-अरुणदेव जोशी “एक जना साधुले हिमालबाट स्वर्ग जाने बाटो पत्ता लगाएका छन् रे” “कहाँको हिमालबाट ?” “हाम्रै हिमालको कुन ठाउँमा हो ।” “त्यस्तो पनि हुन्छ र ? स्वर्ग जाने बाटो पनि कतैबाट होला र ? स्वर्ग या नर्क त मरे पछि मात्र पुगिन्छ ।” “महाभारतमा पाण्डवहरु जिउँदै हिमालकै बाटो स्वर्ग गएका होइनन् त ?” “त्यो त एउटा कथाको कल्पना मात्र हो ।” “महाभारत कथा होइन इतिहास हो । फेरि कथै भए पनि नभएको कुरा कल्पना गर्न सकिन्छ र ? भएरै त लेखेको होला ।” “जे होस यो चाहिं सत्य हो । त्यहाँ हिमालमा एउटा साधु लामो समयदेखि केहि खोजी गरिरहेका छन् रे । हिमाल आरोहण गर्न जानेहरुले प्रत्यक्ष देखेर भनेको कुरा हो ।” “के गर्दै रहेछन् त ती साधु हिमालमा ? ” “अघि नै भने नि स्वर्ग जाने बाटो पत्ता लगाएका छन् रे ।” “कस्तो हुँदो रहेछ स्वर्ग जाने बाटो ?” “त्यो त त्यहि पुगेर हेरपछि थाहा हुन्छ ।” “जाउ न त ? आएर हामीलाई पनि बताउनु कस्तो हुँदो रहेछ स्वर्ग जाने बाटो !” “जाने त हो नि । म रिपोर्टिङको लागि जान लागेको, गएर आएपछि तिमीहरुलाई मात्र होइन सारा संसारलाई बताउँछु, कस्तो रहेछ स्वर्ग जाने बाटो !” ०००००
यी काठमाडौको एक दैनिक पत्रिकाको कार्यालयमा भएका संवाद हुन् । यो सम्वादपछि प्रभाकर रिपोर्टिङका लागि हिमालयतिर हानिन तयार भयो । तर साधुको प्रयोगशाला कसरी खोज्ने ? कुन हिमालतिर जाने ? कता लाग्ने ? प्रभाकरले धेरै हिमाल आरोहीहरुलाई भेट्यो । तर कसैले साधुको प्रयोगशाला देखेको कुरा गरेनन् । तर सबैले यति चाहिँ भने हिमालमा साधुको प्रयोगशाला छ रे,आरोहीहरुले देखेका छन् रे ? तर प्रयोगशाला देख्ने अरोही कसैले देखाउन सकेनन् ।प्रयोगशाला भएको हिमाल आरोहणको नियमित बाटोमा होइन । अलि फरक बाटोमा छ । बाटो विराएका आरोहीहरुले देखेका थिए रे । देख्ने चाहिँ को हो त ? प्रभाकरले जति अनुसन्धान गरे पनि पत्ता लगाउन सकेनन् । कञ्चनजङ्घा हिमालको बायाँतिरको खोंचमा कतै हो रे । आफैंले देखेको छु भन्ने कोहि नभेटिए पनि धेरैले त्यसै भने । धेरैले भनेकैतिर जाने विचार गर्यो प्रभाकरले । त्यसकालागि उसले हिमाल आरोहणको प्रशिक्षण समेत लिनु प¥यो । तर नयाँ अनि अद्भूत कुराको रिपोर्टिङ गर्ने इच्छाले सबै गरायो । सब तयारी गरेपछि प्रभाकर हानियो हिमालतिर, अन्नपूर्णको खोँचमा स्वर्ग जाने बाटो खोज्न । ०००००
