डा. ध्रुवचन्द्र गौतममनोजले केटीलाई फेरि उपहार दियो ।“यो मेरो तर्फबाट तपाईलाई गिफ्ट हो” मनोजले भन्यो । यस पटक त एउटा रिको घडी थियो । सुनौलो रङको ।केटी झस्की । अब यो बढी हुन लाग्यो जस्तो छ ।उसले भनी–“आज त मेरो जन्मदिन होइन । त्यसो भए उपहार के का लागि ?”“आज मेरो जन्म दिन हो ।”यता आएर केटी अलिक गम्भीर देखिन थालेकी थिई । त्यसै बखत शशी उसको नजिकबाट गई तर बोलिन ।ऊ तत्काल अलिक खस्री भर्ई । सम्भवतः पहिलो पटक, मनोजसँग त पक्कै पहिलो पटक भनी –“दिस इज इनडिसेन्ट अन योर पार्ट मनोजजी ।मेरो बर्थ डेमा मलाई प्रेजेन्ट दिने कुरा बुझ्न सकिन्छ । तपाईको बर्थ डेमा पनि तपाईले नै प्रेजेन्ट दिने ? अनि म त्यो लिन्छु भन्ने आत्मविश्वास तपाईमा आउने ? के मलाई त्यति कमजोर स्वाभिमानै नभएको ठान्नुभयो ? म यो उपहार एक्सेप्ट गर्दिनँ ।”“होइन, तपाई ......।”“म हाँस्छु, खेल्छु, सबैसित राम्रो सित बोल्छु । कसैलाई चोट नपुगोस् भन्ने ठान्दछु भने म जसले जरुरी भन्यो त्यसै गरी सधैं बाँच्छु भन्ने के छ र ? मलाई के थाहा ? म जस्तो मान्छेलाई मानिस स्वत्व गुमेको मानिस ठान्दा रहेछन् ।”वृक्षाका आँखामा आँशु वा आक्रोश कुनचाहिँ बढी थियो, छुट्ट्याउनै गारो भयो ।मनोज त सालिकमा परिणत भएजस्तै भयो । ऊ एकछिन त चलहल मात्र होइन, सास समेत नफेरेर उभियो । के भयो, आज यो केटीलाई ? यो त सधैं फिलिम देखाउने होइन मनोजजी, खाजा ख्वाउने होइन? दिल्ली जाँदै हुनुहुन्छ, मलाई के ल्याइदिने ? एउटा सारी काठमाडौंमै किनेर त्यसै प्रेजेन्ट गरेपनि त हुन्छ नि ! उपहार दिनलाई सधैं जन्मदिन नै आउनु पर्छ र ? भन्ने केटी थिई ! आज के भयो ?मनोजलाई त्यस्तै छाडेर केटी हिँडी । अफिसमा पनि बसिन । सरासर घर गई । उसलाई आजसम्मको आफ्नो जीवन पहिलो पटक व्यर्थ र इरेजर लाएर रेट्नुपर्ने खालको लागेर आयो । उसलाई लाग्न थाल्यो । उसले सबलाई रिझाउन खोजी, किन खोेजी ? जीवनमा जीवन काट्नुलाई मात्र आधार मानेर, जीवन काट्ने रमाइला साधनहरू खोजेर बसिरहेँ । जीवन त टेलिभिजन मात्र हेरेर पनि काट्न सकिन्छ । तास मात्र खेलेर पनि काट्न सकिन्छ । तर यसकै लागि जन्मेको ठान्नु... । जो टिभी हेर्दैनथे, तास खेल्दैनथे, तिनीहरू केका लागि जन्मेका थिए ? तिनको जीवन मभन्दा व्यर्थ थियो त ?