मदन ढुङ्गाना/निरज तामाङकाठमाडौं । नागरिकको जिउ धनको सुरक्षा गर्ने कसम खाएका प्रहरी आफै चोरीको धन्दामा संक्रिय छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, यो सत्य हो की प्रहरी आफै चोरीका सामान प्रयोग गर्छन् र यस्तो धन्दामा अप्रत्यक्ष ढंगबाट संलग्न छन् ।हामीले भेटेका प्रमाणहरुले यसको पुष्टि गर्छ । प्रहरी जो चोरीका मोटरसाइकलहरु समात्छन् । त्यसलाई केही समय कार्यालयमा राख्छन् । र, सम्बन्धित धनीलाई बुझाउनको साटो छानी छानी राम्रा मोटरसाइकल, नम्बर फेरि फेरि आफै चढ्छन् । कतिपय प्रहरीले अरुको मोटरसाइकललाई आफ्नै जस्तो बनाएर मस्ती गर्दै आएको पाइएको छ ।
मोटरसाइकल नम्बर १ : बा ९० प ४१९बा ९० प ४१९ नम्बरको केटीएम ड्युकको मूल्य अहिले करिब करिब ८ लाख रुपैयाँ पर्छ । यो मोटरसाइकलमा सवार हुने व्यक्तिचाहिँ बालाजु प्रहरी वृत्तका लेखापाल अर्थात् नेपाल प्रहरीका सई प्रकाश कँडेल हुन् ।उनले यो मोटरसाइकल आफ्नै कमाईबाट किनेका भने होइनन् । बरु यो मोटरसाइकल प्रहरीले बरामद गरेपछि पटकपटक नम्बरसमेत परिवर्तन गरेर चलाइएको मोटरसाइकल हो ।अनि यो मोटरसाइकलमा अहिले जुन नम्बर प्लेट प्रयोग गरिएको छ, त्यो पनि नक्कली नम्बर प्लेट हो ।
यातायात व्यवस्था कार्यालयको रेकर्ड हेर्ने हो भने बा ९० प ४१९ नम्बरको मोटरसाइकल केटीएम ड्युकको नभएर बजाजको पल्सर २ सय २० सीसीको मोटरसाइकल हो । यो मोटरसाइकल धनी नुगेतडेन अटो बचत तथा ऋण सहकारी संस्था हो । यसको ठेगाना काठमाडौ,मनमैजु रहेको छ ।तर बालाजु वृत्तका सइ प्रकाश कंडेलले २ वर्षदेखि यो मोटरसाइकल आँफैले चलाइरहेका छन्, त्यो पनि नम्बर फेरि फेरि ।जनता टेलिभिजनलाई प्रहरी आँफैले नक्कली नम्बर प्लेट राखेर मोटरसाइकल चलाइरहेको भन्ने जानकारी आएपछि हामी गोप्यरुपमा यो मोटरसाइल हेर्न र चालकलाई भेट्न हामी महानगरीय प्रहरी वृत्त बालाजु पुग्यौँ ।हामी त्यहाँ पुग्दा हाम्रो मोटरसाइकल हराएकाले खोज्न आएको भन्दै भेट्न गएका थियौँ । हामीले आफ्नो केटीएम ड्युक मोटरसाइकल हराएको भन्दै उनीसँग कुरा गरेपछि उनले उक्त मोटरसाइकल आफूले चलाइरहेको तर कसको हो भन्ने थाहा नभएको बताए ।बरु प्रहरीले अपरेशनका क्रममा बरामद गरेको र मोटरसाइकलको धनी नभेटिएको हुँदा आफूले चलाइरहेको कँडेलले बताए ।कुराकानीकै क्रममा हामीले भेट्टाएको मोटरसाइकल पनि चलाउन मिल्छ र भनेर सोधेपछि उनले नमिल्ने तर प्रहरी संगठनबाट स्वीकृति लिएर नै चलाइरहेको दाबी गरे ।उनीसँगको सवालजवाफ थप अघि बढाउँदै हामीले उक्त बाइक हाम्रो हुनसक्ने भन्दै थप कुरा गरेपछि उनले कागजात लिएर आउन र प्रमाण पुगेमा दिने बताए ।...........
