-मदन ढुङ्गाना/निरज तामाङकाठमाडौं । कोरोनाको महामारीका बेलामा स्यानिटाइजर नघस्ने नेपालीहरु सायदै होलान् । अझै कयौंले जतिखेर भेट्यो त्यतिखेर, जहाँ भेट्यो त्यहीँ स्यानिटाइजर दल्ने गरेका छन् । जसरी यसको प्रयोग बढ्दै गएको छ, त्यसैगरि बजारमा मनपरि ढंगबाट बिषाक्त स्यानिटाइजरको बिगबिगी पनि बढेको छ । औषधि व्यवस्था विभागका अनुसार अहिलेसम्म जम्मा ४० वटामात्रै कम्पनीले स्यानिटाइजर उत्पादनको अनुमति लिएका छन् । तर बजारमा ३ सयभन्दा धेरै नामबाट स्यानिटाइजर बिक्री भइरहेको पाइन्छ । बजारमा बेचिएका स्यानिटाइजरमध्ये ४५ प्रतिशत गुणस्तरहीन रहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
औषधि व्यवस्था विभागका अनुसार अहिलेसम्म जम्मा ४० वटामात्रै कम्पनीले स्यानिटाइजर उत्पादनको अनुमति लिएका छन् । तर बजारमा ३ सयभन्दा धेरै नामबाट स्यानिटाइजर बिक्री भइरहेको पाइन्छ ।
बजारमा पाइने कैयौं स्यानिटाइजरहरुमा प्राणघातक मिथानोल समेत मिसाएको भेटिएको छ । मिथानोलको थोरै मात्रा पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । मानिसको ज्यानै लिने मिथानोल सूर्यमुखी ह्यान्ड स्यानिटाइजरमा ७६.३३ प्रतिशत, एडभान्स ह्यान्ड स्यानिटाइजरमा ७० प्रतिशत र एरोसफ्टमा ५९.९६ प्रतिशतसम्म मिसाइएको भेटिएको छ । जुन औषधी व्यवस्था विभागको परीक्षणबाट नै पुष्टि भएको हो । विभागले प्रतिबन्ध लगाएकामध्ये हाइजिन सोप एन्ड केमिकल्स प्रालिको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर ब्रान्डको ५० एमएल स्यानिटाइजरमा त ८३ प्रतिशत मिथानोल मिसाएको पाइएको छ । जुन अत्यन्त हानिकारक हो । यस्ता सेनिटाइजरले मानिसको ज्यानैसम्म लिन सक्ने विज्ञहरु बताउँछन् । औषधि विशेषज्ञ पानबहादुर क्षेत्रीका अनुसार मिथानोल मिलाएको स्यानिटाइजर थोरैमात्र पनि निलियो भने ज्यानै जानसक्छ ।विश्व स्वास्थ्य संगठनले स्यानिटाइजर बनाउने मापदण्ड तोकेको छ । तोकिएको मापदण्डअनुसार १०० मिलिलिटर (एमएल) स्यानिटाइजर बनाउन ७८ एमएल इथानोल चाहिन्छ । तर इथानोलले मात्र स्यानिटाइजर बन्दैन । त्यति नै मात्राको स्यानिटाइजर बनाउन ४.१ एमएल हाइड्रोजन पेरोक्साइड, १.४ एमएल ग्लिसेरोल र बाँकी डिस्टिल्ड वाटर चाहिन्छ । मिथानोल भने मिसाउन पाइँदैन । तर, नेपालका अधिकांश स्यानिटाइजरमा इथानोल होइन मिथानोल मिसाइएको पाइएको छ । विश्व स्वास्थ्य संगठनले दिएको फर्मुलेसन अनुसार स्यानिटाइजर बनाउने कम्पनी थोरै मात्र भएको फर्मासिस्टहरु बताउँछन् । त्यसको खास अनुगमन पनि हुन नसकेका कारण गुणस्तरहीन र हानिकारक स्यानिटाइजर बजारमा छ्यापछ्याप्ती भेटिएको फर्मासिस्ट सञ्जीव पाण्डेको भनाइ छ ।
