-मदन ढुङ्गाना / निरज तामाङकाठमाडौं । काठमाडौंको माइतीघर जसको छातीमा हरेक दिनजसो प्रदर्शन गर्ने युवाहरु उफ्रिने गर्छन्, आफ्ना माग र आवाज बुलन्द गर्न । यो प्रदर्शनको साक्षी हरेक पटक प्रहरी हुने गरेको छ । यहाँ मात्रै होइन देशैभर हुने आन्दोलनको साक्षी यिनै प्रहरी हुन् जो जनताको सुरक्षा गर्न भन्दै खटिएका छन् । तर, पछिल्लो समय जनताको जिउ धनको सुरक्षा गर्ने जिम्मेवारी पाएको प्रहरीको गतिविधि यति उग्र बन्दै गएको छ की उसले सामान्य भीड नियन्त्रण गर्न पनि लाठी र अश्रु ग्याँस वर्षाउने गरेको छ । टाउको फुटाउनेदेखि नागरिकको जिउमा बुट बजार्नेसम्म गर्न थालेका छन् प्रहरीले ।कोरोनाको महामारीपछि जारी भएको लकडाउन तथा निषेधाज्ञासँगै प्रहरी आक्रामक बन्दै आएको छ । पछिल्लो एक हप्ताको मात्रै गतिबिधि हेर्ने हो भने शाहीकालको झल्को दिने गरी प्रहरी उग्र बनेको छ । सत्याग्राहीदेखि समान्य प्रदर्शन गर्ने नागरिकसम्मलाई गलहत्याउने, बुट बजार्ने र निर्मम ढङ्गबाट कुटपिट गर्ने काम प्रहरीबाट भएको छ । जसमध्ये प्रहरीको उग्रता देखिने पछिल्ला पाँच घटना हेर्नुहोस् ।
घटना नम्बर १गत असोज १ गते बिहीबार कुलमान घिसिङलाई पुनः कार्यकारी निर्देशकमा नियुक्त गर्नु पर्ने माग गर्दै बबरमहलमा प्रदर्शन गर्न युवाहरु भेला भएका थिए । ब्यानर झिक्न नपाउँदै प्रहरीले ब्यानर नै खोसिदियो । र, सिधै लाठी चार्ज गर्न सुरु गर्यो । त्यसपछि त्यही भीडमा सहभागी युवा बब्लु गुप्तामाथि जाइ लाग्यो प्रहरी । उनलाई लाठी हान्ने मात्रै होइन नियन्त्रणमा लिएपछि पनि बुटै बुटले हाने प्रहरीले । नियमतः प्रहरीले नागरिकको शरीरमा लात्तीले हान्न पाउँदैन ।
घटना नम्बर २असोज २ गते शुक्रबार पनि कुलमान घिसिङकै पक्षमा नारा लगाउँदै युवाहरुले माइतीघरमा प्रदर्शन गरिराखेका थिए । त्यस दिन पनि प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्यो । जथाभावि लाठ्ठी चार्ज गरेर मनिषमान श्रेष्ठको टाउको नै फुटाइ दियो । रक्ताम्मे भएका उनलाई अझै प्रहरीले लखेटी राखेको थियो । (भिडियोमा देख्न सक्नुहुन्छ )
घटना नम्बर ३असोज २ गते प्रहरीले हानेको लठ्ठीले लागेर टाउको फुटेपछि मनिषमान श्रेष्ठलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएको थियो । उनको अवस्था कस्तो छ भनेर बुझ्न उनका आफन्तसहित केही युवाहरु अस्पतालसम्मै पुगेका थिए । तर, प्रहरीले अस्पतालमा पनि लाठ्ठीले हान्ने र धरपकड गर्ने काम जारी राख्यो । प्रहरीले गरेको दमनका क्रममा एक युवतीको हात नै मर्किएको थियो ।
घटना नम्बर ४असोज ६ गते । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै १९ औँ पटक अनसनमा बसिराखेका डाक्टर गोविन्द केसीमाथि पनि प्रहरीले दुव्र्यवहार गर्यो । अनसनकै क्रममा प्रहरीले जबरजस्ती जुम्लाबाट उठाएर काठमाडौं ल्याएपछि टिचिङ अस्पताल जान माइक्रो चढ्दै गरेका उनलाई प्रहरीले माईक्रोबाटै गल्हत्याएर बाहिर निकालेको दृश्य सार्वजनिक भएको थियो ।