मोटरसाइकल नम्बर २ : बा ४९ प ६८०१महानगरीय प्रहरी वृत्त स्वयम्भुको कार्यालय परिसरभित्र छ बा ४९ प ६८०१ नम्बरको खैरो रङको साइन मोटरसाइकल । १ सय २५ सिसीको यो मोटरसाइकल यतिबेला वृत्तमा कार्यरत प्रहरी जवान प्रकाश ढकालले प्रयोग गरिरहेका छन् ।तर यातायात व्यवस्था कार्यालयको रेकर्ड हेर्ने हो भने यो मोटरसाइकलमा पनि नक्कली नम्बर प्लेट प्रयोग गरिएको पाइएको छ । यातायात व्यवस्था कार्यालयको रेकर्डमा यो मोटरसाइकल नुवाकोटका सुजन सिंह ठकुरीका नाममा दर्ता रहेको छ ।सक्कली रेकर्डमा यो मोटरसाइकल हिरो होण्डाको २ सय २३ सिसीको करिज्मा मोटरसाइकल हो । तर महानगरीय प्रहरी वृत्त स्वयम्भुका प्रहरी जवानले यही नम्बर प्लेट राखेर १ सय २५ सिसीको होण्डाको साइन मोटरसाइकल प्रयोग गरिरहेका छन् ।हामी केही दिनअघि प्रकाशलाई भेट्न प्रहरी कार्यालय नै पुग्यौँ । पहिलेझैँ हामीले हाम्रो मोटरसाइकल हराएको भन्दै तपाइँसँग त्यस्तै मोटरसाइकल छ रे हेरौं न भनेर सोध्यौँ । तर सुरुमै उनले हामीलाई कागजात देखाउन भने । हामीले पनि पहिले तपाइँले चढिरहनु भएको मोटरसाइकलको कागजात देखाउनोस् भनेपछि केही नरम भए ।तपाइँले के आधारमा कसरी यो मोटरसाइकल चढीरहनु भएको छ भनेर सोधेपछि उनले डिएसपीसँग सल्लाह गरेर आफूले मर्मत गरी चलाएको बताए ।कहाँबाट कसरी पाउनुभयो भन्ने प्रश्नमा उनले चोरी गरेर कसैले ग्यारेजमा हाल्दै गर्दा समातेको र कोही व्यक्ति पनि लिन नआएकाले आफूले मर्मत गरी चलाएको स्पष्टीकरण दिए ।यसरी चलाउन मिल्छ त भन्ने हाम्रो प्रश्नमा उनले बाइकमा धेरै खर्च भएको र हाकिमले नै चलाउन भनेपछि चलाएको बताए ।यी दुबै मोटरसाइकल प्रहरीले विभिन्न अपराधमा फरार रहेका व्यक्ति वा बेवारिसे अवस्थामा फेला पारेपछि आफ्नै प्रयोजनमा प्रयोग गरिरहेका मोटरसाइकलहरु हुन् । पहुँच पुग्ने र माथिल्लो स्तरको अधिकृतले राम्रो मोटरसाइकल पाउँछन् भने तल्लो तहको कर्मचारीले मध्यमस्तरकै मोटरसाइकल चलाउने गरेका छन् ।जबकि कानुन हेर्ने हो भने यस्तो मोटरसाइकल कि राजश्व अनुसन्धान विभागमा बुझाउनुपर्छ कि त धनी खोजेर दिनुपर्छ । दुबै गर्न नसकिएपनि प्रहरीले सुरक्षितरुपमा राख्नुपर्छ । तर चोरी र अपराध रोक्ने प्रहरी आँफै यस्तै चोरीका मोटरसाइकलमा आफूखुशी नम्बर प्लेट राखेर चलाइरहेका छन् । चोरीका मोटसाइकल चढ्ने प्रहरीबाट आम नागरिकले के अपेक्षा गर्ने ?