तोकिएको मापदण्ड र हुनुपर्ने फर्मुलेसन बजारमा पाइने कैयौं स्यानिटाइजरमा भेटिएको छैन । यो बनाउन अलग र फरक स्थान चाहिन्छ । तर, त्यसविपरीत अहिले पनि घरेलु उद्योग र कस्मेटिक उद्योगले समेत धमाधम स्यानिटाइजर उत्पादन गरिरहेका छन् । यो स्वयम औषधि व्यस्था विभागको स्वीकारोक्ति छ । यस्ता उद्योग दर्तासमेत भएका छैनन् । ३ सयभन्दा धेरै कम्पनीको स्यानिटाइजर बजारमा भेटिनु र दर्ता जम्मा ४० वटा मात्रै हुनुले के प्रष्ट पार्छ भने बजारमा नक्कली स्यानिटाइजरको बिगबिगी छ । र, यी अक्सर घातक पनि छन् ।
मनपरी मूल्य, जथाभावी असुलीगुणस्तरहीन स्यानिटाइजरको बिगबिगी जुन स्तरमा बढेको छ, ती कम्पनीले गरिराखेको कालोबजारी पनि उही स्तरमा फैलिएको छ । कालोबजारी यस अर्थमा कि औषधि व्यबस्था विभागले तोकेको शुल्कभन्दा दोब्बर बढि मूल्य यी कम्पनीले असुलिरहेका छन् । विभागले १ सय मिलिलिटर सेनिटाइजरको मूल्य अधिकतम १ सय ४५ रुपैयाँ सम्म लिन पाइने र ५० एमएलको अधिकतम विक्री मूल्य ६५ रुपैयाँ मात्रै हुनेगरी तोकेको थियो ।रिपोर्टिङका क्रममा जम्मा ५० एमएलको स्यानिटाइजरको मूल्य १ सय ५० रुपैयाँ राखिएको हामीले फेला पार्यौं । अक्सर स्यानिटाइजर यसैगरी दोब्बर बढि मूल्यमा बेचिएको छ । तर, औषधि व्यवस्था विभागले यस्ता स्यानिटाइजरलाई कारबाही गर्न नसकेको प्रवक्ता सन्तोष केसीको स्वीकारोक्ति छ ।सुरुमा कोरोनाको महामारी फैलिएसँगै स्यानिटाइजरको माग बढेपछि धमाधम यसका उद्योग खुलेका थिए । तर त्यस्ता उद्योगहरुको प्रभावकारी अनुगमन अझै हुन सकेको छैन । जसका कारण कोरोना भाइरस लगायतका विषाणु मार्ने भन्दै मनलाग्दी ढङ्गबाट स्यानिटाइजर बनाएर, बजारमा पठाउने र सर्वसाधारणले लगाउने कार्य भइरहेको छ । नागरिक यही विषाक्त स्यानिटाइजर प्रयोग गर्न बाध्य छन् । तोकिएकोभन्दा दोब्बर बढि मूल्य तिरेर ।
मिथानोल हालेको स्यानिटाइजर कति हानिकारक ?कोरोना भाइरसको माहामारी बढेसँगै स्यानिटाइजरको चर्चा पनि चुलिएको थियो । स्यानिटाइजर प्रयोग गरे हातमा कोरोना भाइरस भएपनि मर्ने भन्दै यसको प्रयोग बढेको थियो । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) ले पनि स्यानिटाइजरको प्रयोगलाई सुझाएको थियो र स्यानिटाइजरमा कुन केमिकल कति मात्रामा राख्ने भन्नेसमेत उल्लेख गरेको थियो ।कोरोना भाइरस लिपिड अर्थात् बोसोबाट बन्ने भएकाले अल्कोहल वा इथानोलले त्यसलाई पगाल्ने र मार्ने काम गर्छ । त्यसकारण कोरोना भाइरसको संक्रमणबाट जोगिने एउटा उपाय भनेको स्यानिटाइजरको प्रयोग पनि हो ।डब्लुएचओले स्यानिटाइजरमा कम्तीमा ६० प्रतिशत इथानोल वा ७० प्रतिशतभन्दा बढी अल्कोहलको मात्रा हुनुपर्ने निर्धारण गरेको थियो । साथै उसले स्यानिटाइजरमा मिथानोल मिसाउन नहुने पनि सचेत गराएको थियो ।तर पनि इथानोल र अल्कोहलभन्दा मिथानोल सस्तो हुने भएकाले कतिपय घरेलु उद्योग वा कस्मेटिक कम्पनीहरुले मिथानोल हालेर स्यानिटाइजर बनाए अनि बजारमा पठाए । जुन स्वास्थ्यका दृष्टिकोणले गम्भीर खतराको संकेत पनि हो ।भारतमा गत चैत महिनादेखि भदौको मध्यसम्ममा मिथानोल प्रयोग भएको स्यानिटाइजरको सेवनबाट झण्डै ३ दर्जनको मृत्यु भइसकेको छ ।
