-मुना चौधरीदुवै बजार मेला हेर्न गएका हुन्छन् । मेलाबाट जोखन परीलाई आँखाको इशारामा सँगै घर फर्कौँ भनेपछि टोलका साथीहरूको साथ छोडेर परी जोखनसँगै फर्किन्छिन् । घर फर्किने बेलामा अँध्यारो भइसकेको हुन्छ । खेतको फाँट पार गरेर घर फर्किनुपर्छ । घर फर्किने वेलामा दुवैजना आफूलाई नियन्त्रण गर्न सक्दैनन् । .सन्ध्याकालिन अँध्यारोमा जोखन परीको हातमा पहिलोपटक चुम्छ । जोखनले चुम्दा जोखन र परी दुवैको जिउको रौं ठाडा हुन्छन् । परी सङ्कोचले लजाउँछिन् । परीबाट अनुमति पाए जस्तो हुन्छ । परी लजाएको देखेर जोखनको मनभित्र ऊर्जा पलाउँछ । जोखनको हात अनियन्त्रित रुपमा परीको जीउमा चल्न थाल्छ । परीको जिउ सिरिङ्ग हुन्छ । परीको तागत कम हुँदै जान्छ तर जोखन उर्जावान हुन्छन् ।एकतमासले परी सबै कुरा बिर्सेर जोखनको पाखुरा कोपर्न थाल्छिन् । जोखनमा झन उत्साह बढेर आउँछ । परीको छातीमा भएको पछ्यौरी जोखनले पर फाल्छन् । परीलाई डर लागिरहेको हुन्छ । तर उनी जोखनलाई केही भन्न सक्दिनन् । उनको डर मिठासमा परिणत हुन्छ । उनलाई जोखनको स्पर्श आह्लादित लाग्छ । जोखनलाई पनि परीको स्पर्शमा रोमहर्ष भान हुन्छ । दुवैजना फगत एकअर्काको स्पर्शमा हराउँछन् – झिसमिसे अँध्यारोमा ।केही समयपछि जोखन फुत्त उठेर छेउमा पल्टिन्छन् । परी एकछिन अघिको त्यो मिठो दुखाईमा हराइरहेकी हुन्छिन् । तर दुवै केही बोल्दैनन् । परी कता कता लजाउँछिन् । फेरि आफूलाई नियन्त्रण गर्छिन् र हत्तपत्त पर फालिएको सुरुवाल तानेर लगाउँछिन् । जोखनले पनि आफ्नो हाफपाइन्ट लगाउँछन् । हात, खुट्टामा लागेको माटो हातले पुच्छन् । अनि पहिला परी घर फर्किन्छिन् । त्यसको आधा घन्टापछि बल्ल जोखन घर फर्किन्छन् ।......जोखन परीका छिमेकी हुन् । जोखन र परीको घर एकअर्काको घर आमनेसामने छ । ५ महिनाअगाडि टोलका केटाकेटीहरु नयाँ वर्षमा वनभोज जादाँ कोशी ब्यारेज जाँदा परीलाई गाडीमा धेरै रिंगटा लागेको हुन्छ ।त्यतिबेला जोखनले परीलाई धेरै हेरचाह गर्छन् । त्यही हेरचाह मायामा परिवर्तन हुन्छ । उनीहरु एकअर्काका छिमेकी हुन् । पहिले जोखनलाई परीले दाजु भन्थिन् । उनका बाआमालाई ठूला बाआमा भन्थिन् तर प्रेममा परेपछि उनी जोखनलाई दाजु भन्न छोडिसकेकी छिन् । जोखन मामाघरमा बसेर पढ्छन् ।छुट्टीमा मात्र उनी घर आउँछन् । जोखन छुट्टीमा घर आएका हुन्छन् । त्यही वेला मेला हेर्न गएका हुन्छन् । परी १८ वर्षकी र जोखन २२ वर्षका छन् ।एक हप्तापछि जोखन मामाघर फर्किन्छन् । दिन, हप्ता, महिना गर्दै समय बितिरहेको हुन्छ । तीन महिना बितिसकेको हुन्छ तर परी महिनावारी भएकी हुँदिनन् । पहिला पनि परी नियमित महिनावारी हुँदैन थिइन् ।