साँच्चिकै साधुको प्रयोगशाला भेटियो । तर सजिलो थिएन । अन्नपूर्णको खाेंचमा धेरै भौतारिने,फर्किएर फेरि बस्तीमा आउने, फेरि भौतारिन जाने गर्दा गर्दा एक दिन प्रभाकरले एक जना अनौठो मानिस देख्यो । सेतो मानिस । सबै शरीरभरि सेतो रौं भएको । एक छिन् के के नबुझिने कुरा बोलेपछि उसले नेपालीमै बोल्यो । प्रष्ट नेपालीमा बोलेकोले ऊ मानिस जस्तो देखिने मात्र होइन, मानिसनै हो भन्ने यकिन भयो प्रभाकारलाई । तर सबै मानिस जस्तो मानिस ऊ थिएन । त्यसैले हिमालमा पाइने “यति” यहि हो भन्ने निष्कर्शमा पुग्यो प्रभाकर । हिमालमा “यति भेटियो” भन्ने समाचार बनाउन मन लाग्यो । यति देखिएको समाचारले विश्वमै तहल्का मच्चिने कुराले उसको पत्रकार मन लोभियो । त्यसैले उसलाई समाचार बनाउन हतारो भयो । तर यतिलाई छोडेर जाने हिम्मत पनि आएन । किन भने यतिले साधुलाई चिनेकोे कुरा गरेको थियो । साधुलाई भेटाइदिने वचन दिएको थियो । त्यसैले यतिको समाचार भन्दा स्वर्ग जाने बाटोको कथा लेख्ने रहरले तान्यो प्रभाकरलाई । यतिले भन्यो–“मलाई साधुले नै यहाँ पठाएको हूँ । एउटा मान्छे पटक पटक आएर भौतारिएको देखेर साधुले नै त्यो मान्छेलाई मकहाँ लिएर आउ भनेर पठाएका हुन् ।” प्रभाकर यतिसँगै गयो । यति बाटोमा केहि बोलेन । फटाफट अगाडि हिँडिरहयो । प्रभाकर उसलाई लुरुलुरु पछ्याई रहयो । कयौं घण्टा हिँडे पछि यति एउटा सानो दुलोबाट भित्र पस्यो । प्रभाकर जिल्ल प¥यो । ऊ यति छिरेको सानो दुलो हेरिरहयो । एकै छिनमा फेरि यति त्यही दुलोको मुखमा देखियो । प्रभाकरलाई यतिले दुलो भित्र छिर्न बोलायो । प्रभाकर हेर्दा निकै सानो र साँघुरो देखिने दुलोमा पस्न सकिन्न कि भनेर डराई डराई पस्यो । ००००००
दुलोबाट भित्रमात्र के पसेको थियो प्रभाकरको आश्चर्यको सीमा रहेन । आश्चर्यसँगै डर पनि लाग्यो । दुलोबाट छिरेपछि उ भव्य कोठाहरु भएको एउटा घरमा पुगेको थियो । जसको अवशेष अघिको दुलो बाहिर कतै देखिएको थिएन–यस्तो भव्यताको संकेत । शिशै शिशाले घेरेका कत्ति कोठाहरु । कुनै शिशा पूरै पारदर्शी त कुनै शिशाबाट भित्र कोठामा केहि नदेखिने ! शिशा जस्तो देखिएका सबै हिउँ नै रहेछन्, प्रभाकरले एक छिन्मा बल्ल बुभ्mयो । तर हिँउलाई शिशा रुप दिने गजबको कलाकारिता देखेर आश्चर्य पर्नु सिवाय उससँग अरु कुनै विकल्प थिएन । अघिको सेतो मान्छेले कतै देखिएन । तर एक जाना सेतो पहिरनमा सजिएकी सुन्दर महिला देखा परिन् । मुसुक्क मुस्कुराएर ती सुन्दर महिलाले प्रभाकरलाई आप्mनो पछि आउन ईसारा