शिब बोहोराबागलुङ । इमेल, इन्टरनेट, रेडियो, टेलिभिजन र पत्रपत्रिका जस्ता आम सञ्चार माध्यमको आधुनिक युगमा पनि कोरोना फैलिन नदिन म्याग्दीमा कटुवालबाट सन्देश प्रवाह गरिँदै आएको छ । आम सञ्चार माध्यमकको सहज पहुँच नभएका जिल्लाका दुर्गम र विकट बस्तिहरुमा कटुवाल परिचालन गरेर कोरोना सम्बन्धी सन्देश प्रवाह गरिएको हो ।कोभिड–१९ (कोरोना) भाइरसको रोकथामका लागि म्याग्दीका गाउँबस्तिमा कटुवाल र माइकीङ गरेर सन्देश प्रवाह गराइएको छ । कटुवालहरुले अतिआवश्यक काम बाहेक सहर बजारमा नजान, भेला नगर्न, साबुन पानीले हात धुन, सहरबाट आएकालाई अलग्गै बस्न, ज्वरो, रुघाखोकी लागेमा स्वास्थ्य संस्थामा जान अनुरोध गरिरहेका छन् ।कोरोनाको बारेमा जानकारी गराउन कटुवाल हर्कजित विश्वकर्मालाई घोक हाल्न (सबैले सुन्ने गरी चिच्चाउन) लगाएको धवलागिरी गाउँपालिका–७ धारापानीका किरण थापाले बताउनुभयो । बिरामी भएर पोखरा लगिएका धारापानीका ८६ वर्षीय वृद्धलाई बिहीबार कोरोना पुष्टि भएको थियो ।‘सञ्चार माध्यमको गाउँका सबैको घरमा पहुँच नभएकाले ज्याला बापत सिजन अनुसारका खाद्यान्न दिने गरी उहाँलाई कटुवाल नियुक्त गरिएको छ’, थापाले भन्नुभयो ‘गाउँमा भेला, बैठक, खोप, वन, विद्यालय, विकास निर्माणको सूचना प्रवाह गराउने आधिकारिक व्यक्ति कटुवाल हुन् ।’ कटुवाललाई सहज होस भनेर अन्नपूर्ण गाउँपालिकाको वडा न. ६ को कार्यालयले एक थान ह्याड माइक उपलब्ध गराएको छ । वडाका जनप्रतिनिधिको निर्देशन अनुसार सबै बस्तिमा पुगेर सूचना पुर्याउने गरेको कटुवाल पूर्ण परियारले बताउनुभयो । घारका शिक्षक ठगराज बरुवालले कटुवालले प्रवाह गरेको सूचनालाई सबैले आधिकारिक मानेर विश्वास गर्ने बताउनुभयो ।म्याग्दीका सबैजसो बस्तिमा कटुवाल राखिएको छ । गाउँमा श्रमदान, युवा, आमा, वन समूहको भेला, बैठक, खोप लगायत विभिन्न कार्यक्रम हुँदा यसैबाट सूचना प्रवाह गरिन्छ । गत चैतमा भएको बन्दाबन्दीको घोषणा देखिनै कटुवाल लगाएर वडा, गाउँपालिका, जिल्ला स्तरमा भएका निर्णयहरु सार्वजनिक गरिँदै आएको अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले बताउनुभयो ।कतिपय ठाउँमा माइकीङ गरेर पनि सूचना प्रवाह गराएका छन् । सडक पुगेको बस्तिमा गाडीमा माइक राखेर कोरोना रोकथामका लागि गाउपालिकाले तयार पारेको जिंगल (अडियो सन्देश) बजाएका छन । भित्रि बस्ती र सडक नपुगेका ठाउँमा कटुवाललाई परिचालन गरिएको छ ।कटुवाल काम गर्ने अधिकांश दलित समुदायका छन् । कटुवाल काम गरेवापत सामुदायिक वन लगायत आन्तरिक स्रोतबाट तलबका साथै सिजन अनुसार बालीघरे प्रथा अनुसार गाउँलेबाट धान, गहुुँ कोदो, मकै ज्याला पाउँछन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७ १४:२२