अन्त्यमा केटी हिसाब गर्न बसी, आजसम्मको जीवनमा उसले टिभी र फिलिम हेर्नमा कति घण्टा, तासमा कति र मानिससित जिस्किएर बस्नमा कति घण्टा खर्च गरी ? त्यति घण्टा ऊ आफूसित नजिक रही कि टाढा ? त्यो हिसाब पनि लगाउन थाली । तर हिसाबमा ऊ कमजोर थिई र स्कुलमा फेल हुने गर्दथी ।.......विनम्र र सभ्य र कोमल र सदाचारी देखिएपनि मनोज एउटा बहादुर नेपाली नवयुवक थियो । त्यति चाँडो पराजित किन हुन्थ्यो ?यता आएर वृक्षा र उसको भेट भएको थिएन । पढ्न पनि जान छाडी ।अफिसबाट एउटा पिकनिकको आयोजना गरिएको थियो, त्यसमा पनि गइन ।मनोजले के ग¥यो भने, ऊ पनि गएन । यो समाचार उसले कुनै केटीमार्फत, खास अनुरोध गरेर वृक्षासम्म पुर्याएरै छाड्यो ।केटीको नाउँ सञ्जना थियो । केटीले भनी –“मनोज पनि पिकनिक गएन ।”वृक्षा अलिक हाँसी –“तँलाई भन्न पठाएको होला होइन, म नगएकीले ऊ पनि गएन?”सञ्जना अलिक आत्तिई –“त्यस्तो त होइन, मैले तँलाई खबर पो सुनाएको !”केटीले भनी–“पिकनिक त अरू पनि अफिसका कर्मचारी गएका थिएनन्, तिनको खबर त भनिनस् मलाई ?”“तिनीहरू र मनोज एउटै हो त ?”“पिकनिक जाने –नजाने कुरो कत्रो ठूलो हो र मनोजलाई र अरूलाई छुट्ट्याउनु ?” केटीले भनी ।“होइन, जे भए पनि मनोज त पहिले जान्छु भनिरहेको थियो नि त !पैसा पनि हालिसकेको थियो ...!”केटी फेरि हाँसी । भनी–“पैसा हालेर पिकनिक गएन, मेरा लागि कत्रो त्याग बलिदान गरेछ ? यही तँलाई सुनाइदे भन्न पठाएको हो । मैले सुनेँ भनिदे । तर मलाई अब यस्ताले असर गर्दैन ।”“एकदम सन्यासिनी हुने तँ ?” सञ्जनाको व्यङ्ग्य थियो ।“यो कसैलाई सुनाउनलाई भनेको होइन ।” केटीले भनी –“एकदम सन्यासिनी हुने होइन । आफूलाई मन लागेको गर्ने । आजसम्म अरूलाई मन लाग्ने कुरा नै आफूलाई मन लाग्ने कुरा हो भन्ने ठानिरहेकी थिएँ ।”सञ्जनाले बुझिनछ क्यार । केटी अलि छटाइछ कि क्या हो ? त्यहाँबाट केही नबोलेर हिँडी । मनोजसित फेरि भेट्ने आवश्यकता पनि ठानिन । केटीले भने बाटाभरि सोचिरही । के भयो वृक्षालाई ?वृक्षा सोच्न थाली, मैले सञ्जनालाई जबाफ दिएर पुग्यो त ? पुगेको छैन । तैपनि अलिकति होलो किन अनुभव भयो मलाई ? आजसम्म त यस्तो भएको थिएन ?त्यस्ती वृक्षा एक दिन पुस्तकालयमा गई । त्यहीँ मनोज भेट भयो । उसले भन्यो । “मैले त्यसदिन घडी दिन खोजेर गल्ती गरेँ भन्ठान्नुहुन्छ?”केटी टक्क अडिई । आँखा तीखा थिए । तर बोली सामान्य प्रकारको बनाइएको थियो । भनी –“होइन, गल्ती मैले नै गरेकी थिएँ ।”“कसरी ?”