गरिन् । प्रभाकर पनि मन्द मुस्कुराएर महिलाको सौन्दर्यमा लठ्ठिदै पछि पछि लाग्यो । हिँउँनै हिउँको भित्ताहरुबीचको बाटो हुँदै केहि पर पुगेर महिला टक्क अडिइन् र प्रभाकरतिर हेरेर मुस्कुराईन् । बद्लामा प्रभाकरले पनि महिलालाई मुस्कान नै दियो । महिलाले हिउँको भित्तामा हातले धकेलिन् । भित्तामा त ढोका पो खुल्यो ¤ महिलाले प्रभाकरलाई भित्र जान ईसारा गरिन् । प्रभाकर अचम्म मानेर ढोकातिर हेर्दै कोठा भित्र पस्यो । ढोका सेतो हिउँ जस्तै थियो । प्रभाकरले कोठा भित्र पसेपछि ढोका आफैं बन्द भयो । ढोका बन्द भएपछि प्रभारकले फर्किएर ढोकातिर हे¥यो । ढोका बन्द थियो । तर भित्रबाट हेर्दा पारदर्शी ढोका बाहिर अघिको ती महिला मुस्कुराईरहेकी थिइन् । प्रभाकरलाई हल्का टाउको निहुँरेर अभिवादन गर्दै महिला त्यहाँबाट हिडिन् । प्रभाकर हतार हतार ढोकातिर आएर ढोका खोलेर बाहिर आयो महिलालाई हेर्न । ऊ बाहिर आउँदा ढोका आफै बन्द भयो । ढोका बाहिर महिला देखिईनन् । प्रभाकरले ग्यालरीमा केहि परसम्म पुगेर हेर्यो तर महिला कतै देखिईनन् । प्रभाकर फेरि फर्किएर ढोकामा आयो । तर यसपटक उसले ढोकानै भेटाएन । सबै तिर हिँउको भित्ता मात्र थियो । प्रभाकर अलमलमा पर्यो । ढोका नियालेर खोज्यो तर कतै देखिएन । उसले भित्ता धकेली धकेली ढोका खोज्दा एक ठाउँमा बल्ल ढोका खुल्यो । प्रभाकरभित्र पस्यो । भित्र पसेर प्रभाकरले फेरि ढोकातिर फर्किएर हे¥यो । बाहिर सेतो लुगा लगाएकी केटी ढोका अगाडिबाट जाँदै गरेको उसले छर्लङ्ग देख्यो । कोठामा सेतो तन्ना भएको एकदम आलिशान विछ्यौना थियो । टेबल कुर्सी र आराम कुर्सी पनि थियो । प्रभाकर एकछिन् आराम कुर्सीमा बस्यो । टेबलमा केहि फलफुल थियो स्याउ,अंगुर सुन्ताला अनि अरु केके । प्रभाकरले अंगुरको एउटा दाना चुँडालेर मुखमा हाल्यो । नजिकै एउटा फ्रिज पनि रहेछ । प्रभाकर फ्रिजसम्म गयो अनि खोलेर हे¥यो । फ्रिजभरी अनेकथरि खाने कुरा थियो । केहि बेर कोठा नियाल्दै प्रभाकर खाटमा आएर बस्यो । शिरानसँगै राखिएका केहि किताब हे¥यो । केहिबेर खाटमानै बसिरह्यो ऊ । कतै कसैको उपस्थितिको छनकसम्म पाएन उसले । प्रभाकर खाटबाट उठ्यो बाहिर जान ढोका खोल्यो अनि आफै बन्द हुन लागेको ढोका एउटा सानो स्टुलले अडायो । अनि ग्यालरीबाट अगाडि बढ्यो । कोहि भेटिन्छ कि भन्ने खोज्नु उसको एउटै उदेश्य थियो । जताततै सेतो भित्ता थिए कतै कतै भने पारदर्शी पनि । पारदर्शी भित्ता