमनै गुन्न थाल्छ । आमाले त्यत्रो करजोरी विन्ती गर्दा पनि नआएको छोरो आज विना बोलावट आएको देखेर उसलाई आश्चर्य लाग्छ । मनमा छोराप्रतिको माया पलाएर आउँछ । के भएर आएछ ? कसरी आइपुगेछ ? मनमा कौतुहलता छाउँछ ।'बुबा'योे शब्द कानमा पर्नासाथ ऊ हर्षले विभोर भई छोरोतिर दृष्टि फ्याक्छ । धेरै वर्षपछि उसको कानमा परेको यो शब्द उसलाई धित मरुन्जेलसम्म सुनिरहँजस्तो लाग्छ ।अतुल सरासर आई बुबाको गोडामा ढोग दिन्छ । ऊ खुशीले आल्हादित हुँदै छोरालाई छातीमा लगाउँछ । बुढो आँखा रसाएर आउँछ । आँसु पुछ्दै भावावेशमा स्वास्नीको फोटोतिर हेर्देै भन्छ-'लौ हेर उष्मा हाम्रो छोरो फर्केर आएन त ? मैले त तिमीलाई पहिले नै भनेको थिएँ नि हाम्रो छोरा एकदिन अवश्य फर्केर आउनेछ भनेर । तर... तिमीले हतार गर्यौ । पर्खन सकिनौ ।'वाक्य घाँटीमै अड्किन्छ, गला अवरुद्ध हुन्छ । अनि अतुलको अनुहार दुबै हातले उठाई धित मरुन्जेल हेर्छ । उसको आँखा रसाएर आउँछ । छोराको त्यो मलिन अनुहार, दुब्लो शरीर आँखाभरि बेदना भरिएर निस्तेज आँखा । छोराको यो अवश्थादेखि ऊ झन् भावविह्रल हुँदै भन्छ ।'यो के गति बनाएको आफ्नो ? के भयो तलाई ? अनुहार साह्रै मलिन देख्छु । के भयो ?''बुबा मलाई माफ गर्नुस्, मैले तपाईहरुको साह्रै चित्त दुखाएँ । त्यसको फल म आज भोग्दैछु । आफ्नो निहित स्वार्थका लागि आमाबाबुप्रतिको कर्तव्यलाई भुलेँ । तर मैले पनि कहाँ सुख पाएँ र बुबा ?' आँखाभरि आँसु राखेर अतुल भन्दै जान्छ, 'बुबा यो हजुरको नाति ।' नगिचै टुलुटुलु हेरिरहेको सानो बालकतिर औल्याउँछ ।'यसले पनि त आमा गुमाउँनु पर्यो, मैले जस्तै यो पनि टुहुरो भयो बुबा ।'मजस्तै ऊ आश्चर्यचकित मुद्रामा कहिले अतुललाई हेर्छ त कहिले त्यो बालकलाई हेर्छ । उसलाई विश्वास गर्न गाह्रो भइरहेको हुन्छ । अतुल भन्दै जान्छ, 'हो बुबा हो, यो सत्य हो । एलनको मृत्यु भयो, कार एक्सिडेन्टमा । म पनि एक्लिएँ । मैलै हजुरलाई एक्लो पारेर भगवानले मलाई पनि एक्लो पार्यो । मम्मीले कति बोलाउँनु भयो तर ... मैलै कहिल्यै सोचिन कि मम्मीले मलाई कति माया गर्नुहुन्थ्यो भनेर, उहाँको मायालाई बुझ्ने कोशिस् गरिन । आफ्नै स्वार्थमा अल्झिरहेँ । हजुरको आज्ञाको पनि उलंघन गरेँ । आज मलाई यसको ठूलो पश्चाताप भइरहेछ । मैले जिन्दगीमा ठूलो भूल गरेँ । आमाबाबुलाई आफ्नो स्वार्थका लागि बिर्सिएँ । आफ्नो कर्तव्यबाट चुकेँ । मम्मीको मायालाई त गुमाएँ, गुमाएँ । अब हजुरको मायालाई पनि गुमाउन चाहन्न म ।'