पहिलो पाइलाशिक्षकले विद्यार्थीलाई कोण पढायौँ । विद्यार्थीले कोण खिचे । नापे । तिनले थाहा पाए कति डिग्रीका कोण रहेछन् । नाम केके रहेछ । यस अर्थमा बैंकिङ । शिक्षकले जानेको सिकायौँ । भोगेको बिर्सियौँ । विद्यार्थीलाई नजानेको घोकायौँ । देखेको लुकायौँ । यहीँनेर मेरो पहिलो सोच हो— सम्ममा कोदालो खन्दै गरेको व्यक्तिको चित्र बनाउने । भिरालोमा खन्दै गरेको चित्र बनाउने । आफूले बनाउनु पर्दैन । विद्यार्थीलाई भने हुन्छ । उनीहरूले आफ्नै चित्र कोर्छन् । आमाको चित्र कोर्छन् । बुबाको चित्र कोर्छन् । अनि त्यही चित्रमा कोण नाप्न लगाउने । यी र यस्ता तर्किवले पढाउने तरिका बदलिन्छ । विद्यार्थी किताबी बन्दैनन् । शिक्षक मायावी बन्दैनन् । नाटक गर्ने । विचरा विद्यार्थीले पत्याउनै पर्ने । के यो र यस्तै तरिकाले गणित पढाउने हो त ?
दोस्रो पाइलाशिक्षकले अङ्ग्रेजी पढायौँ । दिस इज ए म्यान । विद्यार्थी क्रमशः घोक्ने बन्यो । अरूलाई देखाउने बन्यो । आफूलाई बिर्सियो । यस अर्थमा मार्क्सको बिछोडवादी (Alienist) । पढाइ र आफूलाई नजोड्ने । यो हाम्रो विशेषता हो । बिछोडमै पढाउने । बिछोडिनै पढ्ने । यहीँनेर मेरो भनाइ हो— विद्यार्थीलाई आफैँतिर फर्काउने । आफ्नैतिर फर्काउने । आफूतिर फर्काउँदा शरीरका अङ्ग अङ्गको नाम सिकाउने । माई हेड । माई नोज । आफ्नैतिर फर्काउँदा मेरो खेत । मेरो बारी । मेरो घर । मेरो डेरा । मेरो थाल । मेरो कचौरा । यसो गर्दा विद्यार्थीले मबारे जम्मै जान्दछ । मेरोबारे जान्न थाल्छ । यहीँनेर शिक्षक भनौँला पाठ्यपुस्तकमा त अर्कै छ नि । त्यहीँ हाम्रो दुर्बुद्धि हो । के मबारेको पाठ्यपुस्तक बन्दैन र ? मेरोबारेको पाठ्यपुस्तक हुँदैन र ? के हामी शिक्षकले यस्तो उपक्रम थाल्ने हो त ?
तेस्रो पाइलाहामी रोगी हौँ । पत्यारका रोगी । त्यसैले भन्छौँ— जोन डिवे (John Dewey) ले परियोजना विधि ल्याए । हो र ? बुद्धले पुत्रशोकमा रहेकी महिलालाई मान्छे नमरेको घरको अन्न खोज्न लगाए । तिनले खोजिन् । पछि बुझिन्— त्यस्तो घर नै हुँदो रहेनछ । कत्रो ठूलो परियोजना विधि । कति सहज तरिकाले सिकाउने विधि । यस्तै तरिका नचिकेताले गरे । ब्रम्ह के हो ? प्रश्न यही हो । बुबाले भनिदिए— आफैँ खोज । यो खोजले नचिकेताले अनेकन ब्रम्ह बुझे । अन्नं ब्रम्ह । जलं ब्रम्ह । खं ब्रम्ह । तेज ब्रम्ह । यसरी ब्रम्ह चिनाउने नचिकेताका बुबाको तरिकामा परियोजना विधि छैन र ? त्यसो हो भने पश्चिमाले भनेको जोन डेवी परियोजना विधिका स्रस्टा हुन् त ? उनीहरूलाई होला । हामीलाई नहुन सक्दैन र ? यहीँनेर मेरो भनाइ हो— के हामी ज्ञानको भित्तोे खोज्न सक्छौँ त ? खोजाउन सक्छौँ त ? प्रत्येक कुरामा हाम्रा पुर्खा कति र उनका पुर्खा कति भन्न जान्दछौँ त ?