भारतमा गत चैत महिनादेखि भदौको मध्यसम्ममा मिथानोल प्रयोग भएको स्यानिटाइजरको सेवनबाट झण्डै ३ दर्जनको मृत्यु भइसकेको छ ।
गत जुलाईको अन्तिममा मिथानोल प्रयोग भएको स्यानिटाइजरलाई मदिराको रुपमा प्रयोग गर्दा भारतको पञ्जाबमा एक दर्जन व्यक्तिको मृत्यु भयो । त्यसैगरी मध्ये साउनमा पनि भारतको आन्द्रप्रदेशमा मिथानोल प्रयोग गरिएको स्यानिटाइजरको प्रयोगबाट १० जनाको ज्यान गएको थियो । मिथानोल प्रयोग भएको स्यानिटाइजरको सेवनबाट भारतमा मात्रै ३ दर्जनभन्दा धेरै मानिसहरुको मृत्यु भइसकेको तथ्यांक छ ।औषधि विशेषज्ञ पानबहादुर क्षेत्रीका अनुसार मिथानोल एउटा त्यस्तो केमिकल हो जसको ३ मिलिमिटर सेवनले पनि व्यक्तिको ज्यान जान सक्छ । मिथानोल ज्यादै विषाक्त रसायन हुने भएकाले यदि कुनै व्यक्तिले अल्कोहलका रुपमा पानीमा मिसाएर वा अन्य कुनै कारणबाट शरीरभित्र प्रवेश गर्यो भने यसले गम्भीर स्वास्थ्य समस्या ल्याउन सक्छ र व्यक्तिको ज्यानसमेत जान सक्छ ।
स्यानिटाइजरको अत्यधिक प्रयोगले हुनसक्छ छालामा समस्यास्यानिटाइजर जुन बेला पायो त्यही बेला, जति पायो त्यति प्रयोग गर्नु पनि स्वास्थ्यको दृष्टिकोणले उचित नरहेको छालारोग विशेषज्ञको भनाई छ । वरिष्ठ छालारोग विशेषज्ञ प्रोफेसर डाक्टर अनिलकुमार झा स्यानिटाइजर सबैका लागि उचित नहुने र स्यानिटाइजर भन्दैमा राम्रो नै हुन्छ भनेर सोच्न नहुने बताउँनुहुन्छ ।पहिले नै खस्रो छाला रहेको वा नरम छाला रहेका व्यक्तिहरुलाई स्यानिटाइजरको प्रयोग गर्दा एलर्जी हुने, खस्रोपना हुने, रातो तथा छाला कालो हुनेसमेत झाको भनाइ छ ।अहिले बालबालिकादेखि वृद्धवृद्धा सबैले पटकपटक स्यानिटाइजरको प्रयोग गरिरहेको भन्दै बालबालिकाको छाला सेन्सेटिभ हुने भएकाले सकेसम्म स्यानिटाइजर लाउनु पर्ने अवस्था नै आउन नदिन झाको सुझाव छ । कुनै कारणबाट बालबालिकाको मुखमा स्यानिटाइजर परेमा यसले गम्भीर असर गर्ने भन्दै यसबारे सजग हुन समेत डाक्टर झा ले सुझाव दिनुभएको छ ।कोरोना भाइरसको संक्रमण रोक्न स्यानिटाइजर एक उपाय भए पनि स्यानिटाइजर नै सबैथोक भने होइन । गलत स्यानिटाइजरको प्रयोगले छालामा चिलाउने, घाउ हुने, छाला रातो र कालो हुने लगायतका समस्या ल्याउँछन् भने सबैलाई यो उपयोगी नहुन पनि सक्छ । त्यसकारण स्यानिटाइजरको प्रयोग गर्दा कस्तो स्यानिटाइजर कसरी प्रयोग गर्ने भनेर पनि सोच्नुपर्ने र जान्नुपर्ने हुन्छ ।
अनुगमन नगरे आउन सक्छ गम्भीर स्वास्थ्य समस्याकोरोना महामारीका कारण विश्व आक्रान्त बनिरहँदा केही व्यापारीहरु भने समाजमा गुणस्तरहीन स्यानिटाइजर उत्पादन र विक्रीविरण गरी उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर लापारवाही र खेलबाड गरिरहेका छन् । मानव स्वास्थ्यका लागि हानिकारक मिथानोल मिश्रित स्यानिटाइजर बजारमा छ्यापछ्याप्ती भेटिन्छन् । इनाथोल र अल्कोहल जस्ता रसायनभन्दा स्वास्थ्यलाई गम्भीर असर गर्ने मिथानोल नामक विषाक्त रसायन मिसाइएका स्यानिटाइजर पनि बजारमा प्रशस्त मात्रामा पाइन्छ । नेपाली बजारमा अहिले कस्ता–कस्ता स्यानिटाइजर उत्पादन र विक्रीवितरण भइरहेका छन् त ? एक औषधी विक्रेताले बताए ।