घटना नम्बर ५असोज २ गते । सिभिल हस्पिटलमा श्रीमतीको चेकअप गराएर फर्किदै गरेका वसन्त पौडेलले संविधान दिवसको पूर्वसन्ध्यामा एक अनलाइनलाई प्रतिक्रिया दिँदै दिए । संसद् भवनको छेउमा सडकमा उभिएर प्रतिक्रिया दिएका उनलाई प्रहरीले बोल्दा बोल्दै त्यहीँबाट लखेट्यो ।यो पछिल्लो एक हप्तामा मात्रै प्रहरीले देखाएको उग्रताका प्रतिनिधि घटनाहरु मात्रै हुन् । करिब ५ महिना अघि मुलुक लकडाउनमा रहेका बेला काठमाडौंको कालिमाटीमा प्रहरीले औषधी किनेर फर्किदै गरेका एक युवामाथि निर्मम तरिकाले कुटपिट गरेको दृश्य सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरु मार्फत बाहिरिएपछि प्रहरीको निकै आलोचना भएको थियो ।लकडाउन र निषेधाज्ञाका क्रममा प्रहरीले थुप्रै ठाउँमा यसरी नै उग्रता देखायो । त्यसपछि पनि निरन्तर प्रहरी उग्र बन्दै आएको छ । पछिल्लो समय प्रहरीले जस्तो गतिबिधि देखाएको छ, त्यसले शाहीकालीन आन्दोलनका क्रममा प्रहरीको चरम दमनको झल्को दिन थालेको छ ।
किन उग्र बन्दै छ प्रहरी ?’हरेक नागरिक बर्दीबिनाका प्रहरी । हरेक प्रहरी बर्दीका नागरिक ।’ सुरक्षा फौजमा प्रचलित यो भनाइले प्रहरीको सफलतामा नागरिकको साथ र सद्भाव लुकेको सन्देश दिन्छ । तर, अहिले प्रहरीको यही मूल मन्त्र च्यूत बनेको छ । यति मात्रै होइन नेपाल प्रहरीले विभिन्न समयमा विभिन्न नाराहरु पनि ल्याउने गर्दछ । टोलटोलमा प्रहरी,प्रहरी मेरो साथी,मुस्कान सहित सेवा जस्ता मिठा नाराहरु पनि ल्याएका छन । पछिल्ला केही घटना हेर्ने हो भने प्रहरी साथी होइन प्रहरी प्रहारकारी जस्तै देखिने गरेका छन । आमनागरिकमाथि अनाहकमा निर्घात कुटपिट,अनि विभिन्न बिषयमा पक्ष,बिपक्षामा हुने गरेका सानातिना प्रर्दशनमा पनि आवश्यकता नै नभएको बल प्रयोग गरेर नागरिकमाथि दमन गर्ने गरेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुबेर कडायतले पनि त्यस्ता घटनाहरुमा कमजोरी भएको स्वीकार गर्छन् ।त्यसो भए कमजोरी कसको ? प्रहरी नेतृत्वकै हो वा फिल्डमा खटिएका प्रहरी अधिकृतको ? त्यस्ता घटनामा संलग्न प्रहरी अधिकृतहरुलाई के कारवाही हुन्छ त ? प्रहरी प्रवक्ता कडायतका अनुसार हुननपर्ने घटनामा पनि अधिक बल प्रयोग गर्ने प्रहरी अधिकृत र घटनाको निश्पक्ष छानबिन गरिरहेको छ । दोषी देखिने प्रहरीमाथि विभागीय कारवाही गर्ने उनको प्रतिबद्धता छ ।