प्रहरी नै चलाउछन् नक्कली नम्बर प्लेटका मोटरसाइकलप्रहरीले विभिन्न अपराधका घटनामा संलग्न वा बेवारिसे अवस्थामा फेला परेका मोटरसाइकललाई नियन्त्रणमा लिने गर्छ । मोटरसाइकल समेत मुद्दाको प्रक्रियामा गएमा यस्ता मोटरसाइकल सुरक्षितरुपमा राख्नुपर्छ । मोटरसाइकल भारतबाटै चोरी गरी वा राजश्व नतिरी नेपाल ल्याएको भए राजश्व अनुसन्धान विभागलाई बुझाउनुपर्छ । मोटरसाइकलको इञ्जिन र च्यासिस नम्बर यदि नेपालमा दर्ता भइसकेको रहेछ भने यस्ता मोटरसाइकलको धनी खोजेर बुझाउनुपर्छ ।
मोटरसाइकल नम्बर ३ : बा७९प १३०८बा७९प १३०८ नम्बरको यो मोटरसाइकल बुलेट मोटरसाइकल हो । यसको मुल्य अहिले ५ लाख रुपैयाँभन्दा बढी पर्छ । अहिले यस मोटरसाइकलका चालक महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत असई रुद्र भट्ट हुन् ।तर रुद्रले पनि यो मोटरसाइकल किनेर चलाएका भने होइनन् । बरु कुनै अपराधका घटनामा संलग्न व्यक्तिले प्रयोग गरेको यस मोटरसाइकल असई भट्टले नम्बर परिवर्तन गरी चलाएका हुन् ।यातायात व्यवस्था कार्यालयको तथ्यांक हेर्ने हो भने यस नम्बर प्लेटको सवारीसाधन ललितपुरका साजन महर्जनको नाममा दर्ता छ । असई भट्टले सेतो रङको बुलेट मोटरसाइकलमा यो नम्बर प्लेट प्रयोग गरेको भएपनि दर्तामा भने यस नम्बरमा यामाहाको रे–टुआर स्कुटर रहेको छ ।१ सय १३ सिसीको यो स्कुटर महर्जनले आफ्नी छोरीका लागि खरिद गरेका थिए र यो स्कुटर अहिले पनि साजन महर्जनका ज्वाईं श्रृजन मानन्धरले प्रयोग गरिरहेका छन् ।
प्रहरीका असईले नै नक्कली नम्बर प्लेट राखेर मोटरसाइकल चलाइरहेको थाहा पाएपछि हामी रुद्रलाई भेट्न काठमाडौ सिफल पुग्यौँ । सुरुमा तपाइँलाई सुचना दिनु छ भनेर हामी त्यहाँ पुगेका थियौँ । त्यसपछि बल्ल हामीले आफ्नो मोटरसाइकल हराएको र तपाइँले प्रयोग गरिरहेको मोटरसाइकल हाम्रो जस्तै देखिएकाले हेर्न आएको बतायौँ ।उनले सुरुमा कागजात देखाउन भने । हामीले पहिले मोटरसाइकल हेरौं भनेपछि उनले मोटरसाइकल एकजना भाइलाई चलाउन दिएको बताए ।त्यसपछि हामीले यो मोटरसाइकल कहाँबाट कसरी ल्याउनुभएको भनेर सोध्यौँ । उनले प्रहरीले जफत गरेको मोटरसाइकल आफूले प्रयोग गरिरहेको बताए । यातायातबाट मोटरसाइलको लगत लिनुभएन त भन्ने हाम्रो प्रश्नमा उनले लगत हेर्न पठाएको तर भन्सारमै मोटरसाइकलको लगत नभेटिएको बताए । सुरुमा उनले यो बाइक वानेश्वर वृत्तको रेकर्डमा रहेको बताए । तर बानेश्वरको रेकर्डमा उक्त मोटरसाइकल नै देखिएन ।भन्सारमै दर्ता नभए त राजश्वमा बुझाउनुपर्ने होइन र ? भन्ने हाम्रो प्रश्नमा उनले कार्यालयबाट सहमति लिएर चलाएको बताए । यता यस नम्बरकै स्कुटर चलाइरहेका सक्कली धनी साजन महर्जनका ज्वाईँ श्रृजन महर्जनले प्रहरी आँफै यस्तो नक्कली काममा लागेको भन्दै यस्तो काम गलत भएको बताउँछन् । चोरी नियन्त्रण गर्नुपर्ने प्रहरीले नै चोरीको मोटरसाइकलमा नक्कली नम्बर प्लेट राखेर चलाएको भन्दै त्यस्ता प्रहरीलाई कारवाही हुनुपर्ने बताउँछन् ।