पहिला पनि तीन, चार महिनामा महिनावारी हुन्थिन् । महिनावारी नहुँदा पनि उनले चासो राख्दिनन् । महिनावारी बन्दलाई उनी सामान्य रुपमा लिन्छिन् । उनलाई तीनमहिनापछि बिस्तारै खानेकुराहरू गनाउन थाल्छ । घरीघरी उनलाई बान्ता हुन थाल्छ ।वान्ता भएपछि उनी नियमित खाना खाँदिननँ । उनको जिउ कमजोर हुन्छ । जिउ कमजोर भएको कारणले उनलाई थकाइ लाग्ने, टाउको दुख्ने र ज्वरो आउन थाल्छ । उनी ज्वरो आएर आमामार्फत् उनी बजारबाट सिटामोल मगाउँछिन् ।औषधी खाएको बेलामा अलि सन्चो हुने र औषधी खान छोडेको वेलामा ज्वरो आइरहने हुन्छ । उनकी आमाले पनि सामान्य ज्वरो हो आफै हराएर जान्छ भनेर वास्ता गरिनन् । सिटामोल सेवन गर्दै उनको ज्वरो निको भयो तर उनी महिनावारी भइनन् ।६ महिना पुगिसकेको थियो । अब त उनको पेट सामान्यभन्दा असामान्य रुपमा बढिरहेको हुन्छ । टोलका साथी र स्वास्नी मान्छेहरु परीको भुँडी ठुलो हुँदै गएको बारे कुरा काट्न थाल्छन् । कुरा काट्नेलाई परीले हाँसेर आत्मविश्वासका साथ जवाफ फर्काउँदै भन्छिन् । म ६ महिनादेखि महिनावारी भएकी छैन त्यसैले होला भुँडी ठूलो भएको । उनको कुरा सुनेर स्वास्नी मान्छेहरुले भन्छन्, महिनावारी बन्द हुनु राम्रो होइन । अस्पताल गएर एकपटक जाँच गर ।सातौँ महिनामा टोलकी साथी रधियालाई लिएर अस्पताल जचाउन जान्छिन् । डाक्टरले एक्सरे गरेर हेर्छन् । रिपोर्ट दिने बेलामा परी एक्लैलाई बोलाएर भन्छन्, तिम्रो पेटमा ६ महिनाको बच्चा छ ।डाक्टरको कुरा सुनेर परीलाई होसहवास सबै उड्छ । उनी कुमाइर (कुमारी) आमा बनेकी हुन्छिन् । उनी डाक्टरको कुरा विश्वास गर्न सक्दिनन् । उनको आँखा अगाडिको सबै वस्तु धमिलो लाग्न थाल्छ । वरपर भएको सबै वस्तु उल्टो घुमेको देख्छिन् ।उनी डाक्टरलाई हतपत हात जोड्दै बच्चा फाल्नको लागि आग्रह गर्छिन् तर डाक्टरले ढिला भइसकेको हुनाले बच्चा फाले ज्यानको खतरा हुन सक्छ भनेपछि उनी जहाँको त्यही टाउकामा हात राखेर थचक्क बस्छिन् । उनको अनुहार कालो, निलो र सुख्खा हुन्छ ।उनको मुखको सबै थुक सुकिसकेको हुन्छ । मुखमा थुक नभए पनि उनी थुक निल्ने प्रयास गर्छिन् । उनको निधारमा पसिना आइसकेको हुन्छ । उनी रुमालले निधारको पसिना पुच्छिन् । उनी निन्याउँरो अनुहार लगाउँदै डाक्टरको कोठाबाट निस्किन्छिन् । बाहिर बसेकी रधियालाई केही भन्दिनन् ।........डाक्टरले भनेको कुरा उनको कानमा पटक पटक ठोकिएर नाचिरहेको हुन्छ । उनी मनमनै भन्छिन्, समाजको अगाडि कसरी मुख देखाउने ? उनी रिक्सा चढिन् । चर्को घाम थियो तर उनलाई घामले पनि पोलेन । घामले पोलेर रधिया टाउका पछ्यौरीले छोपिन् तर परीलाई केही वास्ता लागेन ।