“मैले तपाईंलाई मात्र भनेकी होइन, हरेक मानिससमक्ष आफूलाई यस्तोरूपमा प्रस्तुत गरेछु, जसले गर्दा म एउटा जे भने पनि अस्वीकार नगर्ने, जुनस्तरमा ओर्ले पनि हाँसी हाँसी ओर्लने केटी ठानिएँ ।”“त्यो त झन् गुण हो, सरलता हो?”“होइन, सरलता भन्ने तर सस्तो मान्ने कुरा रहेछ त्यो ।” केटीले भनी ।“मैले त्यो एउटा गल्ती नै गरेँ भने पनि त्यसलाई अक्षम्य अपराध मान्नुहुन्छ ? मनोजले सोध्यो । ”केटीले भनी –“त्यो त मान्दिनँ, तर सोच्न बाध्य भएँ प्रत्येक पुरुष एउटै नियत लिएर किन प्रकट हुन्छ?”“एकछिन बाहिर जाने ?” मनोजले भन्यो ।“हावा खान?”“होइन, एउटा कुरा पनि भन्नु छ, तपाईलाई ।” मनोजले भन्यो –“मोटर बाइकमा जाऊँ हुन्न ?”“मोटरबाइकमा नजाऊँ ।” केटीले भनी “त्यहाँ चउरसम्म जाऊँ हिँडेरै ।”दुवै हिँडेर चउरमा पुगे । एक छेउमा गएर बसे ।मनोजले भन्यो “म दिल्ली जाँदैछु । केही ल्याइदिऊँ?”“यही भन्नु थियो ? केटीले भनी –“यही भन्नु थियो भने मनोजजी, अब मैले उपहार नलिने अठोट गरेकी छु ।”“पैसा दिएर त मगाउन सक्नुहुन्छ? ” मनोजले अर्को केही थप्यो ।“पैसा दिएर त मगाउने भए, म आफैँ तपाईसित सोधिसक्थें, किनभने तपाई दिल्ली जाने कुरा त अफिसमा सबैलाई थाहा छ ।” उसले भनी ।यी सबै भन्दाखेरि ऊ उद्विग्न पटक्कै देखिएको थिइन । शान्त र संयमित बनाएकी थिई । आफ्नो कोमल वाणी शरीर जस्तै मेन्टेन गरेकी थिई । त्यसकारण कुराकानी चल्न सकिरहेको थियो, नत्रभने वाक्य अनुसारको प्रतिक्रिया दिँदै जान सकेको भए मनोज अहिलेसम्म पहिरो जस्तै खसिसक्तथ्यो ।मनोजले भन्यो ।“तर मैले भन्न खोजेको कुरो अर्के छ ।”“त्यति महत्वपूर्ण रहेनछ ।” केटीले भनी ।“किन ?” मनोजले भन्यो । “हुनसक्छ, यो मेरो जीवनको सबभन्दा महत्वपूर्ण कुरा होस् । कुरै नसुनी महत्वपूर्ण होइन भनेर कसरी भन्न सक्नुहुन्छ ?केटीले भनी “महत्वपूर्ण भएको भए अरू कुरामा यतिका समय किन बिताउनु भयो त ?”मनोज चुप लाग्यो । एकछिनपछि भन्यो –“हुन सक्छ होइन, वास्तवमै यो मेरो जीवनको सबभन्दा महत्वपूर्ण कुरा हो ।”“के कुरा ?”“म भनूँ ? तपाईंलाई देखेपछि तपाईंलाई हेर्न मन लाग्छ । तपाईंसित बस्न, कुरा गर्न मन लाग्छ । तपाईंलाई छुन मन लाग्छ ।”“तपाईंले भनेको मैले बुझेँ मनोजजी ।” केटीले भनी –“म पहिले तपाईको सज्जनतादेखि प्रभावित पनि थिएँ ।”“अब के, त्यही घडीले गर्दा हुनुहुन्न ?”“होइन, घडी एउटा निहुँ मात्र भन्ठान्नुस् ।” केटीले भनी –“म अहिले त तपाई सित प्रभावित छु भने तापनि तपाईको प्रस्ताव पहिले भएको भए कुन्नि, अबलाई मैले मान्न असम्भव छ ।”