भित्र अनुसन्धान कोठा जस्तो देखिन्थ्यो । तर त्यहाँ अनुसन्धान गरिरहेका कोहि थिएनन् । यता उता केहि चिज नियालेर प्रभाकर फेरि आप्mनै कोठातिर फर्कियो । उसले आएर ढोका अडाएको टेको हटायो । ढोका बन्द हुन थाल्दा आफू फेरि खाटमा आएर बस्यो । हातहरु टाउको पछाडि लगेर एकछिन् पल्टियो ऊ तर एकैछिन्मा भुसुक्क निदाएछ । ०००००
केहिबेर पछि अचानक निद्रा खुल्यो । एउटा रातो आकृति पारदर्शी ढोका बाहिर देखियो । उसको निद्रा खुलेको देखेर त्यो आकृति त्यहाँबाट भागेर गयो । प्रभाकरले दौडेर गएर ढोका खोल्यो,यता उति हे¥यो कतै कोहि देखिएन । आश्चर्यमा परेर ऊ फेरि ओछ्यानमा फर्कियो । फेरि त्यही रातो आकृति ढोका अगाडिबाट स्वाट्ट गएको देखियो । प्रभाकर आश्चर्य चकित भएर ढोकातिर हेरिनै रह्यो । फेरि आकृति फर्किएर अर्को दिशामा गयो । यस्तो देखेर प्रभाकर ढोका खोल्न तयार भएर ढोकामानै उभियो । फेरि आकृति देखिने प्रतीक्षामा केहि बेर त्यही उभिइरह्यो ऊ । नभन्दै केहिबेर पछि ढोका अगाडि फेरिआकृति देखियो । उसले एक झट्कामा ढोका खोल्यो । केहि पर पुगेकी रातो लुगा लगाएकी महिला टक्क उभिई । शरीर चट्ट मिलेकी पछाडिबाटै सुन्दर लाग्ने महिलालाई प्रभाकरले सोध्यो– “तिमी को हौ ? किन यता उति भागी मात्र रहेको ?” महिला केहि बोलिनन् । जहाँको त्यही उभिईरहिन् मात्र । प्रभाकरले फेरि भन्यो–“यता हेर त ।” महिलाले विस्तारै मुन्टो फर्काई । प्रभाकरको अनुहार ट्वाल्ल परेर हेरेको हे¥यै भयो । उसले केही बोल्नै सकेन । उसको बोलीनै फुटेन । महिला आफै बोलिन् । “के ट्वाल्ल परेको ? किन यति चकित हुनुभएको ? म तपाईँकै श्रीमती कोपिला होइन र ?” प्रभाकर फेरि पनि बोल्न सकेन । उसैगरि ट्वाल्ल परेर हेरेको हे¥यै भयो । “के भयो तपाईँलाई ? तपाई त स्वर्ग जाने बाटो खोज्न आउनुभएको होइन र ? स्वर्ग जाने बाटोमा स्वर्ग गएका सबै भेटिन सक्छन् । म पनि भेटिएँ ।” प्रभाकर बल्ल बोल्यो – “१० वर्ष भयो । तिमी त जस्ताको तेस्तै रहेछौ ।” “तर तपाईँ त बुढो हुन थाल्नु भएछ । कपाल फुल्न थालेछ हिहि ।” कोपिलाको मिठो हाँसो सुनियो । “हो नि, तर बुढो नै त भैसकेको छैन । कपाल चाहिँ फुल्न लागे । तर तिमी त जस्तीको तस्तै ?” “तिमी रे ? तपाईले मलाई तिमी भन्नुहुन्थ्यो र ?” “के भन्थेँ त ? भन्न त तँ भन्थेँ । तर अहिले यत्तिका वर्षपछि भेट्दा तँ भन्नै सकिँन । सुरुमा विहे गर्दा त तिमीनै भन्थेँ नि,होइन ?” “अनि तपाई आफैंले