घामभन्दा उनको मनको घाउ चर्को गरी पोलिरहेको थियो । रिक्सामा बसिरहँदा एक शब्द केही बोलिनन् । रधिया मात्र केके बोलिरहन् । रधिया जे बोले पनि रधियाको कुनै कुरा उनलाई याद भएन ।आधा घन्टापछि उनी घर आउँछिन् तर बाआमालाई केही भन्दिनन् । उनकी आमाले सोधिन् पनि डाक्टरले के भन्नुभयो ? उनले डाक्टरले सबै ठीक छ भन्नुभयो भन्छिन् ।उनी बेलुकी जोखनलाई फोन गर्छिन् । फोनमा केही भन्न सक्दिनन् । जसरी पनि घर आउनुस् भनेर बोलाउँछिन् । जोखन भोलिपल्ट आइपुग्छन् । उनी जोखनलाई बेलुकी घर पछाडिको बारीमा भेट्न बोलाउँछिन् । अँध्यारो भइसकेको हुन्छ । उनी जोखनलाई घर पछाडिको बारीमा भेट्न जान्छिन् ।आफू सात महिनाको गर्भवती रहेको र गर्भको बच्चा जोखनको भएको उनले जोखनलाई बताउँछिन् । उनको कुरा सुनेर जोखन रिसाउँदै भन्छन्, यो बच्चा मेरो होइन । तँ कहाँ कहाँ गएर कोकोसँग के के गरिस् मलाई के थाहा ? तर यो बच्चा मेरो हैन है !जोखनको कुरा सुनेर उनी छाङ्गाबाट खसेझैँ हुन्छिन् । किनकी सहारा दिनुपर्ने जोखन नै उनको चरित्रमाथि नै औँला उठाउदै थियो । परीलाई कुनै उपाय सुझ्दैन । उनी हतपत जोखनको खुट्टा ढोग्दै भन्छिन्, मसँग विवाह गर्नुस् जोखन । यो बच्चा तपाईकै हो । मेरो चरित्रमाथि औँला नउठाउनुस् ।जोखन परीको हात आफ्नो खुट्टाबाट छुटाउदै वेवास्ता गर्दै त्यहाँबाट हिँड्छन् ।जोखन गइसकेपछि परीको आँखाबाट आँसु बग्न थाल्छ । जोखनलाई देखेर उनलाई घृणा लाग्छ । उनी रुन थाल्छिन् । उनी आफ्नै कपाल भुताल्न थाल्छिन् । उनलाई आफ्नै कर्मसँग औधि रिस उठ्छ । रोएर थाकेपछि आँसु पुच्छिन् । कपाल बाँध्छिन् । घर फर्किन्छिन् ।उनी बिहानै उठेर जोखनको घर जान्छिन् । जोखन ओसरामा बसेर दतुवाइनले दाँत माझिरहेका हुन्छन् । जोखनकी आमा आँगन बढारिरहेकी हुन्छिन् । उनी जोखनको आँगनमा गएर जोखनलाई फेरि भन्छिन््, मसँग बिहे गर्नुस् जोखन । यो मेरो पिटको बच्चा तपाईको हो ।परीको कुरा सुनेर जोखनकी आमा आश्चर्य र रिसले परीको पेटतिर हेर्छिन् । परीको पेट कुर्थाको माथिबाट पुटुस्स देखिएको हुन्छ । जोखन परीको आरोपबाट बच्न आमाको सहारा लिँदै भन्छन्, हेर्नुस् आमा यो केटी कसको कसको बच्चा बोकेर मेरो नाम लगाउँदै छे ।जोखनको कुरा उनको आमालाई विश्वास लाग्छ । किनकि जोखन मामाघरमा बस्छन् । वेलामौकामा मात्र घर आउँछन् । परीको कुरा सुनेर जोखनकी आमा परीलाई कुचोले हान्न खोज्दै भन्छिन्, अरूको भुँडी बोकेर मेरो छोराको नाम लाउँछेस् ।परी कुच्चो समात्दै भन्छिन्, ठुली आमा म हजुरलाई आदर गर्छु । त्यसैले हात उठाउँदिनँ । हजुरको छोरो झुठो बोल्दै हुनुहुन्छ । उनले जोखनकी आमाको हातबाट कुच्चो खोसेर पर फाल्छिन् । जोखनकी आमा परीतिर हेरेको हेरै हुन्छिन् ।