“किन, अब तपाईमा स्वाभिमान जन्मियो भनेर?”“त्यो पनि होला । ” वृक्षाले भनी –“ तर यहाँ अहिले त्यो पनि हुँदैहोइन ।”“के हो त ?” निरास र आत्तिँदै गएको मनोजले भन्यो । उसलाई पछुताउ भइरहेको थियो, घडी किन दिएर अन्मरिएँ ? त्यसअगि नै किन भनिनँ ? साँच्ची किन भनिनँ ? यो प्रश्नलाई उसले एकाधिक पटक आफूभित्र छड्किन दियो ।उत्तर उसले के पायो भने, उसलाई लागेछ, वृक्षा सजिलो केटी हो, भन्नसाथ मानिहाल्छे, त्यसकारण हतार के छ ? बरु उसैबाट केही सङ्केत पाइहालिन्छ कि !त्यसो भयो भने झन् राम्रो एउटा अर्को आज पनि थियो, ऊ बिहे नै गर्न चाहिँ कुनै मालदार केटी नै चाहन्थ्यो । वृक्षा मालदार त थिई तर यसबीच बाबुकी एक्लीचाहिँ कुनै सुपुत्री स्नेहको खोजीमा भौतारिँदै फेला परिहाल्छे कि !यो अनुकल्पना हो । सत्य कुरा त के थियो भने, केटीले नाइँ भन्छे कि भन्ने भयले नै यतिका दिन उसलाई सज्जन, भलादमी बन्न बाध्य गरेको थियो । अब अहिले यो स्थिति कस्तो छ भने, आफू यतिका दिन सज्जन भलादमी भएकोमा आफैंँलाई थुकिरहेको थियो, मनमनै लात हिर्काइरहेको थियो । तैपनि ऊ अस्वीकारको कारण जान्न व्यग्र थियो, किनभने एक किसिमले त यो एउटा असम्भव प्रकारको अस्वीकार थियो, उसका दृष्टिमा ।“भन्नुभएन त !” एकछिन केटीलाई चुप लागेको पाएपछि उसले घचघचायो ।“भनिदिऊँ त ?”“भन्नुस् न ।”अनि केटीले भनी– “घडीको घटनापछि हामी भेटेनौँ नि ! त्यसैबीचमा मेरो जीवनमा मेरो एउटा ब्राहृमण केटो सित भेट भयो । त्यसले मेरो जीवनमा यति छिटो प्रभाव पा¥यो, म ऊसित वचन बद्ध भईसकेँ । त्यसकारण अब असम्भव छ भनेको ।”“को हो त्यो?”“अग्निदत्त ।”अग्निदत्त जोसुकै होस्, मनोजलाई वास्ता थिएन ।तर त्यसदिन कोठामा गएर उसले आफ्नो नारीको घडी फुकालेर यस्तरी हुर्यायो, त्यो गएर भित्तामा बजारियो । फुट्यो ! फुटेन त्यसको अर्थ थिएन ।अर्थ केको थियो भने, ऊ धेरैबेरसम्म आफ्नै प्रिय घडीलाई अत्यन्त घृणित शत्रुजस्तै हेरेर उभिइरह्यो ।एउटा ठूलो पटाक्षेप, एउटा सानो वस्तुले गरिदिएको थियो ।तैपनि अन्तिम एक प्रश्न त बाँकी रहेकै देखियो ।को हो अग्निदत्त ?(लेखक गौतमको वहुचर्चित उपन्यास 'अग्निदत्त +अग्निदत्त' को अंश । उपन्यास अग्निदत्त +अग्निदत्त' को नयाँ संस्करण जनता प्रसारण तथा प्रकाशन लिमिटेडबाट प्रकाशित भएको छ । )
प्रकाशित मिति: आइतबार, असोज १८, २०७७ ०१:४०