तँ भन्दा निकै नजिक लाग्छ तिमी भन्दा टाढा जस्तो लाग्छ भनेको होइन ? के अहिले म टाढा भएको हूँ त ?” “अनि टाढा त छौ नि । यत्तिका वर्षपछि त देख्दैछु । त्यो पनि के हो के हो, सपना जस्तै लागिरहेछ ।” “अनि मनमा त सँधै रहन्छ,मनबाट कहिल्यै टाढा हुँदैन भनेको होइन आफैंले ?” “हो नि मनबाट त कसरी हटाउन सक्छु र ? यत्तिका वर्ष न सपनामा देखेको छु न विपनामा तर मेरो मनबाट कहिल्यै टाढा भएकी छैनौ ।” “भर्खरै तँ बाट तिमी बनाएर टाढा गरिसक्नुभयो त !” “तँ त कस्तो जस्ताको तस्तै । केहि फरक भएको रहेनछेस् ।” दुवै जना जोरले हाँसे । “मैले साँच्चि भन्या, तँ त कस्तो जस्ताको तस्तै ?” “अनि मेरो उमेर पनि त त्यतिनै हो नि,जति थिएँ । तपाईको पो बढ्दै गयो उमेर ।” “यता आएपछि उमेर बढ्दैन हो ?” “अनि तपाईनै सिकाउनु हुन्थ्यो त कहिलेकाहिँ मलाई–सबैतिर समयको गति एउटै हुँदैन । पृथ्वी र अन्तरीक्षमा पनि समय एउटै हुँदैन । पृथ्वीमा समय छिटो छिटो जान्छ भने अन्तरिक्षमा निकै ढिलो हुन्छ भनेर ।” “तँ भएको ठाउँमा त समयनै छैन जस्तो छ । तँ त साँच्चिकै जस्ताको तस्तै रहिछेस् ।” “मानिस बुढो हुने त शरीरको कोष बुढो भएर होनि । मेरो शरीरका कोष त तपाई आफैंले पशुपतिमा जलाएको होइन ?” अर्कै हाँसो सुनियो कोपिलाको । प्रभाकर केहि बोल्न सकेन । ऊ वाल्ल प¥यो । हेरेको हे¥यै भयो । यसपटक उसलाई अलि डराएको अनुभूति भयो । “के भयो किन डराएको ? म भूत होइन । म तपाईकी कोपिलानै हूँ । जस्तो थिएँ त्यस्तै छु । तपाईसँग बस्दा कोपिलाबाट फूल बन्न लागेको थिएँ । तर फूल बन्नै नपाई यहाँ आएँ र अहिलेसम्म कोपिला नै रहेँ ।” फेरि हिहि मिठो हाँसो सुनियो कोपिलाको । “हिँड्नुस् कति उभिएरै कुरा गर्ने ? कोठामा जाउँ ।” कोपिलाले हात समाएर प्रभाकरलाई कोठातिर लिएर गईन् । प्रभाकार निकै अचम्ममा परेको थियो । दुवैजना प्रभाकरको कोठामा पुगे । कोपिलाले प्रभाकरलाई खाटमा लगेर बसाईन् । दुवै खाटमा बसेर एक अर्कालाई हेरिरहे । कोपिलाको अनुहारमा हँसिलो मुस्कान थियो । प्रभाकर अलिअलि जिल्ल परेको जस्तो, अलि अलि खुसी भएको जस्तो वाल्ल परेर कोपिलालाई हेरिरहेको थियो । “फेरि के ट्वाल्ल परेर मलाई हेरिरहनु भएको ?” प्रभाकर हेरेको हे¥यै थियो । त्यसैले उसले कोपिलाको कुरा सुनेन । कोपिलाले प्रभाकरलाई हल्लाउँदै भनी– “के हेरिरहेको ?” “यहाँ अरु सबैका लुगाहरु सेतो मात्र देखें तर तेरो चाहिँ लुगा रातो किन ?” अनि