खैलाबैला सुनेर त्यतिबेलासम्म टोलका छिमेकीहर पनि जम्मा भइसकेका हुन्छन् । उपस्थित भएका छिमेकीहरु मुखामुख गर्न थाल्छन् । सबैले भन्न थाल्छन्, छि ! बिहे नभइकन भुँडी । कुन्नि कसको भुँडी हो । यो केटीको चरित्र नै ठिक छैन ।सबैले परीलाई नै दोष लगाउछन् । उनको चरित्रमाथि नै औँला उठाइरहेका हुन्छन् । उल्टै सबैले आफूलाई दोष लगाएको देखेर परीलाई चित्त दुख्छ, रिस उठ्छ । रिसको झोंकमा जोखनको छेउमा गएर जोखनको गालामा कसेर एक झापट लगाउँदै भन्छिन्, तपाईँको औकात यही हो । म तपाईलाई बर्बाद पारिदिने छु ।परीले जोखनको गालामा झापट हान्दा जोखनको दतुवाइन् उछिटिएर पर पुग्छ । जोखन केही नबोली गाला समातेर बसिरहन्छन् । आफ्नो छोरालाई कुटेको देखेर उनकी आमा फेरि कुच्चोले परीलाई कुट्न आउँछिन् –जो चोर उसकै ठुलो स्वर ?जोखनको आमाको हात समातेर परी जोरले झट्कारेर कुच्चो खोसेर पर फाल्दै उनकी आमालाई आँखा तर्दै त्यहाँबाट निस्किन्छिन् । भेला भएका छिमेकीहरु पनि कुरा काट्दै त्यहाँबाट निस्कन्छन् ।परी गर्भवती भएको कुरा सुनेर उनका बाआमा टाउकामा हात राखेर बस्छन् । परीले जोखनलाई आरोप लगाएको दिनदेखि जोखन गायब हुन्छन् । परीको घर छिमेकीहरु आउन छोड्छन् । टोलका साथीहरु रधिया, घुरनी, अनुराधाले पनि परीको संगत छोडिदिन्छन् । परीलाई परै देखे भने पनि उनीहरु बाटो काटेर हिँड्छन् । छिमेकीहरु परीको घरतिर थुक्दै बाटोमा हिँड्छन् ।छिमेकीहरु एकाएक आउन बन्द गरेपछि परीका बा धेरै चिन्तामा पर्छन् । उल्टै परी र परीकी आमा दुबैजनालाई, आमा र छोरी दुबैले समाजको अगाडि नाक काटी भनेर गाली गरिरहन्छन् । बाले गाली गरेको देखेर आमा पनि परीलाई मनपरी गाली गर्छिन् । परी गाली सुनेर झोक्रयाएर बसिरहेकी हुन्छिन् । बाआमाको टोक्सो र समाजको घृणाले परी आजित भइसकेकी हुन्छिन् ।उनी एक राति मुसा मार्ने दबाई भातमा मुस्छिन् । खानलाई गाँस मुख नजिक लग्छिन् तर दबाइ ठुस्स गन्हाएर खान सक्दिनन् । उनलाई आफ्नै माया लाग्छ । मर्न डर लाग्छ । उनको आँखाको पिँध आँसुले भरिन्छ । के सोच्छिन् कुन्नि दबाइ मुसिएको भात बारीमा मिल्काइदिन्छिन् ।.......आज भोलि भन्दा भन्दै नवौँ महिना पुगिसकेको हुन्छ । उनलाई बिहानैदेखि ब्यथा लाग्छ । उनी बारी गएर घरी दिसा गर्छिन् । घरी पिसाब फेर्छिन् । उनको तल्लो पेट झर्लाझैँ दुखिरहेको हुन्छ । उनी पेट समातेर छटपटाइरहेकी हुन्छिन् । घर पछाडिको बारीमा छोरी छटपटाइरहेको उनकी आमाले देख्छिन् । उनकी आमा उनलाई उठाउँदै हात समातेर घर ल्याउँछिन् ।घरमा ल्याएर लुगा फुकालिदिन्छिन् । उनकी आमा दगरीन (सुडेनी) आफैँ बन्छिन् । करिब ६ घन्टाको व्यथापछि बच्ची जन्मिन्छिन् । व्यथा कम भएपछि उनी निदाउँछिन् । उनको आँखा खुल्दा उनी आफ्नो छेउमा बच्चीलाई देख्छिन् । उनको वात्सल्याप्रेम ओर्लिएर आउँछ । उनी नवजात बच्चीको गालामा म्वाइ खान्छिन् ।