स्कुटर नम्बर ४ : बा२२प १६४४बा२२प १६४४ नम्बरको यो स्कुटर हेर्नुहोस् । हिरो कम्पनीको रातो रङको यस प्लेजरका चालक प्रहरी सहायक निरीक्षक अर्थात् असई दिपेश खड्का हुन् । उनी महानगरीय प्रहरी वृत्त स्वयम्भुमा कार्यरत छन् ।उनलाई पनि हामीले सुचना दिने भनेर स्वयम्भुकै गुहेश्वरीमा बोलायौँ । उनी त्यही मोटरसाइकल चढेर आए । त्यसपछि हामीले आफूहरु पत्रकार भएको र तपाइँले चोरीकै मोटरसाइकल चढ्नुभएको छ रे हो भनेर सोध्यौँ । उनले सुरुमा होइन मेरो नै नाममा भएको स्कुटर हो भने ।त्यसपछि हामीले कागजात हेरौं न त भन्यौँ । त्यसपछि बल्ल उनले आफूले यो स्कुटर सोह्रखुट्टेबाट लिएको र आफ्नो नभएको बताए । तपाइँले कसरी लिनुभयो त भन्ने प्रश्नमा उनले कार्यालय प्रमुखसँग सल्लाह गरेर लिएको र २ वर्ष पहिलेदेखि चलाइरहेको बताए ।तर यातायात व्यवस्था कार्यालयको रेकर्डमा भने यस नम्बरको सवारीसाधन ललितपुरका रामबाबु महर्जनको नाममा दर्ता रहेको छ । रामबाबुको नाममा दर्ता रहेको यस नम्बर प्लेटमा बजाज कम्पनीको १ सय ९ सिसीको बैजनी रङको वेभ मोटरसाइकल हो ।यी त केही प्रतिनिधि उदाहरण मात्रै हुन् । नेपाल प्रहरीका विभिन्न वृत्तमा कार्यरत कैयन् प्रहरी अधिकारी र जवानहरुले नक्कली नम्बर प्लेट राखेर चोरीमा समातिएका यस्ता मोटरसाइकलहरु प्रयोग गरिरहेका छन् । कतिपय मोटरसाइकल चोरी गरी भागेका वा बेवारिसे अवस्थामा समातिएका मोटरसाइकल छन् भने कतिचाहिँ भारतबाटै चोरी गरी ल्याइएका मोटरसाइकल छन् । भन्सारमा दर्ता नभएका मोटरसाइकल भन्सारमा बुझाउने र भन्सारमा दर्ता भएका मोटरसाइकल धनी खोजेर फिर्ता गर्नुपर्ने भएपनि प्रहरीले धनी खोजेर फिर्ता गर्ने वा राजश्वमा बुझाउने भन्दा पनि आफ्नै सहुलियतका लागि प्रयोग गरिरहेको पाइन्छ । ००००
कानून भन्छ, जफतका मोटरसाइकल चलाउनु गैर–कानुनीकहीँ चोरी, डकैती भयो वा राजश्व छलीको सुचना आयो भने सबैभन्दा पहिले पुग्ने भनेको प्रहरी नै हो । तर प्रहरी आँफै चोरी वा भन्सार छलीका मोटरसाइकल चढेर हिँड्छ भने चोरी नियन्त्रण कसले गर्ने ?प्रहरीका प्रत्येक वृत्त वा कार्यालयहरुमा गयौँ भने त्यहाँ कैयन् मोटरसाइकलहरु वर्षौदेखि थन्किएका हुन्छन् । यी सबै मोटरसाइकलहरु कि राजश्व छलीका हुन् कि त बेवारिसे अवस्थामा फेला परेका वा चोरीपछि समातिएका मोटरसाइकलहरु हुन् ।नियमतः यी मोटरसाइकलहरु प्रहरीले कि राजश्व कार्यालयमा बुझाउनुपर्छ कि धनी खोजेर जिम्मा लगाउनुपर्छ ।तर यदि धनीले हराएको मोटरसाइकलको इन्सुरेन्सवापत रकम लिइसकेको भए इन्सुरेन्सलाई जिम्मा दिनुपर्छ र इन्सुरेन्सले लिलामी प्रक्रियाबाट बेच्नुपर्छ । तर लिलाममा लैजानुभन्दा पहिले कम्तीमा ३५ दिनको सूचना दिएर दाबी लाग्ने भए लिन आउनु भनेर सूचना जारी गर्नुपर्छ ।