अहिले नेपाली बजारमा गुणस्तरहीन स्यानिटाइजरको बिगबिगी कत्ति छ भन्ने औषधि विक्रेताको भनाइबाटै पुष्टि हुन्छ । जब साबुन उत्पादन गर्ने कम्पनीले औषधिकै रुपमा प्रयोग गर्नुपर्ने स्यानिटाइजर बनाउँछन् भने त्यसको गुणस्तर कस्तो होला त ? औषधि व्यवस्था विभागले पछिल्ला दिनमा गरेको कारवाहीले पनि स्यानिटाइजरको नाममा मानव स्वास्थ्यमा गम्भीर खेलबाड भइरहेको पुष्टि गर्छ ।गलत रसायन मिसाएर बनाइएको स्यानिटाइजरले मानव स्वास्थ्यलाई गम्भीर असर गर्ने भएकाले स्यानटाइजर के र कसरी बनिरहेको छ ? भनेर हेर्ने जिम्मेवारी अहिले औषधि व्यवस्था विभागकै हो । तर विभागले जसरी अनुगमन र कारवाही गर्नुपर्ने हो, त्यो हुन सकेको देखिँदैन । एकाध कम्पनीहरुलाई कारवाही गरेपनि बजारबाटै फिर्ता गराउनेतर्फ विभागले कानुनबमोजिम कदम चालेको देखिँदैन । यसले गर्दा अहिले पनि बजारमा गुणस्तरहीन र मानव स्वास्थ्यमा गम्भीर असर पर्ने स्यानिटाइजर पसल पसलमा भेट्न सकिन्छ ।सुरुवातमा स्यानिटाइजरको अनुमति लिन असारसम्मको म्याद दिइएकोमा असोजसम्म समय थप गरियो । यसले विषाक्त रसायन प्रयोग गरी स्यानिटाइजर उत्पादन तथा बिक्री गरिरहेका उद्योगलाई थप प्रश्रय मिलेको छ ।गलत रसायन मिसाएर बनाइएको स्यानिटाइजरले मानव स्वास्थ्यलाई गम्भीर असर गर्ने भएकाले स्यानटाइजर के र कसरी बनिरहेको छ ? भनेर हेर्ने जिम्मेवारी अहिले औषधि व्यवस्था विभागकै हो । तर विभागले जसरी अनुगमन र कारवाही गर्नुपर्ने हो, त्यो हुन सकेको देखिँदैन ।
औषधि व्यवस्था विभाग भने स्यानिटाइजर उत्पादक कम्पनीहरुलाई असोज मसान्तसम्म दर्ता गर्ने समय उपलब्ध गराइएको भन्दै त्यतिबेलासम्म कुर्ने तयारीमा रहेको देखिन्छ । तर हालसम्म जम्मा ४० वटा कम्पनीले उत्पादनको स्वीकृति लिएको भएपनि बजारमा भने ३ सयभन्दा बढी नामका स्यानिटाइजर बजारमा रहेको विभागका प्रवक्ता केसीको स्वीकारोक्ति छ ।
विभागको भनाइलाई आधार मान्ने हो भने विभागले दिएको समयावधि भन्दा पहिलेबाटै उत्पादन भएको स्यानिटाइजरको विषयमा अनुगमन र छानबिन नै नगर्ने त ? उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्ने खालका विषाक्त रसायन मिसावट गरिएका स्यानिटाइजर पनि उत्पादन गर्न पाइन्छ भन्ने हो त ? यदि होइन भने विभाग किन यति लामो समयसम्म पनि चुपचाप बस्यो, प्रश्न उठ्नु स्वाभाविक हो ।हामीले केही दिनअघि मात्रै बजारमा के कस्ता स्यानिटाइजरको विक्रीवितरण भइरहेको छ भन्नेबारे समाचार संकलन गरेका थियौं । यति सम्म की एउटा साबुन उत्पादन कम्पनीले पनि स्यानिटाइजर उत्पादन गरेर बजारमा खुलेआम विक्रीविरण गरिरहेको थियो, जो औषधी व्यवस्था विभागमा दर्ता भै स्वीकृति नै पाएको थिएन । उसले स्यानिटाइजरमा हुनुपर्ने मात्रा लेखेपनि मूल्यसुची लेखेको थिएन भने दर्ता नै नभएको कम्पनीमा उसले भने अनुसारकै मात्रामा इथानोल वा अल्कोहल थियो भनेर पत्याउन पनि मुस्किल नै हुन्छ ।