सुत्केरीले खाने पोषिलो खाना र हेरचाह नपाउँदा राम्ररी दूध पनि आउँदैन । दूध खान नपाएर बच्ची भोकले रातभरि रुन्छिन् । जति बच्ची रुन्छिन् त्यति परीका बालाई रिस उठ्छ । घरमा आगो लगाएर छोरी र बच्चीलाई जलाइदिन्छु भनेर पटक पटक धम्की दिइरहन्छन् । बाको गाली सुनेर उनकी आमा छोरी र बच्चीको चिन्ताले दुब्लाउँदै गएकी हुन्छिन् । बाको गाली पटक पटक सुनेर परी निरास हुन्छिन् ।दिनहूँको अपमान स्वीकार्य हुँदैन् परीलाई । त्यसैले बच्ची जन्मेको १५ दिनपछि मध्य रातमा छोरीलाई काखी च्यापेर घरबाट निस्किन्छिन् । बच्चीलाई कतै फालेर आफू पासो लगाएर मर्ने विचार गर्छिन् । घरबाट निस्केपछि आधा घन्टा हिँडेर घना आँपगाछी पुग्छिन् । आँपगाछी निश्पट्ट अँध्यारो हुन्छ तर उनलाई अँध्यारोबाट डर लाग्दैन । उनी एउटा आँपगाच्छीको ओतमा बच्चीलाई राख्छिन् । पासो लगाउन आँपको गाछमा चढ्न थाल्छिन् । उनी गाछमा चढ्न खोज्दा बच्ची क्वाइँक्वाइँ रुन थाल्छिन् । उनी गाछमा चढ्न छोडेर बच्चीलाई काखमा बोक्छिन् । यसपटक पनि बच्चीको मायाले उनलाई तान्छ । आत्महत्या गर्ने योजना त्याग्छिन् उनी ।अब उनले मरेर होइन बाँचेर यो समाजलाई देखाउँछु भन्ने मनमनै प्रतिज्ञा गर्छिन् । यनले मनमै भन्छिन्, ‘म मरें भने समाजले जित्ने छ । तर मैले जित्नुपर्छ । त्यसैले म मर्दिँनँ । आफ्नो अधिकारको लागि लड्छु ।’ उनी मध्यरातमा बच्चीलाई लिएर फेरि घर फर्किन्छिन् ।उनीबिहानै उठेर बच्चीलाई बोकेर आफ्नो घरबाट निस्केर जोखनको घर जान्छिन् । बच्चीलाई जोखनको आँगनमा राख्दै विद्रोहको स्वरमा जोखनकी आमातिर हेर्दै भन्छिन््, आमाले नै बच्चा हुर्काउनु पर्ने, जीवन दिनुपर्ने ? बाको कुनै जिम्मेवारी नै नभएजस्तो । जसको वीर्य हो, उसको बच्चा हो । नौ महिना आफ्नो रगत दिएर बच्चालाई मैले जीवन दिएँ । तर वीर्य जोखनको हो । यो जोखनकी छोरी हो । यसको जिम्मा मैले होइन, जोखनले लिनुपर्छ ।यति भनेर बच्चीलाई जोखनको आँगनमा छोडेर परी मुटुमाथि ढुङ्गा राखेर आँगनबाट निस्किन्छिन् । जोखनकी आमा बच्चीतिर हेर्छिन् । बच्ची हाँसिरहेकी हुन्छिन् । जोखनकी आमाले डराउँँदै छिमेकीहरुलाई डाक्न थाल्छिन् । मान्छेहरु जम्मा भएपछि जोखनकी आमाले भन्छिन्, पागल्नी केटीले के गर्न खोजेकी आफ्नी छोरीलाई मेरो आँगनमा छोडेर ?परी जोखनको आँगनमा बच्चा राखेर ढुक्क हुन्छिन् । आफ्नो घर आएर लामो सास तान्छिन् । उनलाई आज कता कता आकाश नै छोएको जस्तो अनुभूति हुन्छ । उनको लागि यो कठोर निर्णय हो । आमा बच्चाबाट छुटेर बस्नुको पिडा परीलाई थाहा छ तर कुनै कुनै निर्णयमा कठोर नै बन्नुपर्छ भनेर उनी यो निर्णयमा कठोर बन्छिन्जोखनको घरमा जम्मा भएका छिमेकीहरु कसैले बच्चालाई छुँदैनन् । यो बच्चा जोखनकै हुनुपर्छ भनेर उनीहरु अनुमान लगाउँछन् । मान्छेको भिड देखेर बच्ची अत्तालिएर रुन थाल्छिन् । बच्चीको रुवाई परीको घरसम्म सुनिन्छ ।