तर यदि धनी वा इन्सुरेन्स कम्पनी पनि यस्ता मोटरसाइकल लिन नआएमा प्रहरी कार्यालयले कार्यालय प्रमुख वा निजले तोकेको अधिकृतस्तरको कर्मचारीको संयोजकत्वमा कम्तीमा ३ सदस्यीय मूल्यांकन समिति गठन गर्नुपर्छ । समितिमा संयोजकबाहेक सम्बन्धित क्षेत्रको विज्ञ अर्थात् यातायात कार्यालयबाट मेकानिकल इञ्जिनियर र सामान जिम्मा लिने स्थानको कर्मचारीले उक्त सरसामानको मूल्यांकन गर्नुपर्नेछ ।समितिले मोटरसाइकलहरुको मूल्यांकन गरी न्युनतम बोलकबोल मुल्य राखेर लिलाम बढाबढमा जानुपर्छ । र, सबैभन्दा बढी सकार गर्ने व्यक्ति वा संस्थाले यस्ता मोटरसाइकल लिलामीमा पाउन सक्छ । त्यसपछि प्रक्रिया पुराएर उक्त सवारीसाधन दर्ता गरी लिलाम सकार्ने व्यक्तिको नाममा जिम्मा लगाउनु पर्छ र लिलामवापतको रकम नेपाल सरकारको राजश्वमा दाखिला गर्नुपर्छ ।तर प्रहरी आफ्नो दैनिक काममै ब्यस्त रहने भएकाले यस्ता झन्झटिला काममा लागिरहन चाहँदैन । दोस्रो, सरकारले प्रहरी कर्मचारीका लागि आवश्यक साधनसमेत दिन नसकेका कारण कतिपय प्रहरी कार्यालय वा वृत्त र अनुसन्धानमा खटिने अधिकृत वा कर्मचारी यस्तै सवारीसाधनको भरमा चलेका छन् । जसका कारण प्रहरी लिलाम प्रक्रियामा गएर थप झन्झट लिइरहन चाहँदैन । त्यसकारण पनि अहिले प्रहरी कार्यालयहरुमा प्रशस्त मात्रमा यस्ता मोटरसाइकलको देख्न सकिन्छ ।यातायात व्यवस्था कार्यालय सतुंगलका सूचना अधिकारी कुनै व्यक्तिले नक्कली नम्बर प्लेट राखेर मोटरसाइकल चलाएको पाइएमा त्यो गैरकानुनी हुने र मोटरसाइकल जफत गरी ६ महिनासम्म कैदसमेत गर्न सकिने बताउँछन् ।तर के प्रहरी आँफैले प्रयोग गरिरहेका यी मोटरसाइकलहरु जफत गरेर उनीहरुलाई ६ महिनासम्म थुनामा पठाउन सक्छ त ?प्रहरीले किन चोरीका यस्ता मोटरसाइकलहरु राजश्वमा बुझाउने वा धनी खोजेर जिम्मा लगाउने काम गर्दैन भनेर सोध्दा प्रहरी अधिकृतहरु बोल्न तयार भएनन् ।हामीले महानगरीय प्रहरी वृत्त बालाजु, स्वयम्भु तथा महानगरीय प्रहरी परिसर काठमाडौं, उपत्यका प्रहरी र केन्द्रीय प्रहरी इकाईलाई पनि यसबारेमा सोध्यौँ । तर क्यामेरामा कुनै पनि निकायका प्रहरी बोल्न तयार देखिएनन् । बरु त्यस्तो मोटरसाइकल चढ्न नमिल्ने र प्रयोग गरेमा त्यो गैरकानुनी हुने मात्रै बताउँछन् ।प्रहरी आँफैलाई थाहा छ कि यस्ता चोरीका मोटरसाइकल प्रयोग गर्न पाइँदैन । तर शान्ति सुरक्षामा खटिनुपर्ने प्रहरीलाई सरकारले आवश्यक सवारीसाधन दिन नसक्दा प्रहरीले यस्ता सवारीसाधन प्रयोग गर्न बाध्य छन् । कतिपय प्रहरी अधिकृतहरु राम्रा र महङ्गा मोटरसाइकल देखेपछि लोभिन्छन्, कतिको बाध्यता पनि होला । कतिपय कर्मचारीहरु कार्यालय छाडेर अर्को कार्यालयमा जाँदासमेत सोही मोटरसाइकल लिएर जान्छन्, त्यो पनि व्यक्तिगत कामका लागि । तर पनि प्रहरी कार्यालयमा रेकर्ड दुरुस्त नराख्दा अहिले कुन कुन प्रहरी कार्यालय वा निकायबाट क–कसले मोटरसाइकल लिएर चलाइरहेका छन् भन्ने यकिन तथ्यांकसमेत छैन ।