चौथो पाइलापत्याउनेहरू भरिया हौँ । शिक्षक नामधारी भरिया । विद्यार्थी नामधारी भरिया । यस्तै भरियाहरूले गर्दा हामी आक्रान्त छौँ । त्यसैले हामी जे पढ्छौँ त्यहीँ छोड्छौँ । भरियाबुद्धिकै बसियत हुन्छौँ । त्यसैले स्वस्थानी पढ्दा ‘निमेष भरका लागि त्रिपुर जोडियो’ भन्छौँ । निमेष भनेको कति मिनेट हुन्छ सोच्दैनौँ । केको भारी भनी नसोध्ने भरिया जस्ता । अनि मिनेट पढाउँदा साठी सेकेन्ड सिकाउँछौँ । अर्थात मिनेट पढाउँदा मिनेट मात्रै सिकाउने भरिया । निमेष सिकाउँदा निमेष मात्रै सुनाउने भरिया । यो भरिया बुद्धि बदल्ने हाम्रो रहर छ त ? छ भने मेरो सोच त्यही हो । युक्लिडको गणितमा वेदको गणित खोज्ने । वेदको गणितमा युक्लिडको गणित हेर्ने । के यस्तो बाटोमा हामी भरिया बुद्धिका शिक्षक लाग्न सक्छौँ त ? नवभरिया बनाइएका विद्यार्थी लाग्छौँ त ?
बुद्ध पढ्दा सन्देह ठिक भन्ने । मार्क्स पढ्दा वर्ग ठिक भन्ने । सन्देह ठिक कि वर्ग (Skepticism or determinism) ?
पाचौँ पाइलासन्देहमा बुद्धि जन्मन्छ । हामी पत्यारमा लाग्यौँ । यहीँनेर बुद्धलाई मा¥यौँ । सिर्जनालाई मार्यौं । बुद्ध पढ्दा सन्देह ठिक भन्ने । मार्क्स पढ्दा वर्ग ठिक भन्ने । सन्देह ठिक कि वर्ग (Skepticism or determinism) ? पहिलो सर्जक हो । दोस्रो पिछलग्गु । यस अर्थमा हामी पिछलग्गु हौँ । पिछलग्गु शिक्षक । पिछलग्गु विद्यार्थी । यहीँनेर मेरो भनाइ हो— सन्देह गर्न पो सिकाउने हो कि ? शिक्षकमा सन्देह । विद्यार्थीमा सन्देह । ‘गुरु ब्रम्ह गुरु विष्णु’ भन्ने रट भन्दा भिन्न । के हामी यस्ता भिन्न सोची शिक्षक बन्न सक्छौँ त ? भिन्न सोची विद्यार्थी बनाउन सक्छौँ त ?
छैठौँ पाइलाहामीले ठान्यौँ— हामी जान्दछौँ । विद्यार्थीले पनि ठाने शिक्षक जान्दछौँ । के साँच्चै हो र ? खसी काट्दा तेल बेसार लाउन कसले सिकायो ? शिक्षकले हो र ? पढे लेखेकाले हो र ? बरु हामीले भने तेल र बेसार मिसाउँदा यो रासायानिक प्रक्रिया हुन्छ भन्यौँ । खरानी र बेसार पकाउँदा यसो हुन्छ भन्यौँ । पकाउन सिकाउने त अनपढ हुन् नि । तेल बेसार लगाउन सिकाउने त उनै हुन् नि । यस अर्थमा शिक्षकहरू विश्लेषक रहेछौँ । अनपढहरू स्रष्टा । को ठूलो स्रष्टा कि विश्लेषक ? यति बुझ्यौँ भने शिक्षकको मपाइँ कमजोर हुन्छ । गुरुब्रम्हको मपाइँ । अनि प्रश्न जन्मछ । ब्रम्ह गुरु कि ? गुरु ब्रम्ह ? यो प्रश्नले हाम्रो चेत फिर्छ । अहं घट्छ । अनपढको पनि ज्ञान सकार्ने बुद्धि आउँछ । त्यो बुद्धिले अनपढलाई पनि पढाउने मौका दिन्छ । बाबुको शिक्षा काम लाग्ने हुन्छ । आमाको शिक्षा अर्थ लाग्ने हुन्छ । शिक्षकले विश्लेषण गरिदिन्छ— खरानी पकाउँदा रासायिक परिवर्तन हुन्छ । खरानीमा क्षार छ । बेसारमा अर्कै केही छ । पानीमा हाइड्रोजन र अक्सिजन छ । तताउँदा यौगिक बन्छ । विज्ञानको शब्दावलीमा त्यस्तै त्यस्तै । यहीँनेर मेरो सोच हो— के हामी शिक्षक विश्लेषक बन्न सक्छौँ त ? अनपढको ज्ञानमा विश्लेषण गर्ने । पुर्खाको शब्दमा वैदिक सूत्रका उपनिषद्कार जस्ता । जनबोलीमा पुराणका अर्थेता जस्ता । पण्डित । यसरी सबैको ज्ञानमा सार खोज्न सक्छौँ त ? अनपढलाई पनि आफ्नै समकक्षी मान्न सक्छौँ त ? गुरु ब्रम्हको धङधङीबाट माथि उठ्न सक्छौँ त ? हिङ बाँधेको टालो बोक्ने बुद्धिबाट माथि । के त्यतातर्फ लाग्ने हो त ?