हात जोडेर आँखाभरि आँसु पार्दै अतुल भन्दै थियो । उसको मन भक्कानिएर आयो, छोराप्रतिको असिम स्नेह पलायो, अनि छोराको आँसु पुछिदिँदै भन्यो -' तँ ठिक समयमा आइस् बाबु । आज तेरी मम्मीको श्राद्ध हो, जा माथि गएर नुहाई धुवाई गरेर आइज । बाजे पनि आउँने बेला भयो । 'अतुल आश्चर्यचकित भइ बाबुको मुहारमा ट्वालट्वाल्ती हेर्न थाल्छ । बुबा आज मम्मीको श्राद्ध... त्योभन्दा बढी बोल्न सक्दैन, पीडाले पोल्न थाल्छ । अनि दुई हातले मुख छोप्दै हिक्कहिक्क गर्दै रुन थाल्छ । अघिदेखि चुपचाप टोलाइरहेको त्यो सानो बालक, बाबु रोएको देखेर अगाडि बढ्छ र अतुलको कोट तान्छ । त्यो अवोध बालकलाई त्यहाँ के भइरहेको छ भन्ने केही थाहा हुँदैन । आफ्नो बाबु दुई हातले मुख छोपेर रोइरहेको कारण बुझ्न सक्दैन । त्यसमाथि नेपाली भाषाको ज्ञान नभएकाले अचम्मित भै अतुलको कोटको फेर समात्दै अंग्रेजीमै सोध्न थाल्छ - 'व्हाट ह्यापेन्ड ड्याडी ? व्हाट ह्यापेन्ड ?'अतुल छोरातिर हेर्छ अनि दुई हात पसारेर छोरालाई बोक्छ । त्यो सानो बालक आफ्नो ससाना हातले बाबुको आँसु पुछ्न थाल्छ ।'बुबा हजुर बाजे पनि आइपुग्नु भयो ।'रामेले खबर ल्याउँछ ।'जा सबै ठिक पार । म पनि आउँछु', उसले रामेलाई आदेशयुक्त स्वरमा भन्दै अतुलतर्फ फर्कि पुनः भन्छ, 'नरो बाबु के गर्ने दैवको लिला यस्तै रहेछ । हुने हुनामी टारेर टार्न सकिदैन रहेछ । के गर्ने आज तेरी मम्मी भएकी भए कति खुशी हुन्थिन्, तँलाई देखेर । जा भयो नरो, नुहाएर आइज । आज तैले नै श्राद्ध गर ।' छोराको कपाल मुसार्दै सम्झाउँछ ।अतुल बाबुतिर हेर्दै आँसु पुछ्दै छोरालाई हात समात्दै नुहाउँन बाहिर निस्कन्छ । ऊ छोरा गएतर्फ गहिरिएर हेर्छ । सुँइय...लामो सुस्केरा तान्छ । अनि उष्माको फोटोतिर हेर्दै बढबढाउँछ-हाम्रो छोरा फर्कियो उष्मा हाम्रो छोरा फर्कियो । ऊ अब यहीँ बस्छ । तिमीले भनेको जस्तो आफ्नै देशमा, आफ्नै माटोमा । अब त तिमी गुनासो गर्दिनौ होला नि । हाम्रो छोरो विदेशियो भनेर । हेर त, नाति त हाम्रो भाषा बुझ्दैन अग्रेजीमा बोल्नु पर्छ । तर केही छैन म सिकाईहाल्छु नि । कति राम्रो छ । हाम्रो नाति गोरो, चिटिक्क परेको हेरिरहुँजस्तो लाग्ने, ठ्याक्कै बालगोपाल जस्तो । कस्तो मायालाग्दो छ उष्मा, हाम्रो नाति ।'ऊ आज फेरि एकचोटी अर्को मोहजालमा जकडिन्छ ।'बुबा हजुर तल सबै ठिक भैसक्यो ।'रामेको आवाजले ऊ झसंग झस्किन्छ, अनि आफलाई सम्हाल्दै भन्छ, 'ल ल आएँ तँ जा ।'चस्मा फुकाली आँखाको आँसु पुछ्दै हतारिँदै भर्याङबाट तल ओर्लिन थाल्छ । भर्याङबाट आवाज निरन्तर आइरहन्छ, ' ढ्याक ढ्याक ढ्याक ।'
प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७ ०१:४८