अहिले ठूला–ठूला ग्यालेनदेखि सानो–सानो बोतलमा समेत स्यानिटाइजर किन्न पाइन्छ । यस्ता उद्योगले औषधी व्यवस्था विभागबाट अनुमतिसमेत नलिएको पाइएको छ । कानुनतः यी उद्योगले अनुमति नलिई कारोबार गर्न पाउँदैनन् । तर, विभागले दर्ताबिनै सञ्चालनमा रहेका स्यानिटाइजर उद्योगलाई कारवाही गर्न बेवास्ता गरेको छ । बरु विभागले घुमाउरो रुपमा असोजसम्म बिना दर्ता त्यस्ता उद्योग सञ्चालन गर्ने छुट दिएको देखिन्छ ।
उपभोक्ताको हितमा सरोकार राख्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले पनि खासै अनुगमन गरेको छैन । विभागले औषधी व्यवस्था विभागसँगको सहकार्यमा निगरानी भइरहेको जनाएको छ । अहिलेसम्म उपभोक्ताका तर्फबाट कुनै उजुरी नआएको भएपनि बजारमा छ्यापछ्याप्ती भेखिएका स्यानिटाइजरको निगरानी गरिरहेको र गुणस्तरी नपाइए कानुनी कारवाही गर्ने बताउनुहुन्छ, विभागका प्रवक्ता रवीन्द्र आचार्य ।त्यसो त केही दिन यता सञ्चारमाध्यमले स्यानिटाइजरका बारेमा चासो राख्न थालेपछि औषधि व्यवस्था विभाग केही तातिएको हो कि जस्तो देखिएको छ । विभागले मानव स्वास्थ्यका लागि हानिकारक मिथानोल प्रयोग गरी स्यानिटाइजर उत्पादन गर्ने ९ कम्पनीलाई कारवाही गरिसकेको महानिर्देशक नारायण ढकालले जानकारी दिनुभयो ।विभागले भदौ २७ र ३१ गते गरी ९ कम्पनीलाई कारवाही गरेको थियो । जसमा चीन र भारतबाट आयात भएका दुई कम्पनी र उपत्यकाको काठमाडौं र ललितपुरका ७ कम्पनी रहेका छन् । बुधबार कारवाहीमा परेका कम्पनीमा चीनमा उत्पादित ओपेकल नन वासिङ एन्टी ब्याक्टेरिएल सोलुसन र पामाकेयर स्ट्याण्ड हृयाण्ड स्यानिटाइजर रहेका छन् ।काठमाडौंमै कारखाना रहेको यूनिकेयर इन्स्ट्याण्ड हृयाण्ड स्यानिटाइजर, ललितपुरमा उत्पादित सासा इन्स्ट्याण्ड हृयाण्ड स्यानिटाइजरमा हानिकारक मिथानोलको मात्रा बढी पाइएको विभागले जनाएको छ ।युनिकेयर र सासामा मिथानोलको मात्रा क्रमशः ५५ प्रतिशत तथा ३९ प्रतिशत पाइएको थियो, जुन मानव स्वास्थ्यको लागि घातक हुनसक्छ । यस्तै ओपेकल र पामाकेयर कम्पनीको स्यानिटाइजर कम गुणस्तरको रहेको विभागले जनाएको छ ।
काठमाडौंमै कारखाना रहेको यूनिकेयर इन्स्ट्याण्ड हृयाण्ड स्यानिटाइजर, ललितपुरमा उत्पादित सासा इन्स्ट्याण्ड हृयाण्ड स्यानिटाइजरमा हानिकारक मिथानोलको मात्रा बढी पाइएको विभागले जनाएको छ ।
यसरी विभागले हानिकारक विषाक्त रसायन प्रयोग गरिएको तथा कम गुणस्तर भएको स्यानिटाइजर उत्पादकलाई कारवाही गर्न थाले पनि विभागले जसरी काम गर्न सक्नुपथ्र्यो त्यो भने अझै नगरेको गुनासो छ । विभागमा सुचीकृत नभएका र स्वीकृति पनि नलिएका करिब ३ सय उत्पादकबाट स्यानिटाइजरको विक्रीवितरण भइरहेको छ, यो मानव स्वास्थ्यका लागि गम्भीर खतराको संकेत हो ।