ब्रम्ह गुरु कि ? गुरु ब्रम्ह ? यो प्रश्नले हाम्रो चेत फिर्छ । अहं घट्छ । अनपढको पनि ज्ञान सकार्ने बुद्धि आउँछ । त्यो बुद्धिले अनपढलाई पनि पढाउने मौका दिन्छ । बाबुको शिक्षा काम लाग्ने हुन्छ । आमाको शिक्षा अर्थ लाग्ने हुन्छ । शिक्षकले विश्लेषण गरिदिन्छ— खरानी पकाउँदा रासायिक परिवर्तन हुन्छ । खरानीमा क्षार छ । बेसारमा अर्कै केही छ । पानीमा हाइड्रोजन र अक्सिजन छ ।
सातौँ पाइलापढाएको जाँच्न हामीले उपाय गर्यौं । जाँचको नाटक । टेप रेकर्डरको काम विद्यार्थीले गरे वा गरेनन् भन्ने कुरा हेर्ने नाटक । विद्यार्थी झन् चलाख भए । चिट बनाए । व्यवसायी अझ चलाख भए । गाइडबुक र नोटबुक बनाइदिए । शिक्षक अझ चलाख भयौँ— ती किताबमा नाम लेख्यौँ अनुभवी शिक्षक । अनुभवी प्राध्यापक । मोबाइल बोक्ने विद्यार्थीले त त्यसैबाट चो¥यौँ । यस अर्थमा हामी चोर्न र चोराउन जान्नेहरूको जमात भयौँ । त्यसैले हाम्रा सिर्जनाहरू मरे । मारिए । यहीँनेर मेरो भनाइ हो— जाँचको बुद्धि बदल्न सक्छौँ त ? चिटले नधान्ने बुद्धि । घाँसदाउरा गर्दा भेटेका वनस्पतिको वर्गीकरण । भात पकाउँदा जन्मेको भौतिक र रसायनशास्त्रको सूत्रको पहिचान । पाहुना आउँदाको बेलाको अर्थशास्त्र । राजनीतिशास्त्र । प्रत्येक वर्ष प्रश्न बदल्ने तागत भएका शिक्षक । के हामी त्यस दिशातर्फ लाग्न सक्छौँ त ? लागेका छौँ त ?
निचोडब्रम्हवादीको दृष्टिमा हामी गुरु । गु सिकाए पनि गुरु । रु सिकाए पनि गुरु । त्यसो भए हामी हराम बन्न मिल्यो त ? नपढाउने हराम । चिट चोराउने हराम । अनियमित हुने हराम । दसबीस मिनेट मात्रै पढाउने हराम । विद्यार्थी फेरिँदा पनि पढाउने शैली नबदल्ने हराम । के हामी राम बन्न सक्छौँ त ? पेसागत हराम । समयगत हराम । दोस्रो निचोड हो— हामीले मात्रै बनाउन सक्छौँ । चलाउन सक्छौँ । बसका ड्राइभर हामी हौँ । तेस्रो निचोड हो— पढाउने तरिका बदलौँ । रूपान्तरित आफैँ हुन्छौँ । रूपान्तरक आफैँ बन्छौँ । त्यति बेला ‘रूपान्तरण’ घोक्तैनौँ । गर्छौं (Praxis)। के हाम्रो सोच त्यतातिर लाग्ला त ? सातैवटा पाइलामा एकैसाथ प्रवेश गर्न सक्छौँ त ?
(कोभिड–१९ को महामारीका कारण अहिले परम्परागत शिक्षण पद्धति नै परिवर्तन गर्ने अभ्यास जारी छ । यस अर्थमा जनता प्रसारण तथा प्रकाशन लिमिटेडबाट प्रकाशित वरिष्ठ शिक्षाविद प्रा डा विद्यानाथ कोइरालाको चर्चित पुस्तक शिक्षामा सोचान्तरणबाट यो अंश साभार गरि प्रकाशित गरेका हौं ।–सम्पादक)