श्रीमान् जिउँदै भएका श्रीमतीले सेतो लुगा लगाउँछन् त बुद्दु ? कस्तो कस्तो कुरा सोध्नुहुन्छ । “ए ! स्वर्गमा पनि त्यस्तो हुन्छ र ? स्वर्ग, नर्क बैकुण्ठलोक खै के के भन्छन् जे भए पनि ।” “यो सबै भन्ने त तपाईको धरतीमा हो । म भएको ठाउँमा यस्तो केहि छैन । जस्तो सोच्यो त्यस्तै हो ।” “कस्तो हुन्छ त्यहाँ ?” “किन अहिले थाहापाउने इच्छा छ ? त्यहि जानुपर्छ नगई थाहा हुँदैन । थाहा पाउनु पनि हुँदैन । त्यो रहस्यलाई रहस्यनै रहन दिनुपर्छ । सबै चिज पहिले नै थाहा पाईराख्नु जरुरी हुँदैन ।” “अनि त्यहाँ गएपछि त माया, ममता, मोह, लोभ, लगाव, पीडा भन्ने केहि हुँदैन भन्छन् नि ?” “यी आएँ त म तपाईको मायाले तपाईलाई भेट्न ।” कोपिला फेरि हाँसी । प्रभाकर फेरि एकोहोरो कोपिलालाई हेरेको हेर्यै भयो । “के भयो तपाईँलाई ? तपाईको मनमा कति छ नि मेरो माया ? मलाई थाहा छ तपाई मेरो मायाले नै यहाँ आउनुभएको हो । तपाईँलाई यहाँ आउँदा मलाई भेटिन्छकी जस्तो लागेको थियो ?” “कसरी लाग्थ्यो र भेटिन्छ जस्तो ? म त पत्रकार मान्छे,केहि नयाँ खालको रिपोर्टिङ गरुँ भनेर आएको । नयाँ नयाँ ठाउँमा गएर नयाँ नयाँ कुरा हेर्ने रहरले ।” “नढाँट्नुस त मलाई सबै थाहा छ । तपाईको मनको कुरा समेत थाहा हुन्छ मलाई । अर्को कुरा यता आईसकेपछि त्यताको कुरा सबै थाहा हुन्छ के ।” कोपिला फेरि हाँसिन् । “कसरी थाहा हुन्छ ?” “सबै थाहा हुन्छ । तपाई अहिले के गर्दै हुनुहुन्छ । तपाईको जिन्दगीमा के हुँदै छ,सबै थाहा छ मलाई । मेरो छोरा, अर्को सानो छोरा तपाईकी श्रीमती सबै थाहा छ मलाई ।” ‘यसपटक कोपिला अलि भावुक भईन् । प्रभाकर पनि भावुक भएर कोपिलालाई हेरिरह्यो । “तपाई आन्द्रे तार्कोव्स्कीको सोलारिस फिल्म हेरेर सोलरिसमा जस्तै मलाई पनि यहाँ भेटिन सक्छ कि भनेर यता आउनुभएको होइन ? मलाई सब थाहा छ ।” प्रभाकर आश्चर्यमा प¥यो । “मलाई सबै थाहा छ भनेर डराउनु पर्दैन । ल आउ यता ।” कोपिलाले प्रभाकरलाई तानेर अंगालोमा बेरिन् । प्रभाकर कोपिलाको छातिमा टाउको राखेर भावुक भईरह्यो “त्यहाँ भएका सबै राम्रो नराम्रो कुरा यहाँ थाहा हुन्छ । त्यो राम्रो नराम्रोको यहाँ कुनै असर हुँदैन । ती सबै भईरहने चिज हुन् । त्यहाँका चिज यताबाट हेर्दा केहि लाग्दैन,सबै पूर्व निर्धारित जस्तो लाग्छ । सुख दुःख भनेको त्यहाँमात्र हुने हो । यहाँबाट हेर्दा सुख दुख केहि हुँदैन । फर्केर सबै यतै आउने हो । त्यहाँ त केहि क्षण