भगीरथ भण्डारीइलाम । यहाँका स्थानीय तहले एक साता अघि विद्यालय खोल्ने निर्णय गरे । तर स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको साता दिन नबित्दै प्रशासन कार्यालयले विद्यालय सञ्चालन नगर्न निर्देशन जारी गरेको छ ।स्थानीय तहको निर्णयपछि कतिपय विद्यालले पठन पाठन शुरु गरिसकेका थिए । तर, जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अर्को निर्णय नभएसम्म विद्यालय नखोल्न भनेको छ । यसरी स्थानीय तहहरुको खोल्ने र प्रशासन कार्यालयको नखोल्ने भिन्नाभिन्नै निर्देशनका कारण यहाँका विद्यालयहरु दोधारमा परेका छन् ।‘अर्को सूचना नआएसम्म शैक्षिक संस्थाहरु सञ्चालन नगर्नु भनेर सरकारले गरेको निर्णय अनुसार शैक्षिक संस्था खोल्न पाइँदैन’ प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइले भन्नुभयो । ‘सरकारको निर्णय विपरित स्थानीय तहले काम गर्दा केही भए त्यसको जिम्मा कसले लिन्छ ?’ उहाँले भन्नुभयो, ‘संक्रमण रोग नियन्त्रण ऐनको प्रयोग गरेर भएपनि सरकारले सञ्चालन नगर्नु भनेका संस्था या व्यवसायलाई बन्द गर्नेछौँ ।’इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत भने सरकारकै निर्णय अनुसार विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको बताउँछन् । ‘मन्त्री परिषदले पारित गरेको वैकल्पिक सिकाई निर्देशिका अनुसार परिस्थिति हेरेर विद्यालय चलाउने निर्णय गरेका हांै’ बस्नेतले भन्नुभयो ।कोरोना महामारीका कारण ५ महिनादेखि बन्द रहेका केही विद्यालयले आइतबारदेखि पठन पाठन थालेका थिए । स्थानीय तहले विकल्प सहितको कार्ययोजना पेश गरेर विद्यालय सञ्चालन गर्न निर्देशन दिएपछि केहीले पठन पाठन थालेका थिए भने अधिकाशं संस्थागत विद्यालयहरुले विद्यालय खुलाउने तयारी गरेका थिए ।यहाँका इलाम, सुर्योदय, देउमाई र माई नगरपालिका र चुलाचुली तथा माइजोगमाई गाउँपालिकाका विद्यालयमा असोज पहिलो साताबाट नै पठनपाठन शुरु गरिएको थियो । स्थानीय तहले विद्यालय खुलाउने र प्रशासनले बन्द गर्ने सूचना जारी गरेपछि विद्यार्थी, अविभावक र शिक्षक दोधारमा परेका छन् ।सुर्योदयमा सामुदायिक ६४, सस्थागत २९ र धार्मिक २, देउमाईमा सामुदायिक ५०, संस्थागत १३, बाल विकास केन्द्र २ र धार्मिक १, इलाममा सामुदायिक ४९, संस्थागत १३ र जोगमाईमा सामुदायिक ४४, सस्थागत १४ रहेका छन् ।त्यस्तै, माइजोगमाइमा सामुदायिक ३३, संस्थागत ८ र धार्मिक २, सन्दकपुरमा सामुदायिक २६, संस्थागत ३ र धार्मिक २, चुलाचुलीमा सामुदायिक २१, संस्थागत ६, फाकफोकथुममा सामुदायिक ४१, संस्थागत ८ र धार्मिक १, रोङ्गमा सामुदायिक ३०, संस्थागत २, माङ्गसेबुङ्गमा सामुदायिक ३२, संस्थागत ४, धार्मिक १ गरी जिल्लाका १० स्थानीय तहमा कुल ५सय १ विद्यालय छन ।जसमा ८६ सस्थागत छन् भने ९ धार्मिक र २ बालविकास केन्द्रमा पठन पाठन हुने गरेको छ ।
![](https://www.janatasamachar.com/wp-content/uploads/2020/09/cdo-262x360.jpg)