हुन त कुनै पनि ठाउँमा हुने आन्दोलन,तथा प्रर्दशनको प्रकृति हेरेर फिल्डमा खटिएका प्रहरी कमाण्डरले नै के कसरी भिडलाई नियन्त्रण गर्ने र जनधनको क्षति हुन नदिने भन्नेमा निर्णय गर्नेछन् । तर पछिल्ला दिनमा देखिएका केही प्रर्दशनहरुमा प्रहरीले अनाहकमै बल प्रयोग गरेर अंगभंग हुने गरी नै निर्घात कुटपिट गर्ने गरेको देखिएको छ । यो प्रहरी नेतृत्वकै कमजोरीका कारण भएको पूर्वडिआइजी केशव अधिकारीको भनाई छ ।अधिकारीकाअनुसार ठूला हुलदंगमा जाँदा पहिला प्रहरीले आन्दोलन तथा प्रदर्शनको प्रकृति के हो ? कसले र कस्तो प्रदर्शन गर्न खोजेका हुन् ? जनमानसको सहभागीता के कति संख्यामा छन् ? सोही अनुसार प्रहरी परिचालन गर्नुपर्ने हुन्छ । अर्को महत्वपूर्ण कुरा त के छ भने प्रहरीले सुरुमै हस्तक्षेप र बल प्रयोग गर्नै पाइदैन । कुन अवस्थामा कसरी भिडलाई नियन्त्रण गर्ने भन्ने मापदण्ड पनि हुन्छ प्रहरीमा । र सोही अनुसार अवस्था हेरेर क्रमशः प्रक्रिया चाल्ने गर्नुपर्छ । सुरुमा भिडलाई उत्तेजित हुनबाट रोक्ने,र सचेत गराउने, भिड उत्तेजित हुदै गएर भौतिक क्षति गर्न थालेपछि त्यसलाई रोक्न प्रयास गर्ने हो र अन्तिम ठुलै तोडफोड आगजानी जस्ता कार्य गर्न थाले बल्ल पानीको फोहोर हान्ने,अश्रुग्यास हान्ने लगायतका काम गर्ने भन्ने छ । तर पछिल्ला दिनहरुमा हुने गरेका सानातिना प्रर्दशनमा समेत,प्रर्दशनकारीहरु शान्तीपूर्ण धर्ना र प्रदर्शनमा समेत प्रहरी लाठी,चार्ज गर्ने,पानीको फोहोरा हान्ने,अश्रुग्यास हान्ने जस्ता कामहरु गर्ने गरेका छन् ।
यस्तो हुनुमा फिल्डमा खटिएका प्रहरी कमाण्डरले संयमता गुमाउनु र आवेशमा आएर बल प्रयोग गर्ने घटनाले सिंगो प्रहरी संगठनलाई नै बदनाम गर्ने र प्रहरीप्रति आमजनताको विश्वास टुट्दै जाने खतरा बढ्ने भविष्यमा थप ठूलो समस्य आउन सक्ने पूर्वडिआइजी अधिकारी बताउछन् ।आन्दोलन तथा प्रर्दशनमा जानुपूर्व फिल्डमा जाने प्रहरीहरुलाई प्रहरीअधिकृतले फिल्डमा रहँदा के कसरी काम गर्ने ? भन्नेबारे ब्रिफिङ गर्ने गर्दछन् र गर्नुपर्छ । कार्यक्षेत्रबाट फर्किसकेपछि पनि फिल्डमा खटिएका प्रहरी कमाण्डरले सम्बन्धित आफ्ना उच्च प्रहरी अधिकृतलाई जानकारी गराउनुपर्छ । पछि पनि त्यस्तै खालका घटनाहरुमा के कसरी प्रस्तुत हुने ? भन्नेबारे योजना बनाउने गर्छन् । तर पछिल्ला दिनहरुमा प्रहरीले खासै कुनै तयारी बिनै फिल्डमा खटिने र फिल्डमा खटिएका प्रहरी कमाण्डरको मानसिकतामा चल्ने कारणले पनि सामान्य प्रर्दशनहरुमा ठुलो क्षति हुने गरेको देखिन्छ । त्यसैले आन्दोलन, हुलदंगाका बेला सुरक्षाकर्मीहरु आक्रोशको सिकार बन्ने गरे पनि बर्दीप्रतिको यो तहको अविश्वासको खाडल पुर्नका लागि प्रहरी संगठन र तिनका नेतृत्व थप जिम्मेवार बन्नै पर्छ ।
