भगीरथ भण्डारीइलाम । ‘हिजो त्यो फटाहाको सञ्जालले तयार गरेको विवरण हेरौं भन्दा हामीसँग सल्लाह भएन । कुन जड्याँहाले बनाएको विवरण हो त्यो ? एकराते खेतालाले बनाएको विवरण देखाउने ? हाम्रो इज्जत छैन ?’ ‘हिसाबकिताब अहिले भएन भने अख्तियारमार्फत म भाटे कारबाही गराइदिन्छु ।’ ‘यो सबै मलाई असफल गराउने षडयन्त्र हो ।’जिल्लाकाे फाकफोकथुम गाउँपालिकाका अध्यक्ष राम श्रेष्ठले कर्मचारीप्रति आक्रोशित हुँदै गालिगलौज गर्दे हुनुहुन्थ्याे । जिल्ला समन्वय समितिको सभा हलमा राष्ट्रिय सभा सदस्य अगमप्रसाद बान्तवा, १ नम्बर प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, प्रदेश सांसदहरु, जिल्ला समन्वय समिति प्रमुख, जिल्लाका दशै स्थानीय तहका प्रतिनिधि र सरकारी कार्यालयका प्रमुख/प्रतिनिधिबीच वार्षिक समिक्षा बैठकमा आफ्नो गाउँपालिकाको प्रस्तुतिप्रति श्रेष्ठ यसरी आक्रोशित बन्हुन्नुभएकाे हाे ।बैठकमा फाकफोकथुम गाउँपालिकाको प्रस्तुति चलिरहेका बेला सभा कक्षमा नै आक्रोशित बनेका श्रेष्ठ हल बाहिर निस्किएर कर्मचारीलाई गालि गर्न थालेपछि असामान्य अवस्था सिर्जना भएकाे हाे । २०७६/७७ को समिक्षा बैठक चलिरहेको थियो । त्यसैका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरे प्रस्तुतिका लागि हलको अगाडि गए । प्रस्तुतिको शुरुवातले घिमिरे भन्नुभयाे, ‘मैले नचिनेका कर्मचारीले बनाएको र नदेखेका जनप्रतिनिधिले गरेको कामको विवरण प्रस्तुत गर्दैछु ।’उहाँले नचिनेका वा नदेखेका कर्मचारी र जनप्रतिनिधिले गरेको कामको विवरण भन्दै प्रस्तुति शुरु गर्नुभयाे । घिमिरेको प्रस्तुति शुरु भएसँगै अगाडि बसेका प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय प्रमुखले प्रश्न गर्न थाले । ‘कर्मचारी चाहिँ कति जना हुनुहुन्छ ?’ घिमिरेले जवाफ दिनुभयाे, ‘म एक्लै । त्यो पनि १ महिना पनि भएको छैन, म सरुवा भएर गएको । विषयगत शाखाबाट जे विवरण आयो, त्यही लिएर आएको छु ।’गाउँपालिकामा ३१ कर्मचारीको दरबन्दी रहेकामा १५ जना कार्यरत छन् । त्यसमा पनि स्थायी कर्मचारी आफूसहित २ जनामात्रै रहेको घिमिरेले बताउनुभयाे । उनले विषयगत शाखाका कर्मचारीले पनि पञ्जीकरणको काम गर्नुपरेको भन्नुभयाे । र थप्रनुभयाे, ‘विधि विधानले त मान्दैन तर हाम्रो गाउँपालिकाले कर्मचारी अभावका कारण करार सेवाका कार्यालय सहयोगीले समेत वडा सचिवको काम गर्नुपरेको छ ।’प्रस्तुतिकै क्रममा घिमिरेको गाउँपालिका अध्यक्षलाई लक्षित प्रश्न थियो, ‘हाम्रोमा १ सय वेडको मात्र क्वारेन्टाइन हो, कहाँबाट तीन सय बेडको कुरा कुरा आयो ?’