विताए जस्तो । तर त्यहाँ हुँदा कोशिस गरिरहनु पर्छ, त्यहाँ हुन्जेलको अवस्था राम्रो होस् भनेर । भलै ती सब भ्रम नै भए पनि । आफू नभए पनि आफू पछि आउनेहरुको अवस्था राम्रो होस्, त्यहाँको बसाई सुखद र रमाईलो होस भनेर कोशिस गर्ने हो । ए, तिमी सुत्यौ कि क्या हो ?” “छैन । अनि अहिले त तैँले मलाई तिमी भनिस् त !” “मलाई पनि त तपाई भनेको भन्दा तिमी भन्दा नजिक भएको जस्तो लाग्छ नि ।” “अहिले बल्ल पो भईस् तँ मसँग नजिक ?” “मत सँधै नजिक थिएँ । तर कति नजिक छु भनेर जाहेर गर्न सकेको थिईँन ।” प्रभाकर र कोपिला फेरि गहिरो अंकमालमा बाँधिए । कोपिलाले प्रभाकरको ओठमा चुम्बन गरिन् । प्रभाकरले पनि त्यसै गरे । दुवै जना एक अर्कामा समाहित हुँदै गए । शरीर नाङ्गिँदै गयो । एक अर्कामा चर्म स्पर्शले दुवैजना रोमाञ्चित हुँदै गए । त्यो वासनामय माहौल विस्तारै सेलायो । उनीहरु चुपचाप एक अर्काको बाहुपासमानै निदाए । ००००
प्रभाकरको आँखा खुल्यो । सँगैकी कोपिला अहिले थिईनन् । प्रभाकरले छामछुम पार्यो,यता उता हेर्यो । कोपिला कतै देखिईनन् । कोपिलाले खोलेको रातो कपडा सबै जस्ताको तस्तै थिए । कोपिला मात्र त्यहाँ थिइनन् । बाहिर निकै हल्ला खल्ला भईरहेको थियो । प्रभाकर उठेर कपडा लगाएर बाहिर गयो । बाहिर गएर उसले देख्यो हिँउका भित्ताहरु धेरै ठाउँमा पग्लिएका थिए । कतै प्वाल देखिन्थ्यो, कतै भित्ताबाट पानी चुहिरहेको थियो । प्रभाकर हल्ला भएतिर अघि बढ्दैगयो । प्रयोगशाला भएको त्यो ठाउँमा धेरै मान्छे भेला भएका देखिए । प्रयोगशाला भताभुङ्ग भएको थियो । सेता लुगा लगाएका धेरै मान्छे त्यहाँ देखिए । एक जना गेरु वस्त्रधारी मान्छे निकै आक्रोशित मुद्रामा त्यहाँ भएकाहरु सबैलाई गाली गरिरहेका थिए । “मेरो यत्रो वर्षको मिहिनेत, त्याग,तपस्या सबै भताभुंग भयो । मैले यहाँ बनाएको महौल कसले विगा¥यो ? मेरो यो तपस्या सफल हुन मैले सबैलाई मोह वासनाबाट मुक्त हुनुपर्छ भनेको होइन ? तपाईमध्ये कोहि वासनाको शिकार हुनुभएछ । मैले बनाएको स्वर्ग जाने बाटो जोडिनै लागेको थियो । स्वर्गमा गएका पृथ्वीमा आउने र पृथ्वीमा भएका स्वर्ग जाने गरि स्वर्ग र पृथ्वीबीच सम्बन्धको विकास गर्ने मेरा सारा लक्ष्य सबै भतभुङ्ग भए । त्यहि भीडमा ‘‘यति’ पनि थियो । अनि त्यहि भीडमा प्रभाकरलाई कोठासम्म लगेर जाने सेतो वस्त्रधारी महिला पनि थिइन् । प्रभाकरलाई देखेर उनीहरु मन्द मुस्कुराइरहेका थिए । ०००००