परी जति कठोर बन्न खोजे पनि बच्ची रोएको सुनेर परी आफूलाई नियन्त्रण गर्न सक्दिनन् । उनी आफ्नो घरबाट दौडिँदै आउँछिन् । बच्चीलाई काखमा बोकेर रमिता हेर्न बसेकाहरुको वास्ता नगरीकन त्यहाँबाट निस्किन्छिन् ।बेलुकी जोखनकी आमा खेतको काम गर्न निस्किसकेपछि उनी लुकेर सुटुक्क जोखन सुत्ने कोठा छिर्छिन् । त्यहाँबाट जोखनको टोपी लिएर आफ्नो घर आउँछिन् । उनी आफ्नी आमाको बाकसबाट पैसा झिक्छिन् । पैसा, जोखनको टोपी र बच्चीलाई बोकेर अस्पताल जान्छिन् । बच्चीको र जोखनको डि.एन.ए. जाँच गराउन उनी अस्पताल पुग्छिन् । टोपीमा लागेको कपाल डाक्टरले लिन्छन् । एक हप्तापछि रिपोर्ट लिन डाक्टरले बोलाउँछन् ।उनी एक हप्तापछि अस्पताल गएपछि बच्चीको र जोखनको डि.एन.ए. मिलेको थाहा पाउँछिन् । उनी अस्पतालबाट आएर दिउँसो बच्ची र रिपोर्ट बोकेर पन्चको घर जान्छिन् ।पन्चलाई रिपोर्ट देखाउँदै समस्या समाधान गरिदिन अनुरोध गर्छिन् । भोलिपल्ट पन्चले गाउँभरिका मान्छेलाई पन्चायतमा बोलाउँछन् । दुई दिनभित्र जोखनलाई बोलाएर ल्याउन पञ्चले जोखनका बाआमालाई निर्देशन दिन्छन् । नबोलाए कानुनी रुपमा कडा कारबाही गर्ने चेतावनी दिन्छन् । पन्चको कुरा सुनेर मामाघरमा बसेको जोखनलाई दुई दिनमा घर आइपुग्न बाआमाले खबर पठाउँछन् ।जोखन आएपछि जोखन र बच्चाको डि. एन.ए. परीक्षण गराउन पन्चले फेरि निर्देशन दिन्छन् । जोखन र बच्चीलाई अस्पताल लगेर डि.एन.ए. परीक्षण गराउँछन् । जोखन र बच्चीको डि.एन.ए. रिपोर्ट एक हप्तापछि आउँछ । रिपोर्ट आएपछि फेरि सबै गाउँले बैठक बस्छन् ।बच्चीको र जोखनको डि.एन.ए. रिपोर्ट सुनाउन डाक्टरलाई पनि बोलाउछन् । बच्चा र जोखनको डि.एन.ए. मिलेको डाक्टरले बताउँछन् । बच्चा जोखनको भएकोले पन्चैती बसेका सबै गाउँलेहरु जोखनलाई परीसँग बिहे गर्न आदेश दिन्छन् ।आफ्नो पोल खुलिसकेपछि पञ्चायतको अगाडि जोखन परीसँग माफी माग्दै भन्छन्, ‘बदनामको डरले तँलाई स्वीकार्न सकेको थिइनँ परी । मलाई माफ गरी दे ।’ जोखनले माफी मागेको देखेर परीको गला अबरुद्ध हुन्छ । आँखामा आँसु टिलपिलाउँछ । तर केही बोल्न सक्दिनन् ।चुप लागेर आफ्नो काखमा भएको बच्ची जोखनको काखमा राखिदिन्छिन् । जोखन बच्चीलाई बोक्दै बच्चीको गाला, ओठ र हातमा चुम्छन् ।एक महिनापछि,गाउँलेहरुले राम्रो साइत हेरेर परी र जोखनको विवाह धुमधामसँग गराइदिन्छन् ।
प्रकाशित मिति: शनिबार, असोज १७, २०७७ १३:००