घिमिरेको प्रस्तुतिसँगै हल बाट प्रश्न, प्रति प्रश्न शुरु भए । हल असामान्य बन्दै गयो । हल असामान्य बन्ने देखेपछि जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले तपाई जानु यसलाई सुधार गरेर आउनु भनेपछि घिमिरे बाहिर निस्किनुभयाे । घिमिरे हलको बाहिर निस्किएसँगै अध्यक्ष श्रेष्ठ पनि बाहिर आएर कर्मचारीलाई गाली गर्न थाल्नुभयाे । आक्रोशित गाउँपालिका अध्यक्षले गाली गर्दै भन्नुभयाे, ‘गाउँपालिका मात्रै पुगौं न मैले जानेको छु के गर्नुपर्छ भन्ने ?’अध्यक्ष श्रेष्ठ रिसाउँदै जिल्ला समन्वय समितिको प्रांगणमा घुमिरहनुभएकाे थियाे । त्यही बेला गाउँपालिका उपाध्यक्ष सरस्वती राई पनि हल बाट बाहिरिनुभयो । उहाँले प्रशासकीय अधिकृत उमेश घिमिरेको प्रस्तुतितर्फ संकेत गर्दै भन्नुभयो ‘राम्रो तयारी छ भनेका थिए, हेरौं न त भन्दै आइयो, यस्तो लाज मर्दो पो रहेछ । यस्तो थियो भने त प्रस्तुति नगरेकै भए हुन्थ्यो नि ?’
अध्यक्ष, उपाध्यक्ष दुवैले हामीलाई नदेखाईकन आफूखुशी प्रस्तुति गरेको भन्दै कर्मचारीलाई गाली गरे पनि गाउँपालिकाका आइ.टी नारायण थापामगरले हामीले बनाएको विवरण गल्ती भए सच्याउनु पर्छ भन्दै हेर्नका लागि एक, एक प्रति प्रिन्ट गरेरै सबैलाई दिइएको बताउनु भएकाे छ । थापामगर भन्नुहुन्छ, ‘अध्यक्षले म भरे हेर्छु भन्दै गल्लामा हाल्नु भएको हाे,अहिले हामीलाई किन गाली गर्नु ?’ प्रमुख प्रशासकीय अधिकृत भर्खरै सरुवा भएर आएकोले उहाँ अगाडि मात्रै जाने तर प्रस्तुतिको लागि आफू जाने सल्लाह भएको थियाे तर त्यस्तो नभएपछि समस्या उत्पन्न भएको हो ।’ उहाँले भन्नुभयाे, ‘यसले गाउँपालिकामा कामै भएको छैन भन्ने म्यासेज गयो तर काम नभएको होइन ।’यसरी कर्मचारीप्रति जनप्रतिनिधी आक्रोशित बन्दा त्यहाँ बाहिर रहेका जो कोहिले अफ्ठ्यारो महशुस गरिरहेका थिए । फाकफोकथुम गाउँपालिकाकै एक स्थानीयले भने, ‘हाम्रो गाउँपालिकामा जनप्रतिनिधी र कर्मचारी भनेको सत्ता पक्ष र प्रतिपक्ष झैं हुन्छ । यसले गर्दा गाउँको विकास दशौं वर्ष पछाडि धकेलिने भयो, जहिल्यै झगडा मात्रै हुने गर्छ ।’जनप्रतिनिधि र कर्मचारी बीचको आपसी विवाद र समन्वय अभावले गाउँपालिकाको सेवा प्रत्यक्ष प्रभावित हुने गरेको स्थानीयको गुनासो छ । जनप्रतिनिधिले ‘अभद्र’ व्यवहार गर्ने डरले कर्मचारी सरुवा भएर जान नरुचाएको कारण पनि समस्या भएको कर्मचारी स्रोत बताउँछन । ३ वर्षको अवधिमा फाकफोकथुम गाउँपालिकामा ४ प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।