उग्र प्रहरीलाई सुधार्न तालिम नै थालियोशाहीकालको झल्को दिने गरी प्रहरी आक्रमणका घटना बढ्न थालेसँगै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आफू मातहतका प्रहरी कर्मचारीहरुलाई संयमित बनाउन तालिम नै सुरु गरेको छ । प्रहरी कमाण्डरहरुले सामान्य भिड नियन्त्रणमा लिनसमेत लाठी र अश्रुग्यास हान्ने, पानीको फोहोरा फाल्ने, नागरिकमाथि दमनको नीति लिने गर्न थालेपछि त्यसलाई कम गर्न बुधबारबाट तालिम सुरु गरिएको हो ।महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौ उपत्यमा रहेका प्रहरी युनिटहरुमा १ घण्टाको घुम्ती अनुशिक्षण कार्यक्रमको शुरूवात गरेको छ । बुधबारदेखि कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी विश्वराज पोखरेलको नेतृत्वमा घुम्ती कक्षा सञ्चालन भएको हो ।कक्षामा प्रहरी कर्मचारीहरूलाई कोरोना भाइरसको महामारीमा कसरी काम गर्ने, आन्दोलन र प्रदर्शन नियन्त्रणमा लिने क्रममा पनि मानव अधिकारको रक्षा कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण दिइएको छ । प्रहरीका समस्या के कस्ता छन् भन्ने विभिन्न विषयमा ब्रिफिङ गरिएको थियो । व्रिफ्रिङ कक्षामा बोल्दै डिआइजी पोखरेलले संयमित भएर काम गर्न निर्देशन दिदै राम्रो काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार र गलत गर्नेलाइ कारबाही गर्ने बताए ।पछिल्लो समय सामान्य प्रर्दशनमा समेत प्रहरी दमन बढेको भन्दै ब्यापक विरोध हुन थालेपछि महानगरीय प्रहरी कार्यलयले प्रशिक्षण सुरु गरेको हो । विभिन्न वृत, कार्यालय र विटका प्रहरी अधिकारी प्रशिक्षणमा सहभागी छन् । जनस्तरबाट नै प्रहरीका गतिविधिको नकारात्मक टिप्पणी भएपछि बाध्य भएर यो प्रशिक्षण सुरु गरिएको हो ।
प्रशिक्षण दिदै महानगरीय प्रहरी कार्यलय प्रमुख डीआइजी पोखरेलले नागरिकका हकअधिकारको सम्मान गर्दै काम गर्न निर्देशन दिएका छन् । उनले अपराध अनुसन्धान गर्नेक्रममा होस वा भीड नियन्त्रण गर्नेक्रममा, त्यसमा सकेसम्म कमबल प्रयोग गर्न र दमनको नीति नदिन निर्देशन दिए ।विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण शुरू भएको र लकडाउन खुलेपछि देखिएको विरोध तथा प्रर्दशनहरूको नियन्त्रणमा प्रहरी कार्वाही गर्दा पालना गर्ने व्यक्तिगत स्वास्थ्य सुरक्षा मापदण्ड,मानव अधिकारको पालना र प्रहरी आचरण संहिताबारे महानगरीय प्रहरी कार्यालय मातहत प्रहरी कर्मचारीहरूलाई सचेत र सजक बनाउने उद्धेश्यले साथ अभियानको थालनि भएको प्रमुख पोखरेलको भनाइ छ । उनका अनुसार अब प्रशिक्षणपछि प्रहरी कर्मचारीहरु नागरिकको गुनासो कम आउने गरी काममा खटिने छन् ।यो प्रशिक्षणले प्रहरीको मनोवल बढ्नुका साथै प्रहरी आचरण सुधार्न मद्त पुग्ने सुरक्षा विज्ञहरुको तर्क छ । जनस्तरमा आलोचना भइराखेका बेला थालिएको प्रशिक्षणले प्रहरीको आचरण कति सुधार्छ त्यो भोलीका दिनमा देखिनेछ ।
हेनुहोस् यही रिपोर्टमा आधारित कार्यक्रम 'बाइलाइन'https://